२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाइएको तालावन्दी एक सातासम्म खुलेन, प्रतिष्ठानका पदाधिकारी मौन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाइएको तालावन्दी एक सातासम्म खुलेन, प्रतिष्ठानका पदाधिकारी मौन


जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन नियुक्ति लगायत विभिन्न अनियमितताका विरुद्धमा प्रतिष्ठानमा तालाबन्दी गरिएको एक साता बितिसक्दा पनि पदाधिकारी मौन देखिएका छन् । २८ असोजमा प्रतिष्ठानका कर्मचारीले केन्द्रीय प्रशासन र शैक्षिक प्रशासनमा अनिश्चितकालका लागि ताला लगाएका थिए ।

ताला लगाएको एक हप्ता बित्तिसक्दा पनि प्रतिष्ठानका पदाधिकारीहरुबाट कुनै धारणा आएको छैन् । प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीन नियुक्ति अनियमित तवरले गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

आन्दोलित कर्मचारीहरुले तत्काल डीन नियुक्तीको निर्णय फिर्ता लिनु पर्ने, प्रतिष्ठानलाई ठुलो आर्थिक व्ययभारबाट बचाउन पदाधिकारी जिम्मेवार हुनुपर्ने, एकल निर्णयबाट प्रतिष्ठानमा हुने नियुक्ती र बढुवालाई तत्काल रोक्न माग गरेका छन् ।

प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले भने, ‘तालाबन्दी भएको हप्ता दिन बितिसक्दा पनि पदाधिकारीबाट समस्या समधान भन्दा प्रतिष्ठानलाई झन् धरासयी बनाउने खोजिएको प्रति हाम्रो चिन्ता छ ।’

त्यसैले माग पुरा नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने उनको भनाई छ । नियमित तालाबन्दी र आन्दोलनले सेवाग्राहीमा पर्न जाने असुविधाको पुर्ण जिम्मेवार पदाधिकारी नै हुने समेत मंगलबार जारी एक अपिल पत्रमा उल्लेख गरिएको छ । कर्मचारी समाजले उठाएका मागहरु सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमहरु महिनौ दिनसम्म पनि यथावत रहने भनिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको अनियमितताको विरुद्धमा कर्मचारीले आन्दोलन, तालाबन्दी गरिसकेपछि नैतिकताका आधारमा पनि पदाधिकारीले सबै कुरा स्पष्ट राख्नुपर्ने होे । तर, सबै गुपचुप हुनुमा ठुलो रहस्य लुकेको हुन सक्ने कर्मचारीहरुको आँकलन छ ।

काठमाडौमा रहेका उपकुलपति वाग्लेले पनि यसबारे हालसम्म कुनै आधिकारित धारणा दिएका छैनन् । यता कर्मचारीहरुले आन्दोलनलाई थप सशक्त बनाएर अघि बढ्ने चेतावनी दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति वाग्ले भने नियमानुसार नै डीन नियूक्ति भएको दाबी गर्दै आएका छन् । आवश्यकताकै आधारमा डीन नियूक्त गरिएको उनले प्रतिक्रिया दिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ