२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ठेउला संक्रमण बढ्यो, पोखरा र स्याङजामा भेटिए बिरामी

गण्डकीमा ठेउला संक्रमण बढ्यो, पोखरा र स्याङजामा भेटिए बिरामी

संक्रमण रोकथामका लागि विद्यालय बन्द गर्न र बिरामीलाई आइसोलेसनमा राख्न चिकित्सक सुझाव


पोखरा—स्याङ्जाको वालिङ नगरपालिकाको शिर्शुकोट देउराली आधारभूत विद्यालयका २२ जना विद्यार्थीमा एकै खालको स्वास्थ्य समस्या देखियो । केही दिनअघिबाट देखिएको समस्या भएपनि ढिला गरी नगरपालिका स्वास्थ्य शाखामा खबर प्राप्त भयो । स्वास्थ्य शाखाको टोली अस्पताल पुगेर उपचार ग¥यो । देखिएको लक्षणका आधारमा १ हप्ता वडाका ३ विद्यालय बन्दसमेत गरियो ।

त्यसको भोलिपल्ट थप १० जना विद्यार्थी र १ जना वयस्कमा सोही लक्षण देखिएपछि घाँटीको स्वाब र रगत नमूना संकलन गरी काठमाडौं पठाइयो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षणपछि ठेउला भएको पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए ।

उनकाअनुसार हाल ठेउला नियन्त्रणबाहिर छैन, कन्ट्रोल भएको छ । प्रमुख पाण्डेका अनुसार बुटवलबाट आएका वयस्कका कारण ठेउला वालिङ भित्रिएको हुनसक्ने आँकलन छ । एक जना वयस्क समुदायस्तरमा संक्रमित छन् ।

त्यसपछि आइतबारमात्रै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको संयोजनमा विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरुबीच छलफल भएको छ । स्याङ्जाको वालिङ केन्द्रित भएर बैंठक भएको थियो ।

पोखरामा पनि ठेउलाका बिरामी भेटिएका छन् । आइतबार बेलुकासम्म पोखराको संक्रामक तथा सरुवा रोग अस्पतालमा ठेउलाका ३ जना बिरामी पुगेका छन् । पोखरा तालचोकस्थित डाइमण्ड माविका ३ जना विद्यार्थीमा ठेउला संक्रमण भेटिएको संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले पुष्टि गरे ।

‘डायमण्ड माविका ३ जना विद्यार्थीमा ठेउला रहेछ । अरुमा पनि सर्ने र फैलिने जोखिम छ । हामी सोमबार दिउँसो स्थलगत अध्ययन गर्दैछौं । त्यसपछि अवस्था के रहेछ भन्नेबारे थप जानकारी प्राप्त होला । ठेउलाको सन्दर्भमा ३ जना बिरामी धेरै हो,’ डा. गौचनले भने ।

सोमबार डायमन्ड माविमा प्रदेश स्वास्थ्य मन्त्रालय, संक्रामक अस्पताल तथा विश्व स्वास्थ्य संगठन, नगरपालिकाका प्रतिनिधिलगायत सहभागी टोलीले अध्ययन गर्ने बताइएको छ । विद्यालयमा धेरै विद्यार्थी अनुपस्थित भएको जानकारी पाएको संक्रामक अस्पतालका निर्देशक डा. गौचनले बताए ।

डा. गौचनकाअनुसार ठेउला भेरिसेला जुस्टर भाइरसका कारण हुन्छ । रातो—रातो दाग हुन्छ, पानी फोका देखिन्छ । पछि पाप्रा निस्कने, ज्वरो आउने हुन्छ, । प्रायः बच्चालाई असर गर्छ । ध्यान नपु¥याउँदा वयस्कलाई पनि निमोनिया, ब्रेनको इन्फेक्सन भई मेनेन्जाइटिस, इन्सेफ्लाइटिससमेत बनाउन सक्ने डा. गौचनले बताए ।

संक्रमण न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने र बिरामीलाई आइसोलेसनमा राख्ने गर्नुपर्ने उनी बताउँछन् । यो तीव्र फैलिने रोग हो । सरसफाइमा विशेष ध्यान दिनुपर्छ । शंका लाग्दाबित्तिकै विश्वसनीय अस्पताल पुगिहाल्नुपर्छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ