२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्थानीयसँगको सामीप्यताले नगर प्रमुखमा चुनाव लड्दैं ३४ वर्षीय युवा डाक्टर

स्थानीयसँगको सामीप्यताले नगर प्रमुखमा चुनाव लड्दैं ३४ वर्षीय युवा डाक्टर

भन्छन्, ‘नगरको विकासका लागि लागि मेरो उम्मेदवारी हो’


काठमाडौं—यतिबेला मुलुकमा स्थानीय तह निर्वाचनको माहौल तातेको छ । अधिकारसम्पन्न स्थानीय तहको अभ्यास सुरु भएसँगै पढेलेखेका युवा पनि आफ्नो गाउँ र नगर विकासका लागि राजनीतिमा होमिएका छन् । जसमा नर्स, चिकित्सक, एचएलगायतका स्वास्थ्यकर्मीहरु पनि छन् ।

हेल्थआवाजले सुरु गरेको ‘स्वास्थ्यकर्मी उम्मेदवार’ स्तम्भमा हामीले पहिलो श्रृखलामा एक युवा चिकित्सकलाई प्रस्तुत गर्दैछौं । रौतहटको वौद्धीमाई नगरपालिकामा जनमत पार्टीबाट मेयरको उम्मेदवार बनेका छन्, डा. सुबन्तकुमार कुशवाहा । रौतहटको वौद्धीमाई—४ बकुंलका स्थानीय वासिन्दा उनी गाउँमै माँ जानकी अस्पताल सञ्चालन गरिरहेका छन् ।

‘गाउँमै अस्पताल खोलेर सेवा गर्दागर्दै स्थानीय जनसमुदायले मेयरमा उम्मेदवार बन्न आग्रह गर्नुभयो,’ हेल्थआवाजसँगको टेलिफोन कुराकानीमा ३४ वर्षीय युवा चिकित्सक डा. सुबन्तले भने, ‘समग्र रुपमा नगरको विकास गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ ।’ २ वर्षअघि मात्रै उनले कोभिड—१९ को पहिलो लहरपछि गाउँमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले माँ जानकी हस्पिटल सञ्चालनमा ल्याएका थिए । त्यसले उनको नगरवासीसँग राम्रो जनसम्पर्क बन्यो । त्यही जनसम्पर्क उनका लागि मेयरको उम्मेदवार बन्ने कारण बनेको हो ।

झण्डै १ करोड लगानीमा उक्त अस्पताल सञ्चालनमा ल्याएपछि नगरवासीले गाउँमै स्वास्थ्य सेवा पाए । जसमा १५ जनाले रोजगारी समेत पाएको डा. सुबन्त बताउँछन् ।

५ वर्ष निःशुल्क उपचारका लागि निःशुल्क स्वास्थ्य बिमा, नगरभित्रका स्वास्थ्य संस्थाको गुणस्तरवृद्धि र सबै सुविधा भएको ५ सय बेडको नयाँ अस्पताल स्थापनालाई उनले स्वास्थ्यको चुनावी एजेण्डा बनाएका छन् ।

त्यसबाहेक शिक्षा, रोजगार, सूचना प्रविधी, औधोगिकीकरण, कृषि, पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, सुरक्षाव्यवस्था, खेलकूदलगायतका कुरालाई पनि उनले आफ्नो चुनावी एजेण्डाका रुपमा अघि सारेका छन् ।

एमबीबीएस पढ्दैदेखि राजनीतिमा

सन् २०१४ मा डा. सुबन्त नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस सके । त्यसपछि उनले एक वर्ष थापाथलीस्थित नर्भिङ अन्तर्राष्ट्रिय अस्पताल, १ वर्ष दोलखा सामुदायिक अस्पताल र एक वर्ष नेपाल भारत मैत्री हस्पिटलमा बिरामी सेवा बिताएका हुन् ।

सन् २०१९ मा भारतको राजस्थान युनिभर्सिटी अफ हेल्थ साइन्सबाट एमपीएचको अध्ययन सकेका उनी युवाहरुले मात्रै नगर र गाउँको विकास तथा रुपान्तरण गर्न सक्ने धारणा राख्छन् । ‘योजनावद्ध र वैज्ञानिक विकासका लागि युवा उर्जा आवश्यक भइसकेको छ,’ उनले भने, ‘त्यसैले हामीजस्ता युवाहरु राजनीतिमा आउन जरुरी छ ।’

डा. सुवन्त नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै थिए । त्यहीबेला उनको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भेट भयो । त्यही भेटपछि उनको राजनीतिप्रति झुकाव बढ्यो ।

जनमत पार्टी औपचारिक रुपमा दर्ता भएपछि उनी पार्टीको भातृ संगठन चिकित्सक जनमत संघका संस्थापक उपाध्यक्ष भए । त्यसपछि भएको जनमत पार्टीको प्रथम राष्ट्रिय अधिवेसनबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित भए ।

स्थानीय तह निर्वाचन—२०७९ मा उनलाई जनमत पार्टीले वौद्धीमाई नगरप्रमुखको उम्मेदवार बनायो । अहिले डा. सुवन्त स्थानीय तहमा आफ्नो प्रचारमा व्यक्त रहेका छन् ।


क्याटेगोरी : अन्य, प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ