२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा डेंगी र स्क्रब टाइफसको संक्रमण बढ्दैं

सुदूरपश्चिम प्रदेशमा डेंगी र स्क्रब टाइफसको संक्रमण बढ्दैं


कैलाली—सुदूरपश्चिममा डेंगी र स्क्रब टाईफसबाट संक्रमित हुनेको संख्या एक सय ५४ पुगेको छ । प्रदेशको बाजुराबाहेकका ८ जिल्लामा गरी एक सय ५४ जनामा डेंगी र स्क्रब टाईफसको संक्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले मंगलबारसम्म स्क्रब टाईफसबाट एक सय चार र डेंगीबाट ५० जना प्रभावित भएको जानकारी दिए ।

उनका अनुसार स्क्रब टाईफसबाट सबैभन्दा बढी डडेल्धुरामा ५० जना र डेंगीबाट कैलालीमा २३ जना संक्रमित भेटिएका छन् । यस्तै स्क्रब टाईफसबाट कैलालीमा २८, बैतडीमा १२, कञ्चनपुरमा ५, डोटीमा चार जना, बझाङमा तीन र दार्चुलामा दुई जना संक्रमित रहेका छन् । यस्तै डेंगीबाट दार्चुला र कञ्चनपुरमा ९/९ जना, डोटी र अछाममा २/२ जना, बैतडी र बझाङ एक–एक जना र डडेल्धुरामा तीन जना संक्रमित भएका छन् । सुदूरपश्चिममा दिन प्रतिदिन डेंगु र स्क्रब टाइफसका विरामीको संख्या बृद्धि हुँदै गएपनि नियन्त्रणमा प्रदेश सरकारले चासो नदिएको आरोप लागेको छ ।

तर, प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले संक्रमण निगयन्त्रणका लागि स्वास्थ्य संस्थालाई निर्देशन दिइएको बताएका छन् ।

कैलालीमा डेंगी संक्रमण बढी

लामखुट्टेको सर्ने डेंगी संक्रमण सबैभन्दा बढी कैलालीमा २३ जनामा देखिएको छ । कन्चनपुरमा दार्चुलामा ९÷९ जना, डडेल्धुरामा चार, अछाम र डोटीमा दुई÷दुई जना तथा बैतडी र बझाङमा एक र एक जनामा डेंगीको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

सुदूरपश्चिममा डेंगी र स्क्रब टाइफसबाट एक र एकजनाको मृत्यु भइसकेको छ । डडेल्धुरा घर भई धनगढी गेटामा बस्ने १५ वर्षीय भरत खातीको स्क्रब टाइफसबाट केहि दिनअघि मृत्यु भएको थियो । धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२ साताअघि डेंगीबाट डोटीका एकजनाको मृत्यु भएको थियो । डेंगुको संक्रमण देखिएका दिपायल–सिलगढी नगरपालिका–६, का छत्र मलासीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार डेंगी देखिएपछि उनलाई उपचारका लागि धनगढी ल्याइएको थियो ।

सुदूरपश्चिममा बढ्दै संक्रमण

डेंगी र स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा बढिरहेको स्वास्थ निर्देशनालयका प्रमुख गुणराज अवस्थीले बताए । विगतमा डेंगी नदेखिएको पहाडी जिल्लामा समेत संक्रमण फैलदै गएको उनले बताए । स्क्रब टाइफस र डेंगीले भयावह रूप लिन थालेपनि नियन्त्रणका लागि प्रभावकारी काम हुन सकेका छैनन् ।

केही स्थानीय तहले डेंगी नियन्त्रणका लागि लामखुट्टेले अण्डा पार्ने स्थान नष्ट गर्न अभियान गरिरहेका छन् ।

‘स्थानीय तहलाई अभियान सञ्चालन गर्न भनेका छौँ,’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए, ‘तर, मन्त्रालय र स्थानीय तहको प्रयासले मात्रै संक्रमण नियन्त्रणमा आउन सक्दैन । सरोकारवाला सबैले सचेतनामूलक कार्यक्रम गर्नुपर्छ ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ