२०८२ वैशाख १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना

ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना


काठमाडौं— ह्याम्स अस्पताल र सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी एण्ड रिसर्च सेन्टर (सिडिएल)को नाममा नक्कली पिसिआर रिपोर्ट तयार पारेर विदेश जान लागेको खुलेको छ । शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पिसिआर रिपोर्ट बनाएर भिजिट भिषामा दुबई जान लागेका ७ जनालाई पक्राउ गरेको हो ।

ती सात जनामध्ये ५ जनाले ह्याम्स हस्पिटलको नामको नक्कली पिसिआर रिपोर्ट बनाएका छन् भने २ जनाले सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी एण्ड रिसर्च सेन्टरको नक्कली पिसिआर रिपोर्ट बनाएको पाइएको छ ।

नेपालका पिसिआर ल्याबहरुको रिपोर्टमा कोभिड—१९ नेगेटिभ आएपनि विदेशमा परीक्षण गर्दा पोजेटिभ आएको भन्दैं विभिन्न देशहरुले नेपाललाई कम्प्लेन गरिरहेका बेला नक्कली पिसिआर रिपोर्ट लिएर विदेश जान लागेको ७ जना प्रहरी फन्दामा परेका हुन् ।

जसमा मकवानपुर घर भएका ३२ वर्षीय रोशनप्रसाद आचार्य, धनुषा घर भएका २९ वर्षीय छेदी महतो, ३८ वर्षीय तेजनारायण महतो र ३२ वर्षीय सोलेन्द्र महतो, अर्घाखाँचीका १८ वर्षीय प्रवीण भट्टराई रहेका छन् । उनीहरु ५ जनाले ह्याम्स हस्पिटल प्रयोगशालाको नामको नक्कली पिसिआर रिपोर्ट बनाएका छन् ।

यस्तै, सल्यानका २५ वर्षीय  दिनेश सिंह र सिन्धुपाल्चोकका २१ वर्षीय माइला तामाङले भने सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी एण्ड रिसर्च सेन्टरको प्रयोगशालाको नक्कली पिसिआर रिपोर्ट बनाएको पाइएको छ । नक्कली रिपोर्ट बनाएर भिजिट भिषामा दुबई छिर्न लागेका उनीहरुले कसरी र कहाँबाट नक्कली पिसिआर बनाए भन्ने अनुसन्धान प्रहरीले जारी राखेको छ ।

गौशाला प्रहरी वृत्तका इन्स्पेक्टर जनक ढुंगानाले नक्कली पिसिआर रिपोर्ट लिएर विदेश जान लागेकाहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । ‘हामीले उनीहरुमाथि थप अनुसन्धान जारी राखेका छौं,’ उनले भने, ‘कसरी नक्कली रिपोर्ट तयार पारिएको भन्ने विषय अनुसन्धानकै क्रममा छ ।’

प्रहरी स्रोतकाअनुसार प्रारम्भिक चरणको अनुसन्धानबाट भिजिट भिसामा दुबई जान लागेका ती युवाहरुलाई दलालहरुले बाटैमा पिसिआर रिपोर्टलगायतका डकुमेन्टहरु थमाएका थिए । उनीहरुले पैसामा पनि बाटोमै गाडीमा बुझेको पाइएको छ । प्रहरीले अहिले उनीहरुलाई विदेश पठाउने गिरोहलाई खोजिरहेको छ ।

नक्कली पिसिआर रिपोर्ट

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ