२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलमजुङ अस्पतालमा विस्तारित सेवा प्रभावकारी, बी ग्रेडको एम्बुलेन्स खरिद गर्ने तयारी

लमजुङ अस्पतालमा विस्तारित सेवा प्रभावकारी, बी ग्रेडको एम्बुलेन्स खरिद गर्ने तयारी

मेसु डा. तिवारी भन्छन्, ‘सुपरस्पेसियालिटी सेवामा ध्यान दिन सकेका छैनौं’


पोखरा—जिल्ला अस्पताल लमजुङले थालेको विस्तारित सेवा प्रभावकारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्डन्ट डा. विशाल तिवारी बताउँछन् । अस्पतालले १ फागुनदेखि विस्तारित सेवा सुरु गरेको हो ।

त्यसअघि परीक्षणका रुपमा १ हप्ता विस्तारित सेवा दिइएको थियो । मेसु तिवारीका अनुसार विस्तारित सेवामा बिहान ८ देखि १० बजेसम्ममा मात्रै दैनिक औसतमा ४५ देखि ५० जना बिरामी आउने गरेका छन् । यसबाट बिरामीले ओपीडी जाँचदेखि प्रयोगशाला जाँच र रिपोर्ट देखाउने काम एकै दिनमा सक्छन् ।

त्यस्तै, रिफर गर्नुपर्ने बिरामी भए रिफर चाँडै हुनेसमेत उनी बताउँछन् । विस्तारित सेवामा मेडिकल अधिकृतले सेवा दिइरहेका छन् भने अन कल विशेषज्ञ सेवा प्रदान भइरहेको छ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विस्तारित सेवा दिने लमजुङ प्रदेशमा दोस्रो अस्पताल बनेको छ । यसअघि बेनी अस्पतालले बिहान ८ बजेदेखि ६ बजेसम्म विस्तारित सेवाको थालनी गरेको थियो ।

अस्पतालले सार्वजनिक सेवाका दिनमा भने १० बजेदेखि १ बजेसम्ममात्रै सेवा दिँदै आएको छ । प्रयोगशाला सेवा २४ सै घण्टा रहेको मेसु डा. तिवारीले बताए । उनका अनुसार सामान्य जाँचलगायत कल्चर र थाइराइड सेवा पनि अस्पताल प्रयोगशालामा पाइन्छ ।

अस्पतालमा सर्जन नहुँदा सर्जरी गर्नुपर्ने बिरामी रिफर गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि रिफर नै गर्ने गरिएको छ । ओपीडी टिकट शुल्क २० रुपैयाँ तोकिएको छ भने अस्पतालमा स्वास्थ्य बीमाको सुविधा पनि लिन सकिन्छ ।

अस्पतालले बेंसीसहर नगरपालिकाको एम्बुलेन्स र जिल्ला रेडक्रसको एम्बुलेन्सको एम्बुलेन्सबाट सेवा दिँदै आएको छ । यी एम्बुलेन्समा जीपीएस जडान छैन भने सी ग्रेडका रहेका छन् । अस्पतालले हालै प्रदेश सरकारको सहयोगमा बी ग्रेडको एम्बुलेन्स खरिदका लागि सूचना प्रकाशन गरेको छ ।

अस्पतालमा आउने बिरामी इमर्जेन्सी सेवाका लागि आउने गरेको मेसु डा. बताउँछन् । पहिले नै अन्य स्वास्थ्य संस्थाले रिफर गरेका बिरामी पनि ढिला आउँदा समस्या देखिने गरेको उनी बताउँछन् । विशेषगरी गर्भवती महिला पाठेघरको मुख खुलिसकेको अवस्थामा आउने र त्यसअघि कहिल्यै जाँच नगरेको हुँदा जटिलता देखिने अनुभव उनले सुनाए ।

अस्पतालले सिटीस्क्यान, एमआरआईलगायत सुपरस्पेसियालिटी सेवा सञ्चालन गर्नेतर्फ सोच्ने अवस्था नै नभएको मेसु डा. तिवारी बताउँछन् । ‘पहिले आधारभूत सेवा दिनेतर्फ हाम्रो ध्यान केन्द्रीत छ । आधारभूत सेवापछि हामी थप सेवा विस्तारबारे योजना बनाउँला,’ उनी भन्छन्, ‘जनचेतना विस्तारको काम महत्वपूर्ण भएको छ । जनचेतनाको पाटो अत्यन्त कमजोर छ ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ