२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७ वर्षपछि सिटी स्क्यान सेवा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७ वर्षपछि सिटी स्क्यान सेवा

निर्देशक भन्छन्,‘अस्पतालभित्रकै सिटी स्क्यानमात्रै हेर्ने व्यवस्था मिलाउँछौं’


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सिटी स्क्यान सेवा सुरु हुने भएको छ । अस्पतालमा सिटी स्क्यान मेसिन जडान पूरा भएपछि बिहीबारबाटै सेवा सञ्चालन गरिने भएको छ ।

सुरुमा प्लेन सिटी स्क्यान गरिने र केही समयपछि जटिल सिटी स्क्यान सेवा विस्तार गरिने अस्पतालको योजना छ । करिब ७ वर्षदेखि सिटी स्क्यान मेसिन बिग्रिएर थन्किएपछि अस्पतालमा आउने बिरामीले सिटी स्क्यान सेवाका लागि निजी प्रयोगशालामा धाउनुपर्ने बाध्यता थियो ।

अस्पतालका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीका अनुसार करिब १० वर्षअघि खरिद गरिएको उक्त सिटी स्क्यान मेसिनले ३ वर्षमात्रै काम ग¥यो भने मर्मत होला कि भन्ने आशामै ७ वर्ष बित्यो ।

बिग्रिएको मेसिन मर्मतको अभावमा अर्काे मेसिन खरिद गर्ने वा सोही मेसिन मर्मत गर्ने भन्ने अन्योलता थियो । पुरानो मेसिन मर्मत गर्ने वा कसरी व्यवस्थापन गर्ने भन्नेबारे राष्ट्रिय आविष्कार केन्द्रसँग परामर्श भइरहेको प्रा.डा. खत्रीले बताए ।

हाल खरिद गरिएको सिटी स्क्यान मेसिनको मर्मत सम्भारको काम ५ वर्षसम्म कम्पनीले नै गरिदिने उनको भनाइ थियो । उनले भने, ‘पार्टपुर्जा फेर्नुपर्ने भएपनि कम्पनीले नै फेरिदिन्छ ।’ बजेट, मन्त्रालयका कानुनी तथा नीतिगत प्रक्रिया, भन्सार र नेदरल्यान्डको कम्पनीका कारण नयाँ मेसिन ल्याउन ढिलाइ भएको उनले सुनाए ।

नेदरल्यान्डबाट ल्याइएको उक्त मेसिनको लागत ७ करोड रहेको छ । कम्पनीले मेसिन ल्याउन ढिला गरेकाले अहिलेसम्म ८० प्रतिशतमात्रै भुक्तानी दिएको प्रा.डा. खत्री बताउँछन् ।

सिटी स्क्यान सेवाको शुल्क ५ देखि ६ हजार तोकिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्लेन सिटी स्क्यानका लागि ५ हजार र जटिल सिटी स्क्यान सेवा लिन बिरामीले ६ हजार शुल्क तिर्नुपर्ने हुन्छ ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीलाई सिटी स्क्यान सेवा लिन मणिपाल र गण्डकी मेडिकल कलेज (जिएमसी) जानुपर्ने हुन्थ्यो । अब भने बिमाका बिरामीले अस्पतालमै सेवा पाउने भएका छन् ।

अस्पतालमा सेवा सुरु भइसकेपछि अबका दिनमा अस्पताल बाहिरका प्रयोगशालामा गरिएको सिटी स्क्यान नहेर्ने गरी काम गर्ने योजना बनाएको निर्देशक प्रा.डा. खत्रीले बताए । ‘अब हामीले अस्पताल प्रयोगशालामा हुने सबै खाले प्रयोगशाला रिपोर्ट बाहिरका ल्याएमा नहेर्ने गरी गर्न लागेका छौं । यसबाट बाहिर पठाउने गरेको गुनासो कम हुनेछ,’ उनले भने, ‘सबै पक्षबाट सहयोगको खाँचो हुन्छ । प्रेस्क्रिप्सनमा एनएमसी लेख्न लगाउनेलगायत कुरा बाहिर पठाउने परिपाटी अन्त्यकै लागि हो । हामीले केही समयअघि भिडियो एक्सरे पनि बाहिरको नहेर्ने भनेका थियौं । तर, भिड बढी भएकाले व्यवस्थापनमा कठिनाइ भयो ।’

अस्पतालमा हाल सिटी स्क्यान मेसिन चलाउने ४ जना रेडियोलोजिस्ट भएकाले जनशक्तिमा समस्या नहुने अस्पतालको दाबी छ । प्रा.डा. खत्रीका अनुसार भिडियो एक्सरेको तुलनामा सिटी स्क्यान छिटो हुने भएकाले अब छाती, ढाड, पेटको एक्सरे गर्नुपर्ने भए सिटी स्क्यान गर्न उपयुक्त हुनेछ । त्यसो गर्दा सेवा छिटो र गुणस्तरीय हुने उनको तर्क छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ