२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमहानगरको कमाण्ड लिन तम्सिएका ‘सिएमए’

महानगरको कमाण्ड लिन तम्सिएका ‘सिएमए’


पोखरा—पोखराको मेयरका लागि नेकपा एमालेले कृष्णबहादुर थापालाई उम्मेदवार बनाएको छ । पूर्व मेयरसमेत रहेका थापा गण्डकी प्रदेशका निवर्तमान सदस्य हुन् । उनले पोखरामा मेयरको उम्मेदवार बने पक्का भएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

थापा वि.सं. २०१६ साल चैत १६ गते कास्कीको बाटुलेचौरमा जन्मिएका हुन् । शिक्षामा स्नातक गरेका थापा स्वास्थ्यकर्मी पनि हुन् । उनले चिकित्साशास्त्र अध्ययन संस्थान, सुर्खेतबाट सि.एम.ए (कम्युनिटी मेडिकल असिस्टेन्ट) पढाइ पूरा गरेका छन् । २०३९ देखि १ वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सह–सचिव भएका थिए ।

वि.सं. २०५४ सालमा पोखरा उपमहानगरपालिकाको प्रमुख भएका थापा अहिले महानगरको मेयर जित्ने दौडमा छन् । थापाले तत्कालीन गण्डकी अस्पताल हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ६ महिना सिएमएका रुपमा सेवा दिएका थिए । त्यसपछि भेडाबारी हेल्थ पोस्टमा करिब १ वर्ष काम गरेका थिए । वि.सं. २०४१ सालमा पृथ्वीनारायण क्याम्पसमा सक्रिय राजनीतिमा लागेपछि स्वास्थ्य सेवा छाडेको बताइन्छ ।

थापा आमा र बच्चाको स्वास्थ्यमा महत्वपूर्ण योगदान हुने ठानेर मितेरी अस्पताल स्थापना गरेको र स्तरोन्नतीमा आफ्नो सक्रियता रहेको बताउँछन् । पोखराको मेयरमा विजयी भएमा ग्रामीण वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने र रेस्क्यु सेवालाई प्राथमिकतामा राख्ने बताएका छन् । पहिलेका गाविसलाई समेटेर पोखराका वडा बनाइएकाले कतिपय वडामा महानगरमा हुने सुविधा नै छैनन् । त्यसैले उनले रेस्क्युलाई प्राथमिकतामा राखेको बताउँछन् ।

महानगरवासीलाई स्वस्थ राख्न स्वास्थ्य शिक्षा महत्वपूर्ण भएकाले माध्यमिक तहमा समेट्नुपर्नेमा जोड दिएका छन् । उनी भन्छन्, ‘पैसा नभएका कारण महानगरवासीले उपचार गर्न नपाउने अवस्था आउन दिने छैनौं ।’

थापाले घोषणापत्रमा आधारभूत स्वास्थ्यका लागि प्रत्येक वडामा एम्बुलेन्ससहितको स्वास्थ्य केन्द्र स्थापना गरी ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका, अशक्त र गर्भवती महिलाका लागि निःशुल्क स्वास्थ्य सेवाको प्रबन्ध गर्ने उल्लेख छन् । वडा स्तरका स्वास्थ्य केन्द्रहरुमा डाक्टरको दरबन्दीसहित विशेषज्ञ सेवा दिने उनको योजना छ । गर्भवती महिलालाई पौष्टिक आहारका लागि भत्ता दिने व्यवस्था गर्ने आकांक्षा राखेका छन् ।

आधारभूत सेवाका औषधि र खोप निःशुल्क प्रदान गर्ने योजना बनाएका छन् । स्वास्थ्य बिमाको कार्यक्रमलाई अनिवार्य र प्रभावकारीरुपमा लागु गर्ने घोषणा पत्रमा उल्लेख गरेका छन् । आधारभूत स्वास्थ्य र सरसफाइमा पनि उनले जोड दिएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ