२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजनशक्ति व्यवस्थापन नहुँदा तीन वर्षदेखि करोडौंका भेन्टिलेटर र आईसीयु प्रयोगबिहीन

जनशक्ति व्यवस्थापन नहुँदा तीन वर्षदेखि करोडौंका भेन्टिलेटर र आईसीयु प्रयोगबिहीन


वीरेन्द्रनगर—जनशक्ति व्यवस्थापन हुन नसक्दा सरुवा रोग अस्पताल कालीकोटमा एक करोडभन्दा बढी खर्चेर किनेका आईसीयु र भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएका छन् । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन आएको छैन ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आईसीयु र भेन्टिलेटर सञ्चालनका लागि कुनै चासो नदेखाएपछि मेसिन बिग्रने अवस्था आएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । ‘कर्णाली प्रदेश सरकारले २०७६/७७ मा एक करोड ५८ लाख बजेटबाट ४ शैय्या भेन्टिलेटर र १० शैय्याको आईसीयू सञ्चालन गर्नको लागि मेसिन तथा बेड खरिद गरेको थियो,’ उनले भने, ‘कोभिडको समयमा समेत प्रयोगमा नआएको आईसीयू सेवा अहिले भने झन बन्द जस्तै छ ।’

आइसीयू तथा भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ डाक्टरसहितको दक्ष टिम चाहिने भएकाले बन्द भएको महतले जानकारी दिए । ‘दक्ष जनशक्ति भए आईसीयू सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले थपे, ‘अहिलेसम्म आईसीयू सञ्चालनमा ल्याउन सकिएको छैन्, कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्नु ? खरिद गरेका उपकरण प्रयोगमा आउन नसकी थन्किएका छन् ।’

कोभिड—१९ विशेष अस्पतालका रूपमा वि.सं. २०७६ सालमा स्थापना भएको अस्पताललाई वि.सं. २०७८ सालमा कर्णालीकै पहिलो सरुवा रोग अस्पतालका रूपमा स्थापना गरी १५ शैय्याको अस्पतालबाट एक वर्ष सेवा दिइएको थियो । स्वास्थ्य सेवा कार्यालय कालीकोटको स्वामित्वमा कर्णाली सरकारले सरुवा रोग अस्पतालका रूपमा स्थापना गरेको थियो ।

सरुवा रोग अस्पताल सञ्चालनका लागि वि.सं. २०८०/८१ मा प्रदेश सरकारले बजेट नपठाउँदा अहिले बन्द अवस्थामा छ । करिब तीन करोडका सामग्री भएको सरुवा रोग अस्पतालबाट अहिले कुनै पनि सेवा सुचारु छैनन् ।

अस्पतालमा आईसीयु तथा भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउन नसक्दा गम्भीर खालका बिरामीलाई नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको डा. संकेत विश्वकर्माले बताए ।

अस्पताल व्यवस्थापनका लागि दक्ष जनशक्ति तथा थप दरबन्दीलगायतमा सरकारले ध्यान नदिँदा थप समस्या आएको र पछि सरुवा रोग अस्पतालको सामग्री जिल्ला अस्पतालमा लिएर प्रयोग गर्नुपर्ने जिल्ला अस्पताल कालीकोटले जनाएको छ ।

प्रदेश सरकारले बजेट पठाएपनि पानी, बत्तीलगायतको जनशक्तिको व्यवस्थापन गर्न पनि समस्या हुने बताइएको छ ।

कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरुवा रोग अस्पतालको उद्घाटन गरेका थिए । सरुवा रोग अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ । वरिष्ठ कन्सल्ट्यान्ट जनरल फिजिसियन एकजना, मेडिकल अधिकृत एक जना, फार्मेसी सहायक एक जनालगायत गरी २१ जनाको दरबन्दी छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ