२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा पनि कोरोनाविरुद्धको खोप सुरु, १४ सय फ्रन्टलाइनर्सलाई खोप दिइदै

जुम्लामा पनि कोरोनाविरुद्धको खोप सुरु, १४ सय फ्रन्टलाइनर्सलाई खोप दिइदै


जुम्ला – कोरोनाविरुद्धको खोप जुम्लामा पनि लगाउन सुरु गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा खोप केन्द्र स्थापना गरी खोप लगाउन सुरु गरिएको हो ।  स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स तथा शवबहान चालकलाई कोरानाविरुद्धको खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘खोप बुधबार र बिहिबार गरी दुईदिन खोप क्लिनिक सञ्चालन गरिने छ ।’

चन्दननाथ नगरपालिका ५१० जना, पातारासी ११५ जना, गुठीचौर ८४ जना, कनकासुन्दरी १५२ जना, सिंजा १०० जना, हिमा १४३ जना, तिला ११८ जना, तातोपानी गाउँपालिका ११४ जना र ६३ थना थप गरी १ हजार ४ सय जना खोप दिइने छ ।

कर्णालीका ८ जिल्लामा खोप अभियान

कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा खोप पु¥याईसकिएको छ । खोप हवाई तथा स्थल मार्गबाट पु¥याइएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेशले जनाएको छ । हिमाली जिल्ला डोल्पा र हुम्लामा भने बुधबार मात्र खोप पुग्ने र विहिबारदेखि खोप लगाइने निर्देशनालयले जनाएको छ ।

कर्णाली प्रदेशको मेडिकल स्टोर नेपालगञ्जमा राखिएको खोप जुम्ला र मुगुमा विमानमार्फत र कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा स्थलमार्गबाट पठाइसकिएको निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिए ।

८ जिल्लामा १२ खोप केन्द्र

कोरोना खोपका लागि कर्णालीमा १२ वटा खोप केन्द्र तोकिएको छ । प्रदेशभरका १२ वटा अस्पतालबाट बुधबार बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको हो । डा.खड्काका अनुसार ८ जिल्लाका लागि १२ वटा कोरोना खोप केन्द्र तोकिएको हो ।

८ वटा जिल्ला अस्पताल, दुईवटा सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ । जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, प्रदेश अस्पताल सुर्खेत, मेहलकुना सामुदायिक अस्पताल सुर्खेत र चौरजहारी सामूदायिक अस्पताल रुकुम पश्चिमबाट कोरोनाविरुद्धको खोप लगाइने छ ।

त्यस्तै, मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेख जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाएको छ ।

‘पहिलो चरणको खोप करिब १० दिनभित्र लगाइसक्ने गरी हामीले तयारी थालेका छौँ,’ डा. खड्काले भने । पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएर काम गर्नेेहरुलाई खोप लगाइने जनाइएको छ ।

कति डोज ?

सुरुमा पहिलो चरणका लागि साढे ११ हजार खोप भनिए पनि ११ हजार ७ सय ८० डोज खोप दिने बताइएको छ । जसमध्ये सुर्खेतमा सबभन्दा बढी २ हजार ७८१, दैलेखमा २ हजार, जुम्लामा १ हजार ७०२, कालीकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १०५, सल्यानमा १ हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँट गरिएको निर्देशनालय बताएको छ ।

दोस्रो चरणका लागि २४ हजार डोज खोप माग गरिएको निर्देशनालयको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ