२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशआँपपीपल अस्पताल र बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत ल्याएर सञ्चालन गर्ने तयारी

आँपपीपल अस्पताल र बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत ल्याएर सञ्चालन गर्ने तयारी


पोखरा—गण्डकी प्रदेशका थप दुई स्वास्थ्य संस्थालाई प्रदेश मातहत ल्याएर सञ्चालन गर्ने तयारी अगाडि बढाइएको छ । गोरखाको आँपपीपल अस्पताल र बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी प्रदेश मातहत ल्याउन अध्ययन गरिएको हो ।

गोरखाको आँपपीपल अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी सञ्चालनको लागि सम्भाव्यता अध्ययन थालिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा गएको ९ सदस्यीय कार्यदलले अस्पताल स्तरोन्नती गर्ने र प्रदेश मातहत ल्याउनबारे अध्ययन अनुसन्धान तथा प्रतिवेदन तयारीको काम गर्नेछ ।

नेपाल सरकारका पूर्व प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरी, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, उपमेयर वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, स्वास्थ्य शाखाका प्रमुख, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरुसमेत छलफलमा सहभागी थिए ।

१९५२ सालमा डिस्पेन्सरी सेवाबाट सुरु भएको आँपपीपल अस्पताल वि.सं. २०५७ बाट १५ शैय्यामा स्तरोन्नती भएको थियो । हाल आँपपीपल १५ शैय्याभन्दा बढीको नै सेवा दिइरहेको छ । स्तरोन्नती भएपश्चात् ५० शैय्याको बनाउने तयारीस्वरुप अध्ययन सुरु गरी टोली फर्किएको स्वास्थ्य कार्यालय गोरखा प्रमुख नगरजंग ठकुरीले जानकारी दिए । कार्यदलले आँपपीपललाई जिल्ला अस्पताल जसरी चलाउने वा साझेदारी मोडलमा चलाउने वा भएको संरचनामा सञ्चालन गर्ने र प्रदेशले सहयोग गर्ने भन्ने विभिन्न मोडलबारे छलफल गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सो अवसरमा पालुङटारका मेयर विवश चिन्तन तथा स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काबीच आमा स्वास्थ्य कार्यक्रम र एम्बुलेन्स सञ्चालनबारे पनि छलफल भएको छ ।

उता, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको बुर्तिवाङ अस्पतालमा स्तरोन्नतीको सम्भाव्यता अध्ययन थालिएको छ । अध्ययनका क्रममा भएको छलफलमा सांसदहरु द्रोण कुँवर, दिलमाया पौवी, जित शेरचन, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. रोशन न्यौपाने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रकाश ढुंगाना, आर्थिक मामिला तथा कानुन मन्त्रालयका रामेश्वर ढुंगाना, निसीखोलाका अध्यक्ष सुर्यबहादुर घर्ति, तमानखोलाका अध्यक्ष जोकलाल बुढा, बडीगाडकी अध्यक्ष गण्डकी थापा अधिकारी, ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतसहित कार्यपालिका सदस्यहरु, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखहरूलगायत सहभागी थिए ।

अध्ययन कार्यदल आँपपीपल र बुर्तिवाङको विस्तृत स्थलगत अध्ययन सकेर पोखरा फर्किएको छ । टोलीले पूर्ण प्रतिवेदन तयार गरी साउन ३२ गते प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयलाई बुझाउने स्वास्थ्य निर्देशनालयका महानिर्देशक तथा कार्यदल संयोजक खिमबहादुर खड्काले जानकारी दिए ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहत संक्रामक तथा सरुवा रोग अस्पताल, मातृशिशु मितेरी अस्पताल, धौलागिरी अस्पताल, गोरखा अस्पताल, बेनी अस्पताल, दमौली अस्पताल, स्याङ्जा अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, मनाङ अस्पताल, लमजुङ अस्पताल र मुस्ताङ अस्पताल रहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ