२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुर्गम मानेचौरको शिविरमा ३०४ जनाको स्वास्थ्य परीक्षण

दुर्गम मानेचौरको शिविरमा ३०४ जनाको स्वास्थ्य परीक्षण


जुम्ला—तिला गाउँपालिका–९ मानेचौरस्थित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ३०४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तत्कालीन घोडेमहादेव र मालिकाठाटा गाविसका ६, ७, ८ र ९ वडा जुम्लाकै दुर्गम क्षेत्र हुन् ।

जुन क्षेत्र अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन । त्यो ठाउँमा हरेक सेवासुविधाको असुविधा रहेको छ । जसका कारण पटक—पटक गरिने शिविरमार्फत त्यहाँका नागरिकले सेवा लिने गरेका छन् ।

तिला गाउँपालिका जुम्लाले दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्नका लागि ‘जनतासँग उपाध्यक्ष कार्यक्रम’अन्तर्गत दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

दुर्गम भेगका महिलालाई स्त्रीरोग सम्बन्धि सेवा दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् । उनका अनुसार जेठ ४ र ५ गते दुई दिन शिविर सञ्चालन गरिएको हो ।

तिला गाउँपालिका स्वास्थ्य शाखा खोप फोकल पर्सन उत्तम देवकोटाका अनुसार शिविरबाट स्त्रीरोग सम्बन्धि सेवा उपलब्ध गराउने उद्देश्य भएपनि हाडजोर्नी तथा नशा सम्बन्धि सेवासहित अन्य सेवा पनि प्रदान गरिएको छ ।

‘दुई दिने शिविरमा ३०४ जनाको स्वास्थ्य परिक्षण गरिएको थियोे छ । ९ जना महिलाको पाठेघरमा रिङ राखिएको छ,’ उनले भने, ‘त्यस्तै तीन जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको छ ।’ शिविरबाट २१ जनाले हाडजोर्नी तथा नसा सम्बन्धि सेवा र ११५ जनाले अन्य सेवा लिएका छन् ।

स्त्रीरोग सम्बन्धि सेवा लिन आएका १६८ जना महिलामध्ये ९० जनाको पाठेघरको भीआईएसमेत परीक्षण गरिएको खोप फोकल पर्सन देवकोटाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ