२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लामा दादुरा–रुबेला विरुद्धको खोपबाट ५४ जना बालबालिका बञ्चित

हुम्लामा दादुरा–रुबेला विरुद्धको खोपबाट ५४ जना बालबालिका बञ्चित

हिमपातले बाटो अवरुद्ध भएपछि हवाई ढुवानीका लागि खर्च जुटाउन नसक्दा भ्याक्सिन गाउँमा पुग्न सकेन ।


जुम्ला— हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुबेला खोप लगाउनबाट बञ्चित भएका छन् । देशभर ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चालन भएपनि तील, जाङ र हल्जी गाउँका ५४ जना बालबालिकाले खोप लगाउन नपाएका हुन् ।

उक्त गाउँका बालबालिकाले यो राष्ट्रिय खोप मात्रै नभएर बालबालिकाले नियमित रूपमा लगाउने अन्य खोप पनि लगाउन नपाएको नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । हिउँदको समयमा हिमपात भएकाले नारा लेक र न्यालु लेकको सडक बन्द भएर मानिस र सवारी साधान आवत–जावत प्रभावित भएपछि खोप कार्यक्रम सञ्चालन हुन नसकेको हो ।

हिउँले बाटो बन्द हुँदा भ्याक्सिन ढुवानी हुन नसक्दा सबै किसिमका खोप लगाउनबाट लिमीका बालबालिका बञ्चित रहेको अध्यक्ष तामाङको भनाइ छ । लिमीमा भ्याक्सिन ढुवानीका लागि हेलिकोप्टरको व्यवस्थाका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको भएपनि समाधान हुन नसकेका स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । भ्याक्सिन ढुवानी गर्न हेलिकोप्टर भाडा २ लाख रुपैयाँ लाग्ने भएकाले भ्याक्सिन ढुवानी खर्च जुटाउन गाह्रो भएपछि लिमीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका हुन् ।

आफूसँग त्यति ठूलो बजेट नहुँदा राष्ट्रिय खोप कार्यक्रमसमेत लिमीमा सञ्चालन हुन नसकेको प्रमुख सिंहले बताए । हिमपातले बाटो अवरुद्ध भएपछि स्वास्थ्यकर्मी भ्याक्सिन लिएर जान नसकेका हुन् । वैशाखपछि बाटो खुलेपछि मात्रै खोप अभियान सञ्चालन हुने उनको भनाइ छ ।

कात्तिकदेखि लिमीका बालबालिकाले नियमित खोपसमेत लगाउन नपाएका हुन् । गाउँपालिका स्वास्थ्य शाखाले दादुरा–रुबेला विरुद्धको भ्याक्सिन बुझेको भएपनि स्वास्थ्यकर्मी खोप केन्द्रसम्म जान हिउँ जमेको बाटोले अवरोध गरेपछि खोप कार्यक्रम सुरु नभएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ