२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशमेडिकल कलेज बन्ने बाटोमा डडेल्धुरा अस्पताल

मेडिकल कलेज बन्ने बाटोमा डडेल्धुरा अस्पताल

कानुन अभावमा गेटा मेडिकल कलेज अझै सञ्चालनमा आएन


धनगढी—सुदूरपश्चिम प्रदेशका सात जिल्लाको रेफरल अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने सुरसार सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने सैद्धान्तिक सहमति प्रदान गरेसँगै सुरसार सुरु भएको हो ।

तत्कालीन टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई समायोजन गरेर उपक्षेत्रीय अस्पताल बनाइएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा विशेषज्ञ सेवासहित संघीय सरकार मातहत रहने गरी डडेल्धुरा अस्पताल स्तरोन्नती गरिएको थियो । एक सय शैय्याको साविकको उपक्षेत्रीय अस्पताललाई आधुनिक सेवा र विशेषज्ञ डाक्टरसहितको पाँच सय शैय्याको अस्पतालमा स्तरोन्नती गरिएको थियो ।

डडेल्धुरा अस्पतालको मातहतमा हाल १ सय ५३ रोपनी जग्गा रहेको छ र साथै अस्पतालमा अहिले १ सय शैय्याको अस्पताल भवन, चिकित्सक तथा नर्सिङ आवास गृह निर्माणाधीन अवस्थामा छन् ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सोमबार बसेको क्याबिनेट बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

दरबन्दीअनुसार कर्मचारी नै छैनन्

डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकको दरबन्दी अझै पदपूर्ति भएको छैन । ११ औं तहको मेडिकल सुपरिटेडेन्ट हुनुपर्नेमा ८ औं तहको डा. चेतराज भट्टलाई निमित्त मे.सु.को जिम्मेवारी दिइएको छ । डा. भट्टभन्दा पहिले पनि ८ औं तहको चिकित्सकलाई नि.मे सु को जिम्मेवारी दिइएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरा अस्पतालमा उपकरण ब्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामा रहेको भएतापनि कर्मचारी अभावका कारणले अस्पतालले उद्देश्यअनुरुप सेवा विस्तार गर्न सकेको छैन ।

डडेल्धुरा अस्पताल प्रशासनले पाँच सय बेड वा सोभन्दा बढी शैय्याको अस्पताल सञ्चालनको लागि ठूलो संख्यामा थप नयाँ दरबन्दी स्वीकृतीका लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरेको थियो । डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने कुरा सकारात्मक रहेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । उनले भने, ‘अस्पताल संचालनको लागि ओएमएन सर्भे गरेर थप कर्मचारी माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिएको छ ।’

सुदूरपश्चिम प्रदेशमा २ मेडिकल कलेज ?

चिकित्सा शिक्षा सुधारको आन्दोलनमा लागेका डा. गोविन्द केसीले सबै प्रदेशमा मेडिकल कलेज स्थापनालगायतका माग राखेर लामो समयदेखि आन्दोलनरत छन् ।

डडेल्धुरा अस्पताललाई मेडिकल बनाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । तर, सुदूरपश्चिम प्रदेशकै कैलालीमा निर्माण अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेज अझै संचालनमा आउन सकेको छैन । गेटा मेडिकल कलेज ८५ प्रतिशत भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ तर कानुन अभावका कारण हालसम्म पनि संचालनमा आउन सकेको छैन ।

वि.सं. २०७५ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गेटा मेडिकल कलेज संचालनको लागि विधेयक प्रतिनिधिसभामा पठाउन मन्त्रिपरिषद्मा पठाएको तर उक्त विधेयक फिर्ता आएको थियो । पुनः शिक्षा मन्त्रालयले विधेयकको मस्यौदा संशोधन गर्दै मन्त्रिपरिषद्मा पठाएको छ । मन्त्रिपरिषद्ले विधेयकलाई प्रतिनिधि सभामा लगेको छैन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ