२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ को ८ वटै जिल्लामा एकैसाथ खोप अभियानको तयारी

प्रदेश २ को ८ वटै जिल्लामा एकैसाथ खोप अभियानको तयारी


धनुषा – प्रदेश २ सरकारले प्रदेशको आठवटै जिल्लामा एकसाथ खोप अभियानको शुभारम्भ गर्ने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा जनकपुरस्थित  सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते देखि आठवटै जिल्लाको सदरमुकामस्थित खोप अभियान सुरु गर्ने निर्णय भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले बताए ।

छिमेकी मुलुक भारतले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप मध्ये प्रदेश २ सरकारको भागमा ३४ हजार ८ सय ४ डोज खोप परेको छ । संघिय सरकारले प्रदेश सरकार समाजिक विकास मन्त्रालयमार्फत आइतबार खोप पठाएको जानकारी गराएको हो ।

संघिय सरकारले प्रदेश २ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना विज्ञलाई समेत पठाएको उनले बताए । खोप अभियानको शुभारम्भ गर्न मुख्यमन्त्री राउतले वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजबाट शुभारम्भ गर्ने निर्देशक झाले जानकारी दिए  ।

सप्तरी र सिरहामा लगाइने खोप विराटनगरमा र  धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा लगाइने खोप हेटौंडामा स्टोर गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भोलीसम्म सबै खोप आठवटै जिल्लामा पठाउने योजना रहेको बताए ।

कुन जिल्लाको भागमा कति खोप डोज ?

प्रदेश २ सरकारले सबभन्दा बढि धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइने वताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ