२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा विश्वविद्यालयले १ सय शैय्याको शिक्षण अस्पताल संचालन गर्दै

पोखरा विश्वविद्यालयले १ सय शैय्याको शिक्षण अस्पताल संचालन गर्दै

६ महिनाभित्र अस्पताल भवन तयारी गर्ने सम्झौता, असारदेखि ओपिडी सेवा दिइने


पोखरा – पोखरा विश्वविद्यालयले १ सय शैय्याको शिक्षण अस्पताल छिट्टै सञ्चालनमा ल्याउने भएको छ । स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धि मापदण्डअनुरूप छात्राबास भवन अस्पतालको रूपमा परिमार्जन गरिने भएको हो ।

शिक्षण अस्पतालको लागि आवश्यक पूर्वाधार निर्माण गर्न विश्वविद्यालयले हाल सञ्चालनमा रहेको छात्राबास भवनलाई परिमार्जन गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको उपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी र सूर्य कन्स्ट्रक्सन कम्पनीका प्रवन्ध निर्देशक सूर्यनारायण बरालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अस्पतालमा आवश्यक हुने प्रशासनिक कार्यालय, बहिरंग विभाग (ओपिडी), अन्तरंग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभागलगायत आवश्यक प्रतिक्षा कक्ष, सवारी साधन, पार्किङ, पानी, विधुत, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन आदिको व्यवस्था हुनेछ ।

 यसअघि अस्पतालको विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) अध्ययन भएको थियो । ठेक्का सम्झौता रकम करिब साढे ७ करोड रहेको छ ।

अस्पताललाई चाहिने प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भइ नियुक्ति गर्ने कार्य अन्तिम चरणमा पुगेको पोविविले जनाएको छ ।

सम्झौताबमोजिम ठेकेदारले ६ महिनाभित्र अस्पताल भवन निर्माणको कार्य सम्पन्न गर्ने पोविविका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ओपिडि सेवा आगामी असार पहिलो साताबाट सुरुवात गर्ने गरी तयारी भइरहेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ