२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ऐंठन? कसरी बच्ने यसबाट

डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ऐंठन? कसरी बच्ने यसबाट


हामी निन्द्रामा रहँदा कुनै–कुनै बेला आफ्नो शरीरमा केही वस्तुले थिचेको जस्तो अथवा गह्रौ वस्तु हाम्रो शरीरमाथि भएको जस्तो भान हुन्छ । नेपाली समाजमा ऐंठन भनिने यस समस्यालाई चिकित्सा क्षेत्रमा ‘स्लिपिङ प्यारालाइसिस’ भनिन्छ । ‘स्लिपिङ प्यारालाइसिस’ अर्थात् सुतेको समयमा हुने प्यारालाइसिस । यस समयमा हामीलाई हरेक कुरा याद रहेतापनि शरीरलाई यताउता चलाउन भने सक्दैनौ ।

अर्काे शब्दमा भन्ने हो भने ‘स्लिपिङ प्यारालाइसिस’ भन्नाले व्यक्ति बौद्धिक रुपमा सक्रिय हुँदाहुँदै पनि व्यक्ति एक ठाउँबाट अन्य ठाउँमा चल्न वा सर्न नसक्ने अवस्थालाई जनाउँछ । यस्ता समस्या व्यक्ति राम्ररी वा पूर्ण रुपमा निदाउन नसकेको अवस्थामा देखा पर्छ । यस समयमा व्यक्ति केहि क्षणिक समयको निम्ति बोल्न पनि नसक्ने अवस्थाबाट गुज्रिनुका साथसाथै अधिकांशमा निस्सासिने समस्या पनि देखा पर्छ ।

ऐंठनका कारण

‘स्लिपिङ प्यारालाइसिस’ रोग विशेष नभएर व्यक्तिमा देखा पर्ने एक शारीरिक समस्या हो । यो व्यक्तिमा प्रायजसोः निन्द्राको गडबडी वा सुताइसँग सम्बन्धित विभिन्न कारणवस देखा पर्दछ । तर, केही थोरै व्यक्तिमा भने यो मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेकाले पनि देखा पर्ने गरेको पाइन्छ । यसबाहेक यस समस्या देखा पर्ने कारणलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छः

  • पर्याप्त निन्द्राको कमी
  • सुत्ने समयतालिकाको फरक
  • मानसिक अवस्था (चिन्ता वा तनावयुक्त अवस्था)
  • उत्तानो परेर सुत्नु
  • सुतेको समयमा खुट्टा बाउँडिनु
  • डरलाग्दो सपना
  • विभिन्न औषधिको प्रयोग
  • दुर्व्यसनी

उपचार तथा बच्ने उपाय

स्लिपिङ प्यारालाइसिस कुनै–कुनै समयमा व्यक्तिमा देखा पर्ने शारीरिक समस्या हो । व्यक्तिमा यो समस्या क्षणिक रुपमा मात्रै देखिने भएकोले यसले स्वास्थ्यमा खासै ठूलो प्रभाव पार्दैन । तर, कुनै पनि व्यक्ति यस्तो समस्याबाट आजित छ भने सो व्यक्तिले आफू सुत्ने समय तालिकालाई नियमित रुपमा अवलम्बन गर्न जरुरी देखिन्छ । यसका साथै व्यक्तिले सुतेको समयमा व्यक्तिमा यस्ता समस्या देखा परे आफ्नो सुताइको आशन परिवर्तन गरेर सुत्नुपर्छ ।

राम्ररी निन्द्रा नपुगेको कारण पनि व्यक्तिमा यस्ता समस्या देखापर्छ । सुत्ने समयमा निन्द्रा भंग गर्ने कुनै बाहिरी अवरोधहरु छन् भने त्यसले पनि निन्द्रालाई डिस्टर्ब गर्छ । त्यसैले हामीले हाम्रो सुत्ने ओछ्यान वरपर त्यस्ता केही अवरोधहरु छन्, कि छैनन् भन्ने विषयमा ध्यान पु¥याउनु जरुरी देखिन्छ ।

तर, कतिपय व्यक्तिमा यो मानसिक समस्याको कारण पनि देखा पर्ने भएकोले यसले झन् जोखिम निम्याउन सक्ने डर हुन्छ । त्यस्तो अवस्थामा भने एक पटक सम्बन्धित चिकित्सकलाई देखाउनु उचित रहन्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ