काठमाडौं– बेलायतबाट आएका २ नेपालीमा कोभिड–१९ (कोरोना)को संक्रमण पुष्टि भएपछि कोरोनाको नयाँ प्रजाति (भेरियन्ट) नेपाल भित्रिएको आशंका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ प्रजातिको आशंका गरी जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ ।
३ पौषमा बेलायतबाट नेपाल आएका उनीहरुमा गत बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । यतिबेला बेलायतमा कोभिड–१९ को नयाँ प्रजाती (भेरियन्ट) देखा परेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आउने नागरिकलाई उच्च निगरानीमा राखेको छ । बेलायतले यसअघि नै पुष १ गतेदेखि ७ गतेसम्म बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो ।
नेपाल आएसँगै उच्च ज्वरो आएपछि उनीहरु स्वाब परीक्षणका लागि सिनामंगलस्थित डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरमा गएका थिए । उक्त प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको सेन्टरका कार्यकारी निर्देशक सुनिल लेखकले जानकारी दिए ।
‘उहाँहरु हामी कहाँ स्वाब परीक्षणका लागि आउनुभएको थियो । उहाँहरुमा कोरोना पोजेटिभ देखिएपछि बेलायतबाट आएको हुनाले हामीले स्वास्थ्य मन्त्रालयलाई जानकारी गरायौं,’ उनले भने, ‘मन्त्रालयलाई जानकारी गराएलगत्तै बिहिबार नै हामीले नयाँ भेरियन्ट भाइरस हो कि होइन भनेर जीन सिक्वेन्सिङका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौं ।’
बेलायतबाट आएका केही मानिसमा कोरोना पुष्टि भयो भन्ने जानकारी आएको तर, नयाँ प्रजातिको (भेरियन्ट) भाइरस हो कि होइन भन्ने चाहिँ अहिलेसम्म मन्त्रालयमा जानकारी नआएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारी बताउँछन् ।
‘बेलायतबाट नेपाल आएका मानिसहरुको निःशुल्क कोरोना जाँच गर्नु भनेर मन्त्रालयले सबै प्रयोगशालालाई निर्देशन दिइसकेको छ,’ उनले भने, ‘त्यसमध्ये केही प्रयोगशालामा गरिएको परीक्षणमा बेलायतबाट आएका मानिसहरुमा कोरोना पुष्टि भएको भन्ने जानकारी आएको छ तर नयाँ प्रजाति (भेरियन्ट) भाइरस हो कि होइन भन्ने अहिलेसम्म जानकारी आएको छैन ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने यदि नेपालमा अहिले सञ्चालनमा रहेका ल्याबबाटै कोरोना पुष्टि भएको पाइयो भने त्यो पुरानै कोरोना भाइरस भएको दाबी गरे । ‘हाम्रोमा भएका पीसीआर मेसिनले कोरोनाको नयाँ प्रजातिको भाइरस चिन्ने गरी सेटअप गरिएको छैन,’ उनले भने, ‘यदि लक्षण देखियो र कोरोना रिपोर्ट नेगेटिभ आयो भने मात्र शंका गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्था आयो भने हामीले स्वाब परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले व्यवस्थापन गर्नेछ ।’
नयाँ प्रजाति(भेरियन्ट) भाइरस अहिले फैलिरहेको भाइरसको तुलनामा छिटो फैलन सक्ने जनाइएको छ । साथै, अहिले प्रभावकारी मानिएका कोरोनाका खोपले काम गर्छ कि गर्दैन भन्ने पनि अन्योल सिर्जना भएको छ । स्रोतका अनुसार पछिल्लो समय बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि भैसकेको छ ।