२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य५० हजार बढीको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका ‘फिजियोथेरापिष्ट’

५० हजार बढीको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका ‘फिजियोथेरापिष्ट’


नेपालगन्ज—यतिबेला देशैभर स्थानीय तहको निर्वाचनको चहल—पहल बढ्दै गएको छ । विभिन्न पेशा र व्यवसायमा संलग्न ब्यक्तिहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।

यसै क्रममा नेपालगन्ज उप–महानगरपालिकाको वडा नं ३ मा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. पंकज गुप्ताले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

१५ वर्षदेखि शिक्षण अस्पतालमा फिजियोथेरापिष्टको रुपमा कार्यरत डा. गुप्ता मासिक ५० हजारभन्दा बढीको जागिर छाडेर चुनावी मैदानमा उत्रिएका हुन् ।
डाक्टर पंकज भन्छन्, ‘एउटा चिकित्सकको रुपमा मैले नेपालगन्जवासीलाई जे जति सेवा गर्ने हो गरिसके अब एउटा असल जनप्रतिनिधिको रुपमा आफ्नै वडाका जनताको सेवा गर्ने उद्देश्यले चुनावी मैदानमा उत्रिएको छु ।’

त्यसो त डा. पंकजको परिवार नै लामो समयदेखि राजनीतिमा सक्रिय छ । पंकजका बुवा कैलाशनाथ कसौधन गुप्ता नेपाली कांग्रेसबाट जिल्ला विकास समिति बाँकेका उप—सभापति र बाँके क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएर बाकेका जनताको सेवा गरिसकेका छन् । परिवार नै कांग्रेसको राजनीतिमा भएकाले पंकज पनि विद्यार्थी कालदेखि नै नेबिसंघ हुँदै पार्टीका विभिन्न मोर्चाहरुमा सक्रिय थिए ।

वडा नं ३ मा नेपालगन्जको त्रिबेणीमोडदेखि त्रिभुवनचोकसम्मको मुख्य मुख्य सहरी क्षेत्रका साथै भित्रै बस्तीहरु पर्छन् । ३ हजार ८० मतदाता रहेको वडा नं ३ मा मुस्लिम समुदायको बाहुल्यता छ ।

सहरी क्षेत्र मै पर्ने भएपनि स्वास्थ्य शिक्षा र सरसफाइका दृष्टिले वडावासीहरु अझै पनि पछाडि छन् ।

वडामा सहरी स्वास्थ्य केन्द्र त छ तर दक्ष जनशक्ति र साधन स्रोतको अभाव छ । सरकारी विद्यालय र मदरसाको शैक्षिक गुणस्तरको अवस्था निक्कै नाजुक छ । भित्री बस्तीहरुका ढल निकास र ससफाइको व्यवस्थित छैन । पंकजले स्वास्थ्य, शिक्षा र सरसफाइको अवस्थामा सुधार गरेर आफ्नो वडालाई नमुना वडा बनाउने एजेन्डा बोकेर मतदाताका बीचमा पुगेका छन् ।

सहरी स्वास्थ्य केन्द्रमा एमबीबीएस तहको चिकित्सक र प्रयोगशालाको ब्यवस्था गरेर आधारभूत तहको स्वास्थ्य सुविधा सहजै वडावासीमा पु¥याउने उनको योजना छ ।

त्यसैगरी वडामा रहेका मुस्लिम समुदायका बालबालिकाले पढ्ने मदरसा स्कुललाई ब्यवस्थित गरेर मदरसामा पनि गुणस्तरीय शैक्षिक संस्था बनाउने उनको दोस्रो एजेन्डा छ । गरिब तथा जेहेन्दार मुस्लिम र मधेशी समुदायका छोरीहरुलाई कक्षा १२ सम्म निःशुल्क पठनपाठनको ब्यवस्था योजना बनाएका छन् ।

भित्री साधुरो बाटो भएका बस्तीहरुमा ढल निकास र सरसफाइलाई ब्यवस्थित गर्ने र हरियाली बढाउनेको उनको तेस्रो एजेन्डा छ । जनप्रतिनिधि भएर पैसा कमाउनभन्दा पनि जनताको सेवा गर्ने उद्देश्यले खाइपाइ आएको जागिर छाडेर चुनावी मैदानका उत्रिएको उनले बताए । वडा सदस्यका उम्मेदबारका साथ मतदाताको जाँदा पाएको राम्रो रेस्पोन्सले निककै उत्साहित भएको डा. पंकजले बताए ।


क्याटेगोरी : अन्य, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ