२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा पहिलो पटक आन्द्रामा प्वाल परेको सफल शल्यक्रिया

मुगुमा पहिलो पटक आन्द्रामा प्वाल परेको सफल शल्यक्रिया


जुम्ला—मुगुका स्थानीय सामान्य शल्यक्रिया गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने बाध्यताबाट मुगुवासी मुक्त भएका छन् ।

मुगु जिल्ला अस्पतालमा विगत लामो समयदेखि विशषेज्ञ चिकित्सक नहुँदा मुगुवासीलाई समस्या हुने गरेको थियो । तर, प्रतिष्ठानले मुगु जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा सुचारु गरेपछि बाहिर जिल्ला जानुपर्ने बाध्यताबाट मुक्ति पाएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ सेवाका लागि मुगु जिल्ला अस्पतालमा एमडिजिपी डा. सिद्धार्थ धोज खातीलाई पठाएपछि जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवा जिल्लामा उपलब्ध भएको हो । अब जिल्ला अस्पतालमा फेस्टुला, हाइड्रोसिल, हर्नियाँ, एपेन्डिसाइटिस, सिएसजस्ता शल्यक्रिया सेवा पनि उपलब्ध हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले बताए ।

जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा यी सेवा लिन महंगो खर्चमा जुम्ला, सुर्खेत, नेपालजंग, काठमाडौंमा भारतको लखनऊमा मुगालीहरु जाने गर्दै आएका थिए ।

जिल्ला अस्पताल मुगुको पहलमा कर्णाली प्रदेश सरकारको समन्वय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलब्धतामा मुगु अस्पतालमा आएका एमडिजिपी डाक्टरले आन्द्रामा प्वाल परेका विरामीको सफल शल्यक्रिया गरेका हुन् । लामो समयदेखि पेट दुख्ने पीडाबाट ग्रसित छायाँनाथ रारा नगरपालिका– ५ ढुम गाँउका ४५ वर्षीय स्थानीय सुरेन्द्रबहादुर बुढाको आन्द्रमा परेको प्वालको डाक्टर खाती सफल शल्यक्रिया गरेको डा. सुशील मल्लले जानकारी गराए ।

चेकजाँचपछि आन्द्रामा प्वाल परेको र शल्यक्रिया गर्ने बताएपछि बिरामी तथा उनका आफन्तहरुले जिल्ला बाहिर रिफर गर्न दवाव लिएका थिए । उनीहरुले मुगुमै शल्यक्रिया हुन्छ भन्नेमा विश्वास गरेका थिएनन् ।

‘विशेषज्ञ डाक्टर आएपछि हामीले मुख्य गरेर फेस्टुलालगायत अन्य जटिल अपे्रसनका सेवा जिल्लामै दिन सक्ने भएका छौ । अन्य सेवाका लागि पनि विशेषज्ञ चिकित्सनहरु जिल्लामा पठाई दिन प्रदेश सरकारसँग माग गर्दै आएका छौं,’ कार्यालय प्रमुख नगरकोटीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक चिकित्सक मंगल रावलकाअनुसार प्रतिष्ठान नेपालको अन्तरिम संविधान—२०६३ को धारा ८३ बमोजिमको व्यवस्थापिका संसद्को हैसियतमा संविधानसभाले एउटा छुट्टै ऐन—२०६८ कार्तिक ३ गतेका दिन पारित गरी विधिवत रुपमा स्थापना भएको संस्था हो ।

यस संस्थाले पिछडिएका जिल्लाहरु हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बझाङ, बाजुरा र अछाम जस्ता जिल्लाहरुमा सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ