२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा कोरोनाका गम्भीर बिरामी बढेसँगै मृत्युदर पनि बढ्यो

सुदूरपश्चिममा कोरोनाका गम्भीर बिरामी बढेसँगै मृत्युदर पनि बढ्यो


धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका गम्भीर बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । प्रदेशको अस्थायी राजधानी धनगढीमा स्थापना गरिएको कोभिड अस्थायी अस्पताल समेत कोरोना संक्रमित बिरामीले भरिन थालेको छ ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० शैय्याको अस्थायी अस्पतालमा शनिबार दिउँसो सम्म ४९ जना संक्रमित भर्ना भएका छन् । ‘कोभिड अस्थायी अस्पतालको क्षमता ५० शैया थियो । हामी कहाँ अहिले सम्म ४९ जना संक्रमति भर्ना भएका छन्,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

सूचना अधिकारी श्रेष्ठका अनुसार कोभिड अस्पता भर्ना भएका मध्ये ३२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ भने १७ जना गम्भीर संक्रमितको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पताल भर्ना हुनेमा सबैभन्दा धेरै कैलालीका ३८ जना संक्रमित छन् भने कञ्चनपुरका ४, डडेल्धुराका २, अछामका २, दार्चुला, बझाङ र बैतडीका १र१ जना संक्रमित रहेका छन् ।

घट्यो कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ हुनै छोड्यो

संघीय सरकारको केही सताअघिको निर्णयले सुदूरपश्चिममा कोरोनो परीक्षण तथा उपचार गराउने सर्वसाधारणको संख्यामा कमी आएको पाइएको छ । कोरोना उपचारमा शुुल्क लिने भनी सरकारले कार्तिक २ गते सार्वजनिक गरेको निर्णयले कमी आएको पाइएको हो ।

सुदूरपश्चिमको कैलाली, डोटी, डडेल्धुरा, बैतडी, बझाङ र अछामको कमलबजार नगरपालिकामा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको छ । जसको दैनिक ४ हजार ८ सय जनाको परीक्षण गर्न सकिने क्षमता छ ।

साउनदेखि असोज महिनासम्ममा औसतमा दैनिक ६ सयदेखि १ हजार जनाको परीक्षण हुँदै आएको थियो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलको कार्तिक १ गतेदेखि २० गतेसम्मको तथ्यांक अनुसार प्रदेशभर १२ हजार ११३ जनाको परीक्षण गरिएको छ । जुन ६ वटा प्रयोगशालाको कुल क्षमताको करिब ८ प्रतिशत मात्रै हो ।

त्यस्तै, महिनामा १ लाख ४४ हजार जनाको परीक्षण गर्न सम्भव छ । तर अहिले मासिक कुल क्षमताको ८ देखि १४ प्रतिशत र दैनिक ३ देखि ५ प्रतिशत नमूना मात्र परीक्षण भइरहेको छ ।

निर्देशनालयको तथ्यांक अनुसार भदौ महिनामा सबैभन्दा बढी २६ हजार २४३ जनाको नमुना परीक्षण भएको थियो । बैशाखमा सबैभन्दा कम ८ सय ८८ नमूना परीक्षण भएको थियो भने जेठमा ७ हजार ५२४ नमूना, असारमा १७ हजार १९७, साउनमा १७ हजार ९११, असोजमा २१ हजार ८९३ नमूना परीक्षण भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

समग्रमा चैत ११ गतेदेखि कार्तिक १९ गतेसम्म १ लाख ८ हजार ६२९ स्वाब नमूना संकलन गरिएकोमा १ लाख ७ हजार ७६५ नमूना परीक्षण भएको छ । तर सरकारको शुल्क लिने निर्णय आएपछि हाल दैनिक डेढ सयदेखि ५ सय जनाको मात्रै परीक्षण हुन थालेको हो ।

स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ गर्नै छोडे

पछिल्लो समय स्थानीय तहहरुले समेत नमूना संकलनको काम बन्द गरेका छन् । कन्ट्रयाक्ट ट्रेसिङ त झनै गर्नै छोडेका हुन् । प्रदेशमा सबैभन्दा धेरै संक्रमित रहेको धनगढी उपमहानगरपालिकामा परीक्षण घट्यो तर संक्रमणको दर भने बढेको छ ।

धनगढी उपमहानगरपालिकाले कार्तिक २० गतेसम्म ८४७ जनाको कोरोना परीक्षण भएको जनाएको छ । जसमध्ये ४३८ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल संख्याको ५१ दशमलव ७१ प्रतिशत हुन आउँछ ।

धनगढीमा कडा खाले लक्षण भएका संक्रमितको संख्यामा पनि बृद्धि भएको देखिएको छ । उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले सुरुमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा जोड दिएको बताउँदै दशैँ तिहारका कारण सर्वसाधारणले परीक्षण गर्न नचाहदा घटेको दाबी गरे ।

परीक्षणको दायरा बढाउने दाबी

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अब दायरा बृद्धि गर्ने दावी गरिरहेको छ ।मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘परीक्षणको मापदण्ड अनुरुप परीक्षण भइरहेको छ । कम बढी त भैहाल्छ । बीचमा दशैँ र तिहारको कारण परीक्षणमा कमी आएको हो । अब परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउँछौं ।’

धनगढीको कोरोना अस्पताल भरिएपछि प्रशासन, व्यवस्थापन समिति र मन्त्रालय के गर्दैछन् ? सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी स्थापना गरिएको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएका छन् । जनरल वार्ड मात्र होइन् अस्पतालको सघन उपचार कक्ष आइसीयू पनि भरिएको छ भने ३ वटा भेन्टिलेटर मात्र खाली छ ।

१० शैय्याको आइसीयू सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पीक व्यवस्था गर्दै २० शैय्याको बनाएको छ तर अस्पताल भर्ना भएका १७ जना संक्रमितलाई आइसीयूमा राखेपछि अब ३ वटा वैकल्पिक शैय्या मात्र खाली छन् ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएछि अब आउने संक्रमितलाई कसरी उपचार सेवा दिने भन्ने चुनौती अस्पताल सामू उभिएको छ । ‘अहिलेकै अवस्थामा थप जटिल खालका संक्रमित आएमा भर्ना गर्न सकिने स्थिती छैन् ।’ अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ भन्छन्, ‘अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

आवश्यक परेमा सेती प्रादेशिक अस्पतालकै पूरानो भवनमै भएपनि व्यवस्थापन गर्ने तयारी छ ।’अस्पतालमा सिमित जनशक्ति र आईसीयु तथा भेन्टिलेटर हुँदा गम्भीर संक्रमितले उपचार नपाउने स्थिती आएको छ । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले उपलब्ध पूर्वाधार र जनशक्तिले भ्याए सम्म संक्रमितलाई सेवा दिइरहेको बताउँदै थप शैया र उपकरण व्यवस्थापन गर्ने विषयमा माथिल्लो निकायसँग छलफल गर्ने जनाए ।

‘हामी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नियमित छलफलमा छौँ । अब कसरी अगाडी बढ्ने भन्ने विषयमा परामर्श भइरहेको छ ।’ जोशीले भने ।

दशैँका बेला हुने जमघटले संक्रमणको दर बढाउने चिकित्सकहरुले पूर्व आकलन अनुसार नै पछिल्लो समय कैलाली सहितका जिल्लाहरुमा संक्रमण बृद्धि भएको छ भने कडा लक्षण सहितका संक्रमितको संख्यामा समेत बृद्धि भइरहेको चिकित्सकले बताएका छन् ।

पछिल्लो समय स्वास्थ्य असावधानी बढेपछि गम्भीर अवस्था भएपछि मात्रै अस्पताल जाने गर्दा सहयोगी उपचार दिन समेत समस्या भइरहेको छ । प्रदेश सरकार लगायतका निकायले भने अस्पतालमा जनशक्ति थप्ने र उपकरण विस्तारमा भने खासै चासो नदिएको आरोप लागेको छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती र महाकाली अस्पतालमा गम्भीर संक्रमितको उपचारका लागि सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर सेवाको व्यवस्था रहेको बताउँदै टीकापुर अस्पतालमा पनि उपकरण पठाइसकेको बताए ।

‘९ वटै जिल्ला अस्पतालमा समेत आईसीयू र भेन्टिलेटर सेवा व्यवस्थापन गर्न पूर्वाधारको व्यवस्थापन भइरहेको छ । शैय्याको  थप गर्न खरिद प्रक्रिया पनि अगाडी बढाइसकेका छौँ,’ प्रवक्ता कार्कीले भने, धनगढीको कोभिड अस्थायी अस्पतालमा तत्काल शैया खाली नभए पूरानो भवनमै भएपनि व्यवस्थाप गछौँ । आवश्यक परे अस्थायी बेडहरु राखेर भएपनि संक्रमितको उपचार गर्ने हाम्रो तयारी छ ।’

संक्रमण तिव्र र गम्भीर संक्रमितको संख्यामा समेत बृद्धि भइरहेका बेला नीजि अस्पतालसँग समेत समन्वय गरी उपचारको व्यवस्था मिलाउनुपर्ने सुझाव दिईएको छ । तर सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले शुल्क सम्बन्धिको मुद्दाको अन्तिम निर्णय नभएकाले अन्यौलता सिर्जना भएकाले उक्त विषयको टुङ्गो लागेपछि मात्र छलफल थालिने दावी गरे ।

सुदूरपश्चिममा धनगढीको कोभिड अस्थायी अस्पताल सहित विभिन्न १८ अस्पतालमा ३ सय १० आइसोलेसन वेड छन् । तीमध्ये अहिलेसम्म ८४ जना अस्पताल भर्ना भएका छन् ।

अन्यत्रका अस्पतालमा तत्काल आईसीयू र भेन्टिलेटर सेवाको उपलब्धता नहुँदा उपचारका लागि सेती प्रादेशिक अस्पतालमै पठाउने गरिएको छ । तर सेतीमा समेत शैया भरिएपछि उपचारमा समस्या हुने देखिएको छ ।

मृत्युदर बढ्यो

शुक्रबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भयो । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत वडा अध्यक्ष शाहको कोरोनाका कारण मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेका शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्र अस्पताल आउँदा बचाउन नसकिएको चिकित्सकहरुको भनाइ छ ।
त्यस्तै, कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । टिकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार राति मृत्यु भएको हो ।

उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होम आइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । जोशीका अनुसार टीकापुरका पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो । यस्तै, बर्दगोरियाकी महिलामा १८ गते संक्रमण देखिएको थियो ।

यी २ प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय लक्षण देखिएका भन्दा पनि अवस्था गम्भीर भएपछि मात्र अस्पताल ल्याउने परिपाटीले दुर्घटना निम्त्याउदै आएको छ । सरकारले नै गम्भीर अवस्था नभएसम्म अस्पताल नआउन निर्देशन दिएपछि कोरोनालाई सामान्य रुपमा लिँदा संक्रमणबाट मृत्यु हुने क्रम बढेको हो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार हालसम्म सुदूरपश्चिममा कोरोनाको कारण २५ जनाको मृत्यु भएको छ । पछिल्लो समय त मौसमी रुघाखोकी र कोरोनाका लक्षण मिल्दाजुल्दा हुने भएकाले धेरैले संक्रमण भएको÷नभएको पहिचान गर्न समेत सकिरहेका छैनन् । तर, संक्रमण हुन नदिन स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न र कुनै खालको शंका लागेमा चिकित्सकको सल्लाह लिन आग्रह गरिएको छ ।

‘कोरोना नै हो भन्ने त लक्षण हेरेर नै हो,’ सेती प्रादेशिक अस्पतालका फिजिसिएन डा. शेरबहादुर कमरले भने, ‘शंका कसलाई गर्ने भन्ने अन्योलता देखिएकाले सावधानी अपनाउन आवश्यक छ ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ