२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २तेस्रो मुुलुकबाट आउनेमा कोरोना संक्रमण बढ्दै, सप्तरीमा सेनाको सहयोगमा ७५ वेडको आइसोलेसन व्यवस्थापन

तेस्रो मुुलुकबाट आउनेमा कोरोना संक्रमण बढ्दै, सप्तरीमा सेनाको सहयोगमा ७५ वेडको आइसोलेसन व्यवस्थापन


जनकपुर – कोरोना भाइरसको कारणले संसार नै त्रसित बनेको बेला सप्तरीमा भारतको तुलनामा खाडी मुलुकबाट आउनेहरुमा संक्रमण बढ्दै गएको छ । सप्तरीमा पछिल्लो १५ दिनको अवधिमा भारतबाहेक तेश्रो मुलुकबाट घर फर्किनेहरु मध्येबाट २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

रोजगारीको सिलसिलामा कतार, मलेशिया, कुवेत, बहराइन लगायतका देशहरुमा रहेकाहरु हालै हवाई मार्ग प्रयोग गरी काठमाडौं हुँदै गृह जिल्ला आइपुगे पछि गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल राजविराजस्थित साइकृष्णा अस्पतालको आइसोलेसन कक्षमा १ सय ५४ जना कोरोना संक्रमितहरु उपचार गराइरहेका छन् । जसमध्ये १ सय २९ जना भारतका र १५ दिनको अवधीमा तेश्रो मुलुकबाट फर्किएकाहरु मध्येबाट २५ जना संक्रमितहरु उपचार्थ छन्।

१५ दिनको अवधिमा तेश्रो मुलुकबाट फर्किएका मध्येबाट २५ जनामा पोजेटिभ देखिनु गम्भिर विषय भएको भन्दै स्वास्थ्य प्रमुख यादवले सम्बन्धित देशले फिर्ता पठाउँदा परीक्षण नगर्नु र काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा समेत भरपर्दाै जाँच हुन नसक्दा जिल्लामा चुनौती थपिएको बताए ।

आइसोलेसन वेडको अभावमा कोभिड–१९ का संक्रमित राख्न समस्या भइरहेको बेला नेपाली सेनाले थप ७५ आईसोलेसन बेडको ब्यवस्थापन गरेको छ । नेपाली सेनाको भिमदल गणबाट खटिएको प्राविधिक सहितको २५ सदस्यीय टोलीले लगातार ५ दिनको प्रयासमा थप ७५ बेडको व्यवस्थापन गरेको हो ।

जिल्लाकै एकमात्र आइसोलेशन वार्ड बनाइएको राजविराजस्थित साईकृष्णा अस्पतालमा यस अघि प्रदेश सरकारको सहयोग तथा सेनाको प्राविधीक टोलीको श्रमदानबाट १ सय ३ वेडको सुविधा सम्पन्न आईसोलेशन कक्ष निर्माण गरिएको थियो । तर संक्रमितको संख्या बढ्दै गई बेडको अभाव भएपछि सेनाले थप ७५ वटा आइसोलेशन वेड तयार गरेको भीमदल गणका प्रमुख सेनानी गुप्त वहादुर कुवँरले वताए ।

सप्तरीमा हालसम्ममा कोरोना संक्रमितको कुल संख्या ३ सय ३० पुगेको छ । जसमध्ये १ सय ७६ जना निको भई घर फर्किसकेका छन भने १ सय ५४ जना संक्रमित अझैं उपचारको क्रममा छन् ।

खुल्ला सिमानाका कारण छिमेकि मुलुक भारतबाट सर्वसाधारणहरु आवत जावत गर्न थालेपछि कोरोना पोजेटिभका बिरामिहरुको संख्यामा बृद्धि भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ