२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशउपचार नपाई बितेका बुबा-आमाको स्मरणमा आरोही शेर्पाले गरे स्वास्थ्य चौकी भवन हस्तान्तरण

उपचार नपाई बितेका बुबा-आमाको स्मरणमा आरोही शेर्पाले गरे स्वास्थ्य चौकी भवन हस्तान्तरण


काठमाडौँ –  १४ पटकसम्सम सगरमाथाको सफल आरोहण गरेका किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेका छन्। माउण्ट एभरेस्ट समिटर्स क्लब रोल्वालिङ दोलखाको सरस्वती नगरस्थित क्लबको सभाहलमा भवनमा शनिबार आयोजित २० औं वार्षिकोत्सवको अवसरमा उनले स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेका हुन्।

शेर्पाले स्वर्गीय बुबाआमाको स्मरणमा निर्माण सम्पन्न गरेको उक्त भवन अबदेखि क्लबकै संरक्षण र रेखदेखमा रहने गरी त्यहाँका गाउँलेलाई नै हस्तान्तरण गरेका हुन् । उनले हस्तान्तरण गर्ने क्रममा भने, ‘ समयमै उपचार नपाई बितेका आफ्ना बुवा र गाउँले आमाबुवाको स्मरणमा आफूले भवन निर्माण गरे । ‘सन् २००४ मा मेरो बुवा खुट्टा सम्बन्धी रोगले बित्नुभयो । सुरुमा उहाँको के रोग हो, गाउँमा कसैले थाहा पाएनन् । जब एक्कासी गाह्रो साह्रो भयो, उहाँलाई हेलिकप्टरमा काठमाडौंको हस्पिटल ल्याइयो र त्यहाँ उहाँको मृत्यु भयो । म त्यतिबेला सानै थिए।’

त्यो घटना आफूले कहिल्यै नबिर्सने बताउँदै रोल्वालिङ बासी शेर्पाले भने, ‘त्यो समयमा गाउँमा स्वास्थ्य चौकी, एउटा डाक्टर र नर्स भएको भए रोग वहाँको रोग के हो थाहा हुन्थ्यो, रोगै पत्ता नलागेपनि तुरुन्तै काठमाडौं जानु भन्ने सल्लाह मिल्थ्यो । मेरो बुवाको ज्यान बच्न सक्थ्यो ।’

त्यसै, घटनाबाट प्राप्त उत्प्रेरणाले गाउँको स्वास्थ्य चौकी निर्माणका लागि गरेको अनवरत उनको पहल ५ वर्षपछि सफल भएको छ । सन् २०१७ मा ३,८०० मि. को उचाइमा अवस्थित दोलखा जिल्लाको रोल्वालिङ उपत्यका, गौरीशंकर गाउँपालिका वडा नं. १, बेदिङ गाउँमा ३ कोठे स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको हो । ‘आधारभूत भौतिक संरचना त भयो तर यत्तिले मात्र मैले सोचेका सपना पूरा हुन्थेनन्, गाउँमा एउटा सिटामोल दिनसक्ने नेपाल सरकारको स्वास्थ्य कर्मीको नियुक्ति माग गर्दागर्दै ३ वर्ष बित्यो ।’ शेर्पा भन्छन् ।

कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारद्वारा जारी देश व्यापी लकडाउनका बीच रोल्वालिङ गाउँको इतिहासमा नै पहिलोपटक गाउँपालिकाबाट नियुक्त अहेबस्तरको स्वास्थ्य कर्मी गाउँमा पुगेपछि बल्ल आफूले राहतको श्वास फेरेको उनी बताउछन् ।

सन् २०१५ को विनाशकारी भूकम्प पश्चात् शेर्पाले आफ्ना अस्ट्रियन साथी जोसेफ आइनवारसँगको सहकार्यमा गाउँमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । दुईवटा गिनिज रेकर्डका धनी तथा राष्ट्रिय युवा प्रतिभा पुरस्कार–२०१७ का विजेता फुर्वा तेन्जिङ शेर्पासँगै सगरमाथा आरोहण गरेका जोसेफ आइनवालर पनि शेर्पाकै कारण रोल्वालिङ गाउँ आफ्नो दोस्रो घर भएको बताउँछन् ।

‘सन् २०१५ को राहत कार्यपछि हामीले हेल्थपोस्ट भवन निर्माण सम्पन्न गर्यौं । हालसालै मात्र सन् २०१९ को नोभेम्बरमा टासी लाप्सा पासको अपर जाबो भन्ने ठाउँमा सुरक्षित शेल्टर ‘डेभिड लामा बिवाक’ को निर्माण सम्पन्न गर्यौं जुन हिमालय बेल्टकै पहिलो बिवाक हो । रोल्वालिङ गाउँप्रति अपार प्रेमकै कारण आफूहरुले पर्यटन प्रवद्र्धनका माध्यमबाट यस ठाउँको सामाजिक–आर्थिक स्तरोन्नति गर्न विविध कार्यहरु गर्दै आएको टेलिफोन सम्पर्कमार्फत् आइनवालरले बताए ।

कार्यक्रममा रोल्वालिङ गाउँका प्रमुख धर्मगुरु नवाङ तेन्जीङ लामा (रिन्पोछे), संगाग छोलिङ मोनास्टरी स्कूलका अध्यक्ष नोर्बु थुण्डु शेर्पा, माउण्ट एभरेस्ट समिटर्स क्लबका अध्यक्ष दावा छिरी शेर्पा र गौरीशंकर गाउँपालिका वडा नं. १ का अध्यक्ष छिरिङ शेर्पाले स्वास्थ्य चौकी भवन निर्माण तथा सञ्चालनमा अतुलनीय योगदान पुर्याएबापत आरोही फुर्वा तेन्जिङ शेर्पा, अस्ट्रियाका दाता जोसेफ आइनवालर तथा उनका साथीहरु, युवा वैज्ञानिक अर्का आरोही पत्रकार रोजिता बुद्धाचार्य, स्थानिय किन्जुम शेर्पा, वरिष्ठ पत्रकार तथा नेपाल टेलिभजनका बोर्ड सदस्य बालकृष्ण बस्नेत एवम् कवि, साहित्यकार र सामाजिक अभियन्ता अनिता लामालाई कदर पत्रका साथ सम्मान गरेका थिए ।

साथै, सभामा रोल्वालिङ गाउँका एक मात्र गोरखा दक्षिणबाहु पदकद्वारा सम्मानित आरोही फिन्जु नोर्बु शेर्पालाई पनि टेलिफोन टावर तथा विद्युत् प्रसारण लाइन विस्तारमा पुर्याउनुभएको अतुलणीय योगदानको कदर स्वरुप उच्च सम्मान गरिएको थियो ।

‘रोल्वालिङ’ दोलखा जिल्लाको कर्णाली भएको उल्लेख गर्दै वडाध्यक्ष छिरिङ शेर्पा अनेक बाधाअड्चन तथा चुनौतीका बीचपनि आफूहरुले ‘संघियताः घरघरमा पुग्छ सिंहदरबार’ भन्ने नारालाई वडाको कामले सार्थक पारेको उल्लेख गरे । माउण्ट एभरेस्ट समिटर्स क्लबका अध्यक्ष दावा छिरी शेर्पा र संगाग छोलिङ मोनास्टरी स्कूलका अध्यक्ष नोर्बु थुण्डु शेर्पाले सर्वोपरी हितका लागि गाउँले सबै हरदम एकजुट हुनुपर्ने बताउँदै हालसम्म गाउँको विकास तथा समृद्धिका निम्ति विभिन्न समय तथा अवस्थामा अहोरात्र खट्नुभएका सबैलाई धन्यवाद ज्ञापन गरे ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ