२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २राजविराजमा डाक्टरकाे लापरवाहीले नवजात शिशुकाे मृत्यु भएको आरोप, छानविन गर्न परिवारकाे माग

राजविराजमा डाक्टरकाे लापरवाहीले नवजात शिशुकाे मृत्यु भएको आरोप, छानविन गर्न परिवारकाे माग


जनकपुर –  सप्तरीमा एक नवजात शिशुको अस्पताल र डाक्टरका लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कारवाहीका लागि माग गरेको छ । सप्तरीकाे राजविराज नगरपालिका वडा नं. ५ की २९ वर्षीया मौसमी सरकारको असोज ३० गते शुक्रबारका दिन गजेन्द्र नारायण सिंह अस्पतालमा सफल शल्यक्रिया गरी प्रसुति गराइएको थियो ।

उनले ३२ सय ग्रामको शिशुलाई जन्म दिएकी थिइन् । तर, अस्पतालमा एकपटक पनि बाल रोग विशेषज्ञ नआउँदा शिशुको मृत्यु भएको भन्दै परिवारले छानविनका लागि नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत गरेको छ । डा. उषा देव र डा दिलिप साह र उनका सहयोगी स्टाफ नर्सहरुको टोलीले शिशुको जन्म भएपनि अस्पतालको अप्रेशन कक्षमा बाल रोग विशेषज्ञले चेकजाँच नगरेको परिवारको आरोप छ ।

मृत्यु भएका शिशुका बुबा पंकज कुमार सरकारले भने, ‘आमाको दुध नआउने, बच्चा रुने, शरीर काम्ने जस्तो समस्या देखिएपछि नर्सलाई जानकारी गराएको र उनले बच्चा भोकले रुदैछ भनेर जवाफ फर्काएको भन्दै नर्सकै सल्लाहमा बच्चालाई ल्याक्टोजिन दिन थालेको थियौं । तरपनि बच्चा जन्मिएपछि एकपटक पनि बाल रोग विशेषज्ञ हेर्न आएनन् ।’

सरकारले बच्चाको डाक्टरलाई बोलाइदिनुस् भनेर आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको भन्दै कात्तिक १ गते शनिबारका दिन राति साढे १० बजे बच्चा रुने, जिउँ तातो हुने र नर्सले पनि झर्केर बोल्दै फर्काएको बताए । सरकारले थपे, ‘कात्तिक २ गते आईतबार बिहान ३ बजे बच्चा झन् बढी रुन थालेपछि उसको अवस्थापनि कमजोर हुँदै गएको देखेर नर्सलाई भन्न जाँदा कोहीपनि नआएको र अस्पतालमा डाक्टर पनि उपस्थित नहुँदा म आत्तिए ।’

सरकारका अनुसार फोनमा एक जना डाक्टरसँग सम्पर्क हुँदा आफू अस्पतालमा नभएको बताए । अर्का डाक्टर ललन रौनियारसँग कुरा हुँदा उनले बच्चा बाहिर लिएर जानु पर्छ भनेर जवाफ दिएका थिए । डा. रौनियारसँग कुराकानी र अस्पतालमा नर्सलाई खोज्न जाँदा सम्म ढिलो भइसकेको भन्दै सरकारले धरान रेफर गरेपछि बाटोमै छोराको मृत्यु भइसकेको बताए ।

उनले धरान पुगेपछि डाक्टरले बच्चाको आधा घन्टा पहिले नै बाटोमै मृत्यु भइसकेको जानकारी गराएको बताए । अस्पतालको लापरवाहीकै कारण आफ्नो बच्चाको मृत्यु भएको भन्दै सरकारले घटनाबारे छानविका लागि अस्पताल प्रशासनलाई पनि आग्रह गरेका छन् । उनले अस्पतालको अव्यवस्थित वातावरण र डाक्टरको लापरबाहीका कारण आफ्नो छोराको मृत्यु भएको आरोप लगाएका छन् ।

यता, अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. रञ्जीत झाले ७२ घन्टाको समय माग गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइएने आश्वासन दिएका छन् । घटनाबारे विस्तुत बुझेर सत्यतथ्य छानबिन गरिने पनि डा झाले बताएको मृतक शिशुका बुबा सरकारले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ