२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘पालिकावासीको स्वास्थ्यप्रति अति संवेदनशील छौं’

‘पालिकावासीको स्वास्थ्यप्रति अति संवेदनशील छौं’


बागलुङ जिल्लाका साविकका धुल्लुबाँस्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गाविस समावेस गरेर गठन गरिएको वरेङ गाउँपालिकामा हाल ५ वडाहरु छन् । साविकका ५ गाविसलाई नै वडा कायम गरिएको हो । गाउँपालिकाको वडा नम्बर १ र २ को सीमानामा रहेको वरेङ बजारको नामबाट नै गाउँपालिकाको नामकरण गरिएको छ । गाउँपालिकाको पूर्वमा बागलुङ जिल्लाकै जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका पर्दछन् । यस वरेङ गाउँपालिकाको केन्द्र साबिकको हुग्दीशिर गाविसको कार्यालय रहेको सुदला फाँटमा छ । सोही गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनसँग गाउँपालिकाको स्वास्थ्य अवस्थाबारे गरिएको कुराकानीको सम्पादित अंशः

गाउँपालिकाका ५ वटै वडामा स्वास्थ्य चौकी स्थापना गरिसकिएको छ । ४ वटा वडामा स्वास्थ्य पहुँच बढाउन स्वास्थ्य इकाईसमेत स्थापना गरिएको छ । वडा नं. ४ को थप्लुङमा स्वास्थ्य इकाई सञ्चालनको तयारी भइरहेको छ । अब केही दिनभित्रै शुभारम्भ हुन्छ । बागलुङ बजारसम्म पुग्न ३ देखि ५ घन्टासम्म लाग्ने अवस्था छ । वर्षामा सवारी सञ्चालनमा समस्या हुन्छ । गाउँपालिकाले आफ्नै एम्बुलेन्स चलाउन सकेको छैन । बिहानी बहुद्देश्यीय सहकारी संस्थाले एउटा एम्बुलेन्स चलाएको छ, त्यसैबाट सुविधा उपलब्ध भइरहेको छ । आर्थिक विपन्नहरुको हकमा उपचार गराउन बागलुङ, पोखरा जानुपर्ने बिरामीलाई खर्चसमेत गाउँपालिकाले व्यवस्थापन गरिदिने गरेको छ ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी स्वास्थ्य जाँच शिविर, आयुर्वेदिक औषधी प्रयोग र वितरणमा जोड दिएका छौं । हाम्रो क्षेत्रमा आयुर्वेदिक औषधालय नभए पनि म्याग्दी जिल्लासँग समन्वय गरी काम गरेका हौं । यसले पालिकावासीलाई स्वास्थ्य सेवाको पहुँच बढाउन सहज बनाएको महसुस गरेका छौं । भर्खरैमात्र पनि हामीले आँखा शिविर राखेका थियौं । शिविर निरन्तर रुपमा सञ्चालन गरी सुविधा दिने लक्ष्य लिएका छौं ।

स्वास्थ्य सेवामा जनताको पहुँच पु¥याउने उद्देश्यले सामुदायिक औषधी कार्यक्रम सुरु गरिएको छ । यो अहिले वडा नम्बर ५ सुखौरा स्वास्थ्य चौकीमा सुरु गरिएको भएपनि पछि अन्य वडामा पनि विस्तार गर्ने लक्ष्य लिएका छौं । वडा नम्बर ५ मा अन्य मेडिकल वा औषधी पसल पनि छैनन् र नजिकको बजारसम्म पुगेर २ सयको औषधी ल्याउनुप¥यो भने पनि १ हजार थप खर्च लाग्ने अवस्था छ । त्यसैमाथि वृद्धवृद्धाहरुलाई झन्झट र कठिनाइ । सरकारले निःशुल्क वितरण गर्ने भनेको ३८ प्रकारका औषधीबाहेक अन्य दीर्घ रोग लागेका सुगर, प्रेसरजस्ता रोगका औषधी सामुदायिक औषधी कार्यक्रममा उपलब्ध गराउने उद्देश्य लिएका छौं । पालिकावासीले बजार मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा औषधी प्राप्त गर्नेछन्, त्यो पनि आफ्नै गाउँमा ।

स्थानीयको सक्रियता र अपनत्व हुने भएकाले कार्यक्रम सफल हुनेमा ढुक्क छौं । हाल १ लाख बराबरको औषधी सुखौरा स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएका छौं । ६०/६५ प्रकारका औषधी अब सुखौरामै लिन पाइन्छ । यसपछि जुन औषधीको माग बढी हुन्छ, त्यहीअनुसार खरिद गरिनेछ । केही निःशुल्क र केही पैसा तिर्नुपर्दा पालिकावासीमा भ्रम हुन सक्छ । यस्तो भ्रम हटाउन महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहन्छ ।

हामीले बालबालिका, महिला र ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति विशेष चासो राखेर सबैजसो क्षेत्रमा प्रयास थालेका छौं । तर, पर्याप्त कतै पनि हुन सकेको छैन । जटिल खालका सिकिस्त बिरामी, दुर्घटनाका घाइते र सुत्केरीलाई हेलिकोप्टर उद्धार गर्ने गरिएको छ ।

बरेङको ५ नम्बर वडामा बर्थिङ सेन्टर व्यवस्थापन हुन सकेको छैन, अरु सबैमा छन् । हाम्रो भौगोलिक अवस्थाले स्रोत साधन अत्याधिक कम छ । बालबालिका, महिला, सुत्केरी आमाका क्षेत्रमा सबै काम थालनी भएपनि आर्थिक अभावले पूर्णता दिन सकिएको छैन । नवजात शिशु स्याहारका लागि आवश्यक सामग्री व्यवस्थापनमा हाम्रो ध्यान भएपनि बजेटका कारण ल्याउन सकेका छैनौं ।

स्वास्थ्य चौकीहरुमा आवश्यक संख्यामा जनशक्ति व्यवस्थापन हुन सकेको छैन । दरबन्दीसहित विशेषज्ञ डाक्टर माग गरिरहेका छौं । कति सम्भव हुन्छ, अहिले ५/६ वटा भएको दरबन्दीमा अहेव, अनमी करारमा राखेर काम गरिरहेको अवस्था हो । योजना बनाउन बजेटको आवश्यकता पर्ने र बजेट व्यवस्थापनमा समस्या भएकाले हामीले सोचेजस्तो काम गर्न सकेनौं कि भन्ने लाग्छ ।

प्रस्तुति : सुनील सापकोटा/हेल्थ आवाज


क्याटेगोरी : गण्डकी प्रदेश, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ