२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एन्टिबायोटिकको गलत प्रयोगले प्रभावकारिता घट्दैं

एन्टिबायोटिकको गलत प्रयोगले प्रभावकारिता घट्दैं


विराटनगर—एन्टिबायोटिकको गलत प्रयोगका कारण उपलब्ध एन्टिबायोटिकको प्रभावकारिता घट्दै गएको विज्ञहरूले बताएका छन् । आइतबार विराटनगरमा स्वास्थ्य मन्त्रालयको आयोजना र युएसएआईडीको सहयोगमा संवाददाताहरूसँग भएको एन्टिमाइक्रोबियल रेसिस्टेन्स ‘एएमआर’ सम्बन्धी कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तो बताएका हुन् ।

उनीहरुले ब्याक्टेरिया र संक्रमणको उपचारका लागि बनाइएका औषधिलाई पराजित गर्दै जीवाणुहरूले बलियो प्रतिरोधी क्षमता विकास गर्ने क्रम बढेसँगै एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् एन्टिबायोटिक प्रभावहीन बन्दै गएको उनीहरुको बताएका छन् ।

हालसम्म विश्वभर एक सय ३७ वटा एन्टिबायोटिक औषधि संक्रमणको उपचारमा प्रयोग भइरहेका छन् । झन्डै ६० देखि ७० प्रतिशत औषधिमा एएमआर अर्थात् एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्स देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । बढ्दो एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्सका कारण उपलब्ध एन्टिबायोटिकले उपचारमा मल्टी ड्रग थेरापी प्रयोग हुन थालेको छ ।

एन्टिबायोटिकको गलत प्रयोगका कारण नेपालजस्ता विकाशोन्मुख देशहरूमा बढी जोखिम निम्त्याइरहेको चिकित्सकहरू बताउँछन् । संक्रमणविद् डा. सन्तोष दुलालका अनुसार अनावश्यक औषधि प्रयोग हुँदा रेसिस्टेन्सको जोखिम बढेको बताए । ‘विभिन्न अध्ययन हेर्दा नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक अर्थात् स्वास्थ्य समस्या नभएकामा प्रयोग भइरहेको छ । जस्तै, सामान्य रुघाखोकी लाग्दा एन्टिबायोटिक आवश्यक हुँदैन् । तर स्वास्थ्य परीक्षणविना अधिकतम औषधि प्रयोग गरिन्छ,’ उनले भने, ‘साथै, औषधिको पूरा डोजसमेत नलिँदा यसले ब्याक्टेरियालाई थप बलियो बनाउन मजबुत गर्छ र एन्टिबायोटिक प्रभावहीन बन्न पुग्छ ।’

विभिन्न अध्ययन हेर्दा नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक देखिएको उनले बताए । स्वास्थ्य समस्या नभएकामा पनि यसको प्रयोग भइरहेको उनले बताए ।

नेपालमा एन्टिबायोटिकमा रेसिस्टेन्स अत्याधिक देखिएकाले एउटै रोगको उपचारका लागि चार वटासम्म एन्टिबायोटिक प्रयोग हुन थालेको छ । मापदण्डअनुसार क्षयरोगमा मात्रै चार वटा एन्टिबायोटिक प्रयोग गर्न मिल्ने भए पनि चिकित्सकहरूले रोगको प्रकृति हेरेर अन्य संक्रमणमा समेत एउटै समयमा दुई वटासम्म एन्टिबायोटिक प्रयोग गरिरहेका छन् ।

‘प्रेस्क्रिप्सन बिना जथाभावी औषधि सेवन गर्दा वा औषधिको पूर्ण डोज प्रयोगमा नल्याउँदा एन्टिबायोटिकले ब्याक्टेरिया मार्नुको सट्टा ब्याक्टेरियाको प्रतिरोधी क्षमता बढाउँछ । जसले गर्दा प्रयोग हुँदै आएका एन्टिबायोटिकको प्रभाव घट्दै जान्छ,’ उनले भने ।

समयअनुसार स्वरूप परिवर्तन गरिरहेका कारण ब्याक्टेरियाविरुद्धका औषधिहरू उत्पादन चुनौतीपूर्ण बन्दै गएको छ । क्लिनिकल ट्रायलका लागि वर्षौ समय लाग्ने एन्टिबायोटिक औषधि ३५ वर्षयता नयाँ उत्पादन हुन सकेको चिकित्सकको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव डा. सुधा देवकोटाले एएमआरको विषयमा जनचेतना बढाउने, तालिम सञ्चालनमा ल्याउने र केही अस्पतालमा सर्भिलेन्सका लागि विज्ञहरूको समितिले समेत काम गर्दै आएको र त्यही आधारमा देशभर सर्भिलेन्स सेवा विस्तार गरिनुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ