२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपीसीआर परीक्षण : सरकार तोक्छ २ हजार, निजी ल्याब लिन्छन् ४ हजार

पीसीआर परीक्षण : सरकार तोक्छ २ हजार, निजी ल्याब लिन्छन् ४ हजार

सरकार भन्छ-२ हजारमा नगरे कारवाही गर्छाैं, निजी ल्याव भन्छन्-सक्दैनौं


काठमाडौं–सरकारले तोकेको २ हजार शुल्कमा निजी प्रयोगशालाहरुले कोभिड—१९ पीसीआर परीक्षण गर्न नसकिने भन्दैं अटेर गरेका छन् । सरकारले तोकेको शुल्क अवैज्ञानिक र अव्यवहारिक भन्दैं धेरै निजी प्रयोगशालाहरुले अहिले पनि पूरानै शुल्कमा पीसीआर परीक्षण गरिरहेका छन् ।

तर, सरकारी अधिकारीहरु भने अन्तर्राष्ट्रिय बजारमा पीसीआरमा प्रयोग हुने किटको मूल्य घटेको हुँदा कम मूल्य तोकिएको दावी गर्दै आएका छन् । सरकारले ५ हजार ५ सयबाट ४ हजार ४ सय हुँदै २ हजारमा कोरोनाको पीसीआर परीक्षण गर्न निजी ल्यावलाई यसअघि नै निर्देशन दिएको थियो । तर, निजी प्रयोगशालाहरुले उक्त शुल्कमा पीसीआर परीक्षण गर्न नसकिने भन्दैं सरकारी आदेशको अवज्ञा गर्दै आएका छन् ।

काठमाडौं उपत्यका र उपत्यकाबाहिरका निजी ल्याबहरुले ४ हजार ४ सयमा नै पीसीआर परीक्षण गरिरहेका छन् । काभ्रेको धुलिखेल अस्पतालले ४ हजार ४ सय रुपैयाँ लिएरै धमाधम पीसीआर परीक्षण गरिरहेको अस्पतालका ल्याब इन्चार्ज सुरेन्द्र मधुप बताउँछन् । ‘सरकारले के सोेचेर २ हजारमा पीसीआर परीक्षण गर्नु भनेको हो हामीले बुझेका छैनौं,’ उनी भन्छन्, ‘२ हजार डब्लूएचओले प्रमाणित गरेको किट पनि किन्न पुग्दैन । त्यसैले यदि सरकारले २ हजारमै पीसीआर परीक्षण गर्नुपर्छ भन्छ भने हामीले ल्याब बन्द गर्नुपर्ने अवस्था आउँछ ।’

सरकारले भनेजस्तो २ हजारमा पीसीआर परीक्षण गर्न गाह्रो हुने सानेपास्थित स्टार अस्पतालका कार्यकारी निर्देशक सन्देश जिसी बताउँछन् । ‘हामीले पीसीआर परीक्षणमा प्रयोग गर्ने किटको मुल्य नै १ हजार २ सय ५० रुपैयाँ पर्छ,’ उनी भन्छन्, ‘यो बाहेक पीपीई, जनशक्ति खर्चलगायतका सबै कुरालाई यसले धान्दैन् । त्यसैले सरकारले भनेजस्तो २ हजारभित्र पीसीआर जाँच गर्न सम्भव छैन । बरु, सरकारले २ हजारभित्र कसरी पीसीआर परीक्षण गर्न सकिन्छ भनेर आइडिया पनि दिए हुन्थ्यो ।’

स्वास्थ्य तथा जनसंख्याका मन्त्रालय गुणस्तर मापन महाशाखाका प्रमुख डा. विकास देवकोटाले शुल्क बढी लिएको विषयमा अहिलेसम्म जानकारी नआएको बताए । ‘सरकारले बनाएको नियम सबैले कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘सरकार कार्यान्वयन गराउन लागि पर्छ ।’ पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा नै कोभिड–१९ को पीसीआर परीक्षण गर्ने केमिकलहरुको मूल्य घटेको सन्दर्भमा मन्त्रालयले भदौं २८ गते परीक्षण मूल्य घटाइएको उनको भनाइ छ । ‘हचुवामा गरेको निर्णय होइन । स्वास्थ्य सेवा विभागले खरिद गरेको सामानका आधारमा मूल्य तोकिएको हो,’ उनले भने ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम सरकारले तोकेको शुल्कभन्दा बढी लिएर परीक्षण गरेमा त्यस्ता ल्याव र सन्चालकलाई कालोबजारी ऐनअनुसार कारवाही हुने बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयले मूल्य तोकेको छ,’ उनले भने, ‘वाणिज्य विभागसँग मिलेर अनुगमन गरी बढी मूल्य लिनेलाई कालोबजारी ऐन अनुसार कारवाही हुन्छ ।’

निजी ल्याबमा पूरानै शुल्कमा परीक्षण

नेपालभर ४९ वटा ल्याव नेपाल जनस्वास्थ्य प्रयोगशालामा सूचीकृत छन् । जसमध्ये ३५ वटा सरकारी प्रयोगशाला छन् भने १४ वटा निजी प्रयोगशाला छन् ।

जसमध्ये धुलिखेल अस्पताल, सुरिया हेल्थ केयर, स्टार अस्पताल, बिएण्डबी अस्पताल, मेडिसिटी अस्पताल, चितवन मेडिकल कलेज, इन्टरपीड डाग्नोस्टिक सेन्टर, डिकोड ल्याव, नेशनल पाथ ल्याबलगायतका निजी ल्यावले ४ हजारमै पीसीआर परीक्षण गरिरहेका छन् ।

यस्तै धुम्बाराहीस्थित ह्याम्स अस्पतालले भने ४ हजार ४ सयबाट ३ हजार ९ सयमा घटाएर परीक्षण गरिरहेको छ ।

जसले २ हजारमै पीसीआर परीक्षण गरिरहेका छन

धेरै निजी ल्यावले विरोध जनाएपनि केही ल्यावले भने सरकारले तोकेकै शुल्कमा पीसीआर परीक्षण गराइरहेका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा सरकारले तोकेको शुल्कभन्दा १ सय रुपैयाँ कममा कोरोना परीक्षण हुन्छ । अस्पतालले १ हजार ९ सयमा पीसीआर परीक्षण गराइरहेको जनाएको छ । यस्तै, विध ल्याब र ललितपुरकै आनन्द भवन अस्पताल, भरतपुरस्थित चितवन मेडिकल कलेजले पनि २ हजारमा पीसीआर परीक्षण गरिरहेको छ ।

२ हजारमा पीसीआर परीक्षण गर्दा घाटा हुने आनन्द भवन अस्पतालका ल्याव प्रमुख कपिल न्यौपाने बताउँछन् । ‘हामीले सरकारको निर्देशन बमोजिम नै शुल्क लिएर पीसीआर परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘अहिले २ हजारमा पीसीआर परीक्षण गरिरहेका छौं । यदि सरकारले योभन्दा कममा गर भन्छ भने त्यसमा पनि तयार छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ