२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५० लाख उठाएर न्याम्सले २ वर्षदेखि किन गर्न सकेन दीक्षान्त ?

५० लाख उठाएर न्याम्सले २ वर्षदेखि किन गर्न सकेन दीक्षान्त ?


काठमाडौं—डा. दुर्गाराज महर्जनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट सन् २०१६ मा एमडी उत्तीर्ण गरे । त्यसलगतै उनी बाजुरा जिल्ला अस्पतालमा काम गर्न गए । यही बीचमा न्याम्सले दीक्षान्तका लागि सूचना प्रकाशित ग¥यो । डा. दुर्गाराज दीक्षान्तको फर्म भर्नका लागि २ दिनको ३६ घण्टा लामो बसयात्रा गर्दै काठमाडौं आए । १० हजार तिरेर फर्म भरेर दीक्षान्त हुने दिन कुर्दै बसे । तर, झण्डै २ वर्षसम्म पनि उनको दीक्षान्तको ह्याट लगाउने सपना पूरा हुने दिन आएको छैन ।

‘दीक्षान्त नहुँदा धेरै नराम्रो भयो । अहिलेसम्म खै के भएछ, पैसा तिरेर फर्म भरिसक्दा पनि दीक्षान्त रोकिएको छ,’ उनले हेल्थआवाजसँग भने, ‘दीक्षान्त नहुँदा धेरै कुरामा समस्या हुँदोरहेछ ।’

डा. दुर्गाराज त एक प्रतिनिधी पात्र मात्र हुन् । उनीजस्तै न्याम्सका झण्डै ५ सय विद्यार्थी पैसा तिरेर पनि दीक्षित हुनबाट बन्चित छन् । प्रतिष्ठानले ०७४ को पुसमा दीक्षान्तका लागि आवेदन माग्दैं झण्डै ५ सय विद्यार्थीबाट ५० लाख रुपैयाँ उठाएको थियो ।

दीक्षान्तका लागि न्याम्सले ०७४ पुसमा सूचना प्रकाशित गरेर ०७४ माघ २९ गतेसम्म दीक्षान्तका लागि फारम भर्न अन्तिम मिति तोकेको थियो । सूचनामा डिएम, एमसीएच, एमडी, एमएस, एमडीएस र ब्याचलर अफ नर्सिङ (पीबीबीएन/बीएनएस) विषयमा २०१४ को नोभेम्बरदेखि २०१७ को अक्टोबरसम्म उतीर्ण विद्यार्थीहरुका लागि दीक्षान्त समारोह आयोजना गरिएकाले आवेदन भर्न भनिएको थियो ।

दीक्षान्तका लागि प्रति विद्यार्थीहरु १० हजार रुपैयाँ उठाइएको थियो (हेर्नोस बिल) ।

तर, न्याम्सले ०७४ मा गर्नुपर्ने दीक्षान्त अहिलेसम्म गरेको छैन । आखिर न्याम्सले विद्यार्थीबाट यति धेरै शुल्क उठाएर अहिलेसम्म किन दीक्षान्त गरेन त ? यसमा तत्कालीन पदाधिकारीहरुले फरक—फरक धारणा छ । यो प्रश्न न्याम्सका पूर्व उपकुलपति प्रा.डा. गणेश गुरुङलाई सोधिएको थियो । जसको उत्तरमा प्रा.डा गुरुङले भने, ‘सुरुमा थोरै विद्यार्थी भए, थोरै विद्यार्थीमा दीक्षान्त गराउँदा खर्च बढी लाग्ने भएर रोकियो । पछि विद्यार्थी बढी हुँदै गर्दा एकेडेमिक काउन्सिलका सदस्यहरुको पदावधि सकिदैं गयो ।’

यस विषयमा न्याम्सका तत्कालीन डिन प्रा.डा. याहुन (वाइसी) शिवोकाटीले फरक धारणा राख्दैं समय अभावका कारण दीक्षान्त हुन नसकेको बताए । वर्तमान डिन प्रा.डा. पियुष दाहाल आगामी कात्तिकसम्ममा दीक्षान्त सम्पन्न गर्ने दाबी गर्छन् । ‘नयाँ पासआउटलाई पनि समेटेर कात्तिकसम्ममा दीक्षान्त सम्पन्न गर्ने योजना बनाएका छौं,’ उनी भन्छन् ।

न्याम्सले दीक्षान्तका लागि जारी गरेको सूचना 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ