काठमाडौं—कान्ति बाल अस्पतालका निर्देशक तथा वरिष्ठ बाल रोग विशेषज्ञ डा. पंकज रायले व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जित गरिएको दावी गरेका छ्न । बिहीबार डा. रायले एक विज्ञप्ती जारी गर्दै कार्यालय समयमै सरकारी गाडीमा लिएर निजी अस्पताल पुगेको विवादप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदैं उक्त कुरा बताएका हुन् ।
‘उक्त दिन नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट गरी गम्भीर घाइते हुनु भएको घटनालाई लिएर आफ्नो समूहका डाक्टरहरुमाझ छलफल गर्न ह्याम्स अस्पताल गएको हुँ,’ उनले भनेका छन्, ‘सो क्रममा म गाडीबाट झर्दै गर्दा कान्ति बाल अस्पतालका पूर्व कर्मचारीले (सवारी चालक)ले भिडियो खिचेर फरक सन्दर्भ र अर्थमा फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रविष्ट गरिएको हो ।’
डा. रायले नेपालभर ओपीडी सेवा बन्द रहेका बेला आफूले ह्याम्समा गएर बिरामी नहेरेको पनि प्रष्टीकरणमा उल्लेख गरेका छन् । करार सेवामा रहेका ती कर्मचारी अस्पताललाई आवश्यक नभएपछि आफूले करार नथपेको र त्यही रिसइबीमा साध्न उक्त भिडियो खिचिएको डा. पंकजको दावी छ ।
‘निजको म्याद नथपिएको भोलिपल्ट अस्पताल प्रशासनमा आई म निर्देशकलगायत अन्य कर्मचारीलाई गाली गलौज गरी दुर्व्यवहार गरी सबैलाई देखाइदिन्छु भन्दैं बाहिरिनुभएको थियो,’ उनको प्रष्टीकरण छ, ‘सोही म्याद नथपिएको विषयलाई व्यक्तिगत रुपमा लिई रिसइबी साध्न उहाँले उक्त भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जित गर्नुभएको हो ।’

उनले सो दिन आफू कार्यालय समयमा अस्पतालमै रहेको इलेक्ट्रीनिक्स हाजिरी रेकर्डबाट स्पष्ट हुने बताउँदैं अस्पतालमा बिरामीलाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने र व्यवस्थापकीय कार्य गरिरहेको बताएका छन् ।
डा. रायले बरु आफूले पछिल्ला तीन वर्षमा कान्तिमा ब्यापक सुधारका कार्यहरु गरेको उल्लेख गर्दै सबै युनिट, सबै बिरामी हेर्ने व्यवस्था, फार्मेसी काउन्टर थप, कवाडी बिक्री गरेर ५४ लाख रुपैयाँ अस्पताललाई जुटाएको उल्लेख गरेका छन् । यस्तै, पिआईसीयु र एनआईसीयको अभावमा बिरामी अन्त जानुपर्ने अवस्था हटाउन १२ शय्याबाट पिआईसीयु १५ शय्या र एनआईसीयु १५ शय्याबाट १८ शय्यामा विस्तार गरेको, अब्जरबेसन वार्ड २२ शय्यामा विस्तार गरेको, अनलाइन टिकेटिङमा लाइन व्यवस्थापन गर्न टोकनको सिष्टम जडान गरिएको, साइक्रयाट्रिक वार्ड सञ्चालनमा ल्याएको उनले बताए ।
१००० शय्याको विशिष्टीकृत अस्पतालको गुरुयोजना अनुरुप डिजाइन स्वीकृत भएर अन्य कार्यहरु अगाडि बढाएको, एमआरआई र सिटी स्क्यान सञ्चालनमा ल्याइएको, काठमाडौं महानगरसँगको सहकार्यमा साइक्रयाट्रिक भवन दुई तला थप गर्ने र मोडुलर ओटी निर्माणको कार्य अगाडि बढाएको, अस्पतालमा क्युआर पेमेन्टको व्यवस्था गरिएको, नर्सिङ क्याम्पसको सिमुलेसन ल्याब स्थापना गरिएको, मानसिक एकाईमा १६ शय्या अन्तरंग सेवा सञ्चालनमा ल्याएको उनले बताए ।
डा. रायले आफूले अस्पतालमा विगत तीन वर्षमा पानी आपूर्तिलाई सहज बनाउन पहल गरेर बजेट सुनिश्चित गरेको, पीएसीएस सिष्टम इन्स्ट्रेलेसन गरेको, लायन्ससँगको सहकार्यमा सर्जिकल वार्ड थप ५० शय्या सञ्चालन गर्न तल्ला विस्तारको काम भइरहेको, डेन्टल सेवा विस्तार गरेको, एउटा माइनर ओटी थप गरेको बताए । उनले यसबाहेक प्रयोगशालामा चुहावट रोक्न प्रति टेष्ट भुक्तानी प्रणाली लागु गरेको, वेष्ट म्यानेजमेन्ट प्रभावकारी रुपमा सञ्चालन गरेको, ई हाजिरी प्रणाली जडान गरिएको, दुई वटा स्तनपान कक्ष निर्माण, कर्मचारीको प्रोत्साहन भत्ता वृद्धि, बालबालिकाको उपचार सहुलियतका लागि ग्लोबल आईएमई बैंकबाट २७ लाख रुपैयाँ सहयोग जुटाउन पहल गरेकोलगायतका उपलब्धि आफ्नो कार्यकालमा भएको बताएका छ्न ।