२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटविराट मेडिकल कलेजमा पिसिएल प्रविधीबाट शल्यक्रिया

विराट मेडिकल कलेजमा पिसिएल प्रविधीबाट शल्यक्रिया


विराटनगर—विराटनगरस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ प्रविधिबाट पहिलो पटक पोस्टेरियर क्रुसिएट लिगामेन्ट (पिसिएल) रिकन्स्ट्रक्सनको सर्जरी भएको छ । अस्पतालका वरिष्ठ ट्रमा, स्पोर्ट्स र ज्वाइन्ट रिप्लेसमेन्ट सर्जन डा. विभूतिनाथ मिश्रसहितको टोलीले विराटनगरमा पहिलोपटक ५३ वर्षीया बिरामीको सफल पोस्टेरियर क्रुसिएट लिगामेन्ट (पिसिएल) रिकन्स्ट्रक्सन गरेका हुन् ।

घुँडा खुस्केको (डिस्लोकेटेड नी), घुँडाभित्र भएको नसा चुँडिएको (पोस्टेरियर क्रुसिएट लिगामेन्ट) र कुर्कुरे हड्डी (मेडिकल मेनिस्कस)समेत च्यातिएको बिरामीको गत साता सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएको चार दिनमा बिरामीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यो सर्जरी निकै जटिल हुने कारण प्रायःजसो निकै कम गर्ने गरिन्छ । काठमाडौंबाहेक यो शल्यक्रिया खासै अन्य ठाउँमा गरिँदैन् ।

४० वर्षको उमेरसम्म मानिसमा यो सर्जरी गर्न सर्जनलाई केही सजिलो हुन्छ । तर, उमेर बढेसँगै हड्डी खिइने प्रक्रिया बढ्दै जाने हुँदा जोर्नीमा खाली ठाउँ कम हुन्छ । जसकारण दूरबिनबाट यस प्रकारको सर्जरी गर्न गाह्रो र जटिल हुन्छ । वरिष्ठ सर्जन मिश्रकाअनुसार अर्थाेस्कोपी प्रविधिबाट गरिने शल्यक्रियामा सुरुमा घुँडामा सानो प्वाल बनाएर घुँडाको नसा (पेरोनियस लङ्गस) निकालिन्छ ।

‘दूरबिनको प्रयोग गर्दै घुँडाको च्यातिएको भागलाई सफा गरेर घुँडामा अगाडि र पछाडिबाट स–सानो प्वाल बनाएर क्यामरा र शल्यक्रियाका लागि चाहिने उपकरणको सहयोगले सोहीअनुसार उपचार गरिन्छ,’ वरिष्ठ सर्जन मिश्रले भने, ‘शल्यक्रियाको क्रममा च्यातिएको कुर्करे हाडलाई सफा गर्नुका साथै बिरामीकै शरीरको नसाको प्रयोग गरेर च्यातिएको पोस्टेरियर क्रुसिएट लिगामेन्ट नयाँ बनाइदिने गरिन्छ ।’

शल्यक्रिया गरेपछि तुरुन्तै एमआरआई पनि गर्न सकिन्छ । प्रायः स्टिल हालेको मानिसले एमआरआई गर्न नहुने र एकपटक स्टिल हालेपछि पुनः शल्यक्रिया गरेर झिक्नुपर्ने बताइन्छ । तर, नयाँ प्रविधिबाट बायो एब्जोरेबल स्टिलको प्रयोग गरिएको हुँदा पुनः शल्यक्रिया गरेर स्टिल हटाउनु नपर्ने र एमआरआई पनि गर्न सकिने डा. मिश्रले बताए ।

बिमा कार्यक्रम, विरामीलाई राहत

हस्पिटलमा बिमा कार्यक्रम सुरू भएपछि विरामीलाई राहत मिलेको छ । बिमा कार्यक्रममार्फत उपचार सेवा सुरू भएपछि बिरामीलाई सहज भएको हो । आर्थिक अवस्था नाजुक भएको परिवारको उपचारको लागि बिमा कार्यक्रम राहत मिलेको बिरामीका आफन्तहरूले बताएका छन् ।

जटिल प्रकारको शल्यक्रियामा चाहिने र प्रयोग हुने उपकरणहरू एकदम महंगो हुन्छ । तर, विराट मेडिकल कलेजमा रहेको सुविधासम्पन्न र उच्च प्रविधियुक्त शल्यक्रिया कक्षमा गरिने जटिल प्रकारको शल्यक्रिया सर्वसाधारणको पहुँचमा छ । अन्यतिर दुईदेखि तीन लाख पर्ने शल्यक्रियालाई अस्पतालमा एकदेखि सवा लाखमा गर्दै आएको अस्पतालले जनाएको छ ।

यस प्रकारको शल्यक्रिया स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पनि गरिन्छ । तर, उक्त बिरामीको बिमा नभएका कारण शल्यक्रियाको शुल्क लाग्न गएको डा. मिश्रको भनाइ छ । विराट शिक्षण अस्पतालमा शल्यक्रिया स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत गरिएपनि यसमा प्रयोग हुने उपकरण महंगो र विदेशबाट ल्याउनुपर्ने भएकाले बिमा भएपनि लगभग ५० देखि ६० हजारको शुल्क लाग्ने उनी बताउँछन् ।

‘बिमाअन्तर्गत पर्ने हुँदा शल्यक्रिया निःशुल्क गरेजस्तो नै हो,’ उनले भने, ‘यसबाहेक बिमामा नपर्ने र शल्यक्रियामा प्रयोग हुने केही सामग्री तथा औषधि बिरामीले आफैँ किन्नुपर्ने हुन्छ । यसमा पनि ५० देखि ६० हजारसम्म मात्र खर्च हुन्छ ।’ अस्पतालमा घुँडा, कुम तथा गोली गाँठोको शल्यक्रिया पनि नयाँ आर्थाेस्कोपी प्रविधिबाट र बिमाअन्तर्गत नै हुँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ