२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं विश्वविद्यालयलाई बिक्रीका लागि ६ ठूला अस्पतालले पठाए प्रस्ताव

काठमाडौं विश्वविद्यालयलाई बिक्रीका लागि ६ ठूला अस्पतालले पठाए प्रस्ताव


काठमाडौं—काठमाडौं विश्विद्यालय (केयु)लाई बिक्री, करार र लिजमा अस्पताल दिनका लागि काठमाडौं उपत्यकाका ६ ठूला निजी तथा सामुदायिक अस्पतालले प्रस्ताव पठाएका छन् । १८ फागुनमा केयुले विश्वविद्यालयको काठमाडौं उपत्यकामा शिक्षण अस्पताल सेवा विकास र विस्तारका लागि कम्तिमा १०० शैय्याको अस्पतालबाट प्रस्ताव माग गरेको थियो ।

केयुले सिधैं खरिद, लिज वा करार गरेर प्राप्त गर्नका लागि ७ दिनको म्याद राखेर गरेको आव्हानमा भक्तपुरका १, ललितपुरको १ र काठमाडौंका चार वटा अस्पतालले प्रस्ताव पेश गरेको केयु स्रोतले हेल्थआजावलाई जानकारी दिएको छ ।

जसमा झण्डै ६ अर्ब लगानीमा बन्न लागेको तीनकुनेस्थित काठमाडौं इन्टरनेशनल हस्पिटल, ४ अर्ब लगानीमा बनेको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, बसुन्धरास्थित महेन्द्रनारायण निधी सामुदायिक र चुच्चेपाटीस्थित स्तुपा अस्पताल रहेका छन् ।

यसैगरी, भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल रहेका छन् । ती अस्पतालहरुले २५ फागुनभित्रै खरिद, लिज र करार गरी तीन वटै मोडलको प्रस्ताव केयुलाई बुझाइसकेका छन् ।

ती अस्पतालहरुको प्रस्ताव अध्ययनका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. मनोज हुमागाईको संयोजकत्व तीन सदस्सीय अध्ययन समिति बनाइएको छ । उक्त समितिले प्रस्तावहरु अध्ययन गरेर राय केयुलाई दिनेछ ।

संयोजक डा. हुमागाईले केही अस्पतालहरुले प्रस्ताव पेश गरेको तर विस्तृत रुपमा आफूहरुले अध्ययन सुरु नगरेको बताए । ‘केही अस्पतालहरुले प्रस्ताव पेश गरेका छन्,’ उनले भने, ‘ती प्रस्तावहरुमाथि अध्ययन सुरु गरिसकेका छैनौं । अब केही दिनमैं हामीले अध्ययन सुरु गर्छौ ।’

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच रहेको २८ वर्ष लामो सम्बन्ध टुट्ने संघारमा पुगेसँगै केयुले नयाँ शिक्षण अस्पताल विकास गर्न खोजिरहेको छ । औपचारिक रुपमा दुई संस्थाबीच ५० वर्षसम्म सहकार्य गर्ने गरी भएको ‘एग्रिमेन्ट ब्रेक’ गर्ने गरी दुई पक्षबीच कुरा नभएतापनि धुलिखेल अस्पतालले बागमती प्रदेशबाट सामुदायिक विश्वविद्यालयको आशयपत्र लिन आवेदन दिइसकेको छ ।

७ असोजमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय हेटौडाले स्वास्थ्य, सूचना प्रविधी र कानुन क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन आव्हान गरेको थियो । परिषद् सचिवालयको उक्त आव्हानपछि १० कात्तिकमा धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालयका लागि  आवेदन दिएको थियो ।

धुलिखेलको उक्त तयारीपछि केयुले चौकोटमै आफ्नै शिक्षण अस्पताल पनि बनाउँदैंछ । यसका साथै उसले काठमाडौंमा पनि विश्वविद्यालयको शिक्षण अस्पताल विस्तार गर्ने तयारी गरेको हो । सोही तयारी मुताविक केयुले कम्तिमा १०० शैय्याभन्दा माथिका अस्पतालहरुलाई खरिद, लिज र करारमा प्राप्तिका लागि प्रस्ताव आव्हान गरेको थियो ।

यो पनि पढ्नुहोस्

२८ वर्षपछि काठमाडौं युनिभर्सिटी र धुलिखेल अस्पताल अलग हुने तयारीमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ