२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइल२१ वर्ष पुरानो अस्पताल हाँकिरहेका युवा डा. पेम्बा, जो अस्पतालको काँचुली फेर्न काम गरिरहेका छन्

२१ वर्ष पुरानो अस्पताल हाँकिरहेका युवा डा. पेम्बा, जो अस्पतालको काँचुली फेर्न काम गरिरहेका छन्


डा. पेम्बा लामाले वौद्धस्थित २१ वर्ष पुरानो स्तुपा सामुदायिक अस्पतालको मेडिकल निर्देशकका रुपमा नेतृत्व सम्हालिरहेका छन् । ५५ शैय्याको यो अस्पताल ६ महिनादेखि एक वर्षभित्र अत्याधुनिक अस्पतालका रुपमा मुहार फेर्ने तयारी गरिरहेको छ । अस्पतालमा चिकित्सक, नर्स र कर्मचारीसहित झण्डै १ सय बढी कर्मचारी कार्यरत छन् । डा. पेम्बाको जिम्मेवारी अस्पतालका कर्मचारी खटनपटनदेखि बिरामीको उपचार र शल्यक्रियासम्म पर्छ । उनी आफै अर्थोपेडिक सर्जन भएकाले हाटखुट्टाका शल्यक्रियाहरु गरिरहेका हुन्छन् ।

अस्पतालले डा. पेम्बाको नेतृत्वमा सामान्यदेखि विशिष्ट सेवा दिइरहेको छ । अर्थो सर्जरी, पेटसम्बन्धि उपचार, ग्यास्ट्रोलोजी, गाइनोलोजी, नाक, कान र घाँटीको उपचार, कार्डियोलोजी सम्बन्धित उपचार, पेडियाट्रिकलगायतका सबै सेवा स्तुपा अस्पतालमा उपलब्ध रहेको उनी बताउँछन् । ‘यहाँ ओपन सर्जरी सबै हुन्छन् । अर्थो प्लास्टिकको सेवा छ,’ उनी भन्छन्, ‘अन्य अस्पतालभन्दा सस्तो सुलभ मुल्यमा उपचार हुन्छ ।’ अस्पतालमा ४ जना फुलटाइम कन्सल्ट्यान्ट र १८ जना पार्टटाइम कन्सल्ट्यान्ट चिकित्सकले बिरामीलाई सेवा दिइरहेका छन् ।

सेवा र व्यवस्थापन दुवैमा आफ्नो अनुभव खर्चिरहेका डा. पेम्बाको जन्म वि.सं. २०३८ सालमा दोलखाको स्यामा–४ मा भएको हो । बुवा पासाङ दोर्जे लामा र आमा तेम शेर्पा ५ जना सन्तानमध्ये उनी कान्छा छोरा हुन् । पासाङ दोर्जे आफ्नै कन्स्ट्रक्सन कम्पनी चलाउँथे । त्यसबाट राम्रो पैसा समेत कमाउँथे । जसका कारण उनले आफ्ना पाँचै जना सन्तानलाई राम्रो शिक्षादीक्षा दिए । राम्रा स्कुलहरुमा पढाए ।

डा. पेम्बाको प्रारम्भिक शिक्षा चुच्चेपाटीस्थित बाबा बोर्डिङ स्कुलमा भएको हो । उनले त्यहीबाट वि.सं. २०५३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनलाई थप उच्च शिक्षाका लागि भारतको नयाँदिल्लीस्थित सीएस क्याम्पस पठाइयो । त्यहाँबाट उनले कक्षा १२ सम्मको अध्ययन पूरा गरे ।

उनका दाजुहरु इन्जिनियर थिए । त्यसैले उनका बुवालाई कान्छा छोरा डाक्टर बनिदेओस् भन्ने थियो । बुवाको त्यही चाहना र आफ्नो पनि रुचिका कारण पेम्बा डाक्टर बन्न चाहन्थे । त्यसैले उनले प्लस टु सकेपछि एमबीबीएसका लागि इन्ट्रान्स दिए । इन्ट्रान्समा नाम निस्किएपछि उनले काठमाडौं मेडिकल कलेजमा सन् १९९९ मा एमबीबीएस अध्ययन सुरु गरे । सन् २००४ मा उनले एमबीबीएस उत्तीर्ण गरे । एक वर्ष इन्टर्नसीपसमेत गरेर उनले सन् २००५ मा एमबीबीएस अध्ययन पूर्ण गरे ।

एमबीबीएस अध्ययन सकेपछि उनले डेढ वर्ष काठमाडौं मेडिकल कलेजमा मेडिकल अधिकृतका रुपमा काम गरे । त्यसपछि अमेरिकामा गएर ८ महिना जति एक अस्पतालमा कम गरे । त्यहाँ म्याचिङ नभएपछि उनी स्वदेशमै फर्किए । नेपालमा काम गरेपछि उनलाई विशेषज्ञता हासिल गर्नु थियो । त्यसका लागि उनले विभिन्न ठाउँमा अवसर हेर्न थाले ।

त्यही क्रममा सन् २०११ को जनवरीमा फिलिपिन्स अर्थोपेडिक्स सर्जरी पढ्ने अवसर पाए । सन् २०१४ मा उनी अर्थोपेडिक्स सर्जरीमा एमडी सकेर स्वदेश फर्किए । नेपाल फर्केपछि उनी सन् २०१५ मा स्तुपा सामुदायिक अस्पतालमा अर्थोपेडिक सर्जनका रुपमा काम गर्न थाले । सन् २०१६ मा इन्डियाको अपोलो अस्पतालमा फेलोसीप गर्न गए । त्यहाँबाट ३ महिना अर्थोप्लास्टिक सर्जरी फेलोसीप गरेपछि उनी स्वदेश फर्किए ।

‘एमडी पासआउट हुने बित्तिकै म यहाँ (स्तुपा अस्पताल)मा आवद्ध भए । त्यसपछि फेलोसिपको लागि सन् २०१६ मा भारत गएको हो,’ डा. पेम्बा भन्छन् । सुरुमा उनी स्तुपा सामुदायिक अस्पतालमा कन्सलट्यान्टका रुपमा पार्टटाइमको काम गर्थे । त्यतिबेला स्तुपासँगै उनी पिपुल्स अस्पताल र क्यापिटल गरेर ३ वटा अस्पतालमा काम गर्दथे । तर, विगत डेढ वर्षअघि स्तुपा सामुदायिक अस्पतालको मेडिकल निर्देशक भए । त्यसयता भने उनी स्तुपा सामुदायिक अस्पतालमा फुलटाइम काम गर्छन् ।

अस्पताल निर्देशकका रुपमा डा. पेम्बा स्तुपा अस्पताललाई अपग्रेड गर्ने मेरो योजनामा हिडिरहेका छन् । ‘सय बेडको अस्पताल बनाउने हाम्रो तयारी थियो,’ उनले आफ्नो योजना सुनाए, ‘त्यसलगतै कोभिड–महामारी आयो । त्यसपछि विद्यार्थीबाट पैसा उठाउन र भर्ना हुने संख्या कम हुँदै गयो । जसका कारण आर्थिक अभाव भयो ।’ यसका कारण स्तुपा अस्पतालको चुच्चेपाटीमा निर्माण भइरहेको भौतिक संरचना निर्माणमा ढिलाइ भयो । त्यसबाहेक ठेकेदारले पनि बदमासी गरेपछि अहिलेसम्म नयाँ भवनबाट सेवा दिइसक्ने स्तुपा अस्पतालको योजना एक वर्षदेखि ६ महिनापछि धकेलिएको उनले बताए ।

‘हामीले भवन निर्माण गर्दै थियौं । तर, हामीले जसलाई भवन निर्माणका लागि जुन ठेकदार लिएका थियौं उसले धोका दियो, ढिला ग¥यो,’ उनले भने, ‘अहिले काम धमाधम भइरहेको छ । लिफ्ट हाल्ने काम जारी छ ।’ त्यो ७ तले भवनबाट अत्याधुनिक भवनबाट सेवा दिन थालेपछि अस्पतालको शैय्या वृद्धि गरेर १ सय ५० पु¥याउने लक्ष्य व्यवस्थापनको छ । त्यसबाहेक १० बेडको आईसीयु, ६ बेडको एनआईसीयु, १० बेडको डेडिकेटेड इमर्जेन्सीका साथै आफ्नै अक्सिजन प्लान्ट पनि हुनेछ ।

व्यवस्थापक र डाक्टरमा रुपमा कस्तो अनुभव भइरहेको छ त ? ‘डाक्टर एकहोरो हिडिराख्नुपर्ने हुन्छ । बिरामीको फ्लोअप गर्दै उपचार गर्नुपर्ने हुन्छ,’ डा. पेम्बा आफ्नो अनुभव साटछन्, ‘तर, व्यवस्थापनमा भने चुनौती हुने रहेछ । म यो फिल्डबाट आएको हैन । कर्मचारीको चुनौती र मागका कुरा हुन्छ । हामी सिधा सोच्ने गर्छौं । तर, हामीले सबैको भावना बुझ्नुपर्ने हुन्छ ।’ उनी आफै पनि पहिले कर्मचारीकै रुपमा काम गरेकाले उनले कर्मचारीका समस्यालाई नजिकबाट बुझेका छन् । त्यही बुझाइअनुसार कर्मचारीको सन्तुष्टिलाई समेत ख्याल गरेर अगाडि बढिरहेको उनी बताउँछन् । ‘कर्मचारीको आधारभूत आवश्यकताको ख्याल राख्दैं अघि गैरहेको छौँ । कर्मचारीको स्वास्थ्य बीमा, उपदानको व्यवस्था पनि यस वर्षबाट भएको छ,’ यी व्यवस्थापक डाक्टरले भने, ‘अहिलेको व्यवस्थापनप्रति कर्मचारी खुसी देखिन्छन् ।’

फुर्सदबाहेकको उनको समय परिवारसँग बित्छ । त्यसबाहेक उनी वर्षैपिच्छे ट्रेकिङमा निस्कन्छन् । ‘मलाई ट्रेकिङ्ग निकै मनपर्छ,’ उनले भने, ‘रारा र से–फोक्सुन्डो जान मन छ ।’

यो पनि पढ्नुस्

२१ वर्षपछि मुहार फेर्दै स्तुपा सामुदायिक अस्पताल, चुच्चेपाटीमा ७ तले अत्याधुनिक भवन बन्दैं


क्याटेगोरी : प्रोफाइल
ट्याग : #काठमाडौ मेडिकल कलेज, #डा. पेम्बा लामा, #बाबा बोर्डिङ स्कुल, #मेडिकल निर्देशक, #स्तुपा सामुदायिक अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ