२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशव्यासमा आयुर्वेदिक औषधी पसल तथा अस्पताल अनुगमन

व्यासमा आयुर्वेदिक औषधी पसल तथा अस्पताल अनुगमन

दमौलीका ७ आयुर्वेदिक औषधी पसल सिल, अस्पताललाई नियमानुसार सञ्चालन गर्न निर्देशन


पोखरा—तनहुँको व्यास नगरपालिकाले दमौलीमा रहेका आयुर्वेदिक पसलहरुको अनुगमन गरेको छ । मंगलबार अनुगमनमा गएको टोलीले ओपीडीसहित सञ्चालनमा रहेका ७ वटा पसल सिल गरेको छ ।

टोलीले व्यास २ स्थित रुक्सल आयुर्वेद फर्मा, आरोग्य फार्मेसी, अनमोल आयुर्वेद स्वास्थ्य क्लिनिक, व्यास होमियो फार्मेसी, आयुष होमियो फर्मा, स्पार्क दमौली र प्रकाश आयुर्वेदिक पसल सिल गरेको व्यासका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार रुक्सलले स्थानीय तहमा दर्ता नगरेको र औषधी पसल दर्ता गरी बिरामी जाँचेको भेटिएको थियो । आरोग्यले स्थानीय तहमा दर्ता नगरेको, एलोप्याथिक तथा होमियोप्याथी औषधी बिक्री गरेको पाइएको छ । अनमोल आयुर्वेद स्वास्थ्य क्लिनिकले नवीकरण नगरेको, क्लिनिक मापदण्डअनुसार नरहेको र एलोप्याथिक औषधी बेचेकाले सिल गरिएको हो । व्यास होमियो फार्मेसी दर्ता भएपनि क्लिनिक तथा प्रयोगशाला सञ्चालन गरेको तर दर्ता नगरेको पाइएको छ ।

आयुष होमियो फर्मामा पसल दर्ता चलानी नभएको तथा म्याद गुज्रेका औषधी फेला परेको थियो । स्पार्क दमौली अस्पताल स्थानीय तहमा दर्ता नभएको पाइएको छ । प्रकाश आयुर्वेदिकमा एलोप्याथिक औषधी बिक्री गरेको, औषधी पसलमा क्लिनिकको सेवा सञ्चालन गरेको र चिकित्सकविना अनाधिकृत व्यक्तिले बिरामी परीक्षण गरेको भेटिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले बताइन् ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजत्वमा गएको अनुगमन टोलीमा जिल्ला आयुर्वेद कार्यालयका चिकित्सक रामप्रमोद मण्डल पनि सहभागी थिए ।

यसैगरी केही दिन अघि दमौलीका ५ निजी अस्पतालमा अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा नगरपालिकाले गरेको अनुगमनमा समाधान, सिटी जनरल, नेसनल एपोलो, व्यास नगर र रत्नहरि हस्पिटलमा अनुगमन गरेका थियो ।

अनुगमनका क्रममा नवीकरण नभएको, म्याद सकिएको बिटाडिन, मापदण्डअनुसार फोहोर मैला व्यवस्थापन नभएको, नगरपालिकामा नियमित प्रतिवेदनको रिपोर्टिङ नगरेको, १५ शैय्या भनिएपनि मापदण्ड विपरीत सञ्चालन गरेको, बिरामी जाँच्ने कक्ष व्यवस्थित नभएको फेला पारेको थियो । अनुगमन टोलीले अस्पतालहरुलाई १ साताभित्र जरिवाना तिर्न र मापदण्ड पु¥याएर नवीकरण तथा थप व्यवस्थापन गर्न निर्देशन दिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ