२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशहिमाली गाउँपालिकामा एक दिने निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न

हिमाली गाउँपालिकामा एक दिने निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न


बाजुरा—बाजुरा जिल्लाको विकट हिमाली गाउँपालिका एकदिने निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । १२ चैतमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनमा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो।

गाउँपालिकाका उपाध्यक्ष चन्दादेवी बुढाको प्रमुख आतिथ्यता रहेको उक्त शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख गणेश यादवको अध्यक्षता रहेको थियो ।

दुर्गम जिल्ला बाजुराका एक मात्र आयुर्वेद चिकित्सक डा. अच्युतशाली घिमिरेको विशेष पहलमा यति दुर्गम ठाउँ निःशुल्क शिविरका लागि रोजिएको थियो।डा. घिमिरेबाट नै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा हाडजोर्नी,अम्ल पित्त,स्वास कासका बिरामीहरु बढी थिए।

उक्त शिविरमा बाथरोग, पाइल्स,फिसर, पिनास,महिलाहरुको सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, छाला सम्बन्धी, पत्थरी आदि रोगहरुको चेकजाँच गरि निःशुल्क आयुर्वेदिक औषधी वितरण गरिएको थियो । एक दिनको शिविरमा कुल ५७३ जना मानिसले सेवा लिने अवसर प्राप्त गरेका थिए। जसमा ३०७ जना पुरुष र २६६ जना महिला रहेका थिए ।

आयुर्वेद चिकित्सा प्रति विश्वास भएर नै मानिसहरु दुई-तीन दिन हिडेरै भएपनि बिछ्या,रुगिन,खत्याडा (मुगु), धिमे, बाँधु, स्वामीकार्तिक, पाण्डुसेनजस्ता दुर्गम भेगबाट शिविरका लागि भनेर सर्वसाधारण आएका थिए ।

आयुर्वेद चिकित्सक डा. घिमिरेले आफ्नो मन्तव्यका क्रममा बिरामी सञ्चो भएर खुशी हुँदा जत्ति आनन्द कहिल्यै नआउने र त्यही खुशी खोज्न सुख सुविधा छोडेर बाजुरा आएर दिन दुःखीहरुको सेवामा तत्पर भएको कुरा बताए। ‘जनतालाई आयुर्वेद चिकित्सा प्रणालीप्रति विश्वास छ । तर, प्रचार—प्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदतिर आर्कषण घटेको हो,’ डा घिमिरेले भने ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बुढाले छिट्टै गाउँपालिकामा आयुर्वेद औषधालयको स्थापना गर्न पहल गर्ने जानकारी दिइन। धेरै मान्छेले यसबाट लाभ लिन सक्ने कुरा बताउँदैं उनले यसका साइड इफेक्ट नभएकाले सबैले यसको बारेमा प्रचार—प्रसार गरी प्रयोगमा वृद्धि गर्नुपर्ने मा जोड दिइन्। विहान ८ बजेबाट सुरु भएको उक्त शिविर बेलुकाको ७ बजे सकिएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ