२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रीको लबिइङमा रहेका डा. शर्माको मेडिकल कलेजका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

मन्त्रीको लबिइङमा रहेका डा. शर्माको मेडिकल कलेजका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्


काठमाडौं—नयाँ गठबन्धन बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने लबिइङमा लागेका व्यवसायी सुनिल शर्माको मेडिकल कलेजले तीन महिनादेखि कर्मचारीलाई तलब नदिइएको पाइएको छ । शर्मा अध्यक्ष रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)ले कर्मचारीहरुलाई तीन महिनादेखि तलब दिएको छैन ।

‘मेडिकल कलेजले अन्त काम गर्न पनि दिएको छैन,’ अस्पतालमा कार्यरत एक चिकित्सकले भने, ‘तीन महिनादेखि तलब पनि दिएको छैन ।’ मेडिकल कलेजले गत कात्तिक महिनाको तलब पुसमा दिएको थियो ।

त्यसपछि कर्मचारीहरुले तलब नियमित हुने सोचेका थिए । तर, माघ महिनामा पनि तलब नआएपछि मंसिर, पुस र माघ तीन महिनाको तलब बाँकी रहेको हो । मेडिकल कलेज स्रोतकाअनुसार सहयोगीदेखि उच्च तहका कर्मचारीहरुसम्म कसैको पनि तीन महिनाको तबल भुक्तानी भएको छैन ।

‘फागुन पनि सकिन लाग्यो । अब तलब भुक्तानी नभएको चार महिना पुग्दैंछ,’ अर्की एक नर्सिङ कर्मचारीले भनिन्, ‘काठमाडौंमा कोठाभाडा तिर्नेदेखि नियमित जीवन धान्न पनि गाह्रो भइसक्यो ।’ ती नर्सले अन्त जागिर खोज्ने कि के गर्ने भन्ने विषयमा आफू कन्फ्युजनमा रहिन् ।

०७७ मा शर्माले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको बहुमत सेयर १ अर्ब ७० करोडमा किनेर अध्यक्ष भएका थिए । त्यसपछि पुरानो व्यवस्थापनका अधिकांश व्यवस्थापक र उच्च तहका कर्मचारीहरुले केएमसीबाट बाहिरिएका थिए ।

केएमसीमा ४ मंसिरको निर्वाचन तयारी सुरु भएदेखि नै तलबको रुटिङ अनियमित भएको थियो । कर्मचारीहरुकाअनुसार त्यतिबेला कर्मचारीहरुले मोरङ ३ बाट निर्वाचन लडिरहेका शर्माको चुनावी दौडधुपका कारण तलब समयमा आउन ढिला भएको लख काटेका थिए ।

तर, शर्मा मंसिर ४ मा भएको निर्वाचन उनले जितेर सांसद भइसकेका छन् । यसबीचमा उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेससहितका ८ दलीय नयाँ गठबन्धन बनेसँगै मन्त्रीको लबिइङ गरिरहेका छन् । नेपाली कांग्रेस निकट स्रोतकाअनुसार शर्माले शिक्षा वा स्वास्थ्यमध्ये एक मन्त्रालय आफूलाई दिनुपर्ने लबिइङ गरिरहेका हुन् ।

यस विषयमा जानकारी लिन हेल्थआवाजले शर्मालाई पटक—पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । अस्पताल र मेडिकल कलेज गरी केएमसीमा ५ सय बढी कर्मचारी काम गर्छन् ।

यो पनि पढ्नुस

Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा

काठमाडौं मेडिकल कलेज किन्न सुनिल शर्माले कसरी जुटाउँदैछन् १ अर्ब ७० करोड रूपैयाँ ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ