२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य निर्देशनालयको अल्ट्रासाउण्ड मेसिन खरिदको मुद्धा लेखा समितिमा

स्वास्थ्य निर्देशनालयको अल्ट्रासाउण्ड मेसिन खरिदको मुद्धा लेखा समितिमा


धनगढी-सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले खरिद गरेका ८८ वटा अल्ट्रासाउण्ड मेसिन खरिदको मुद्धा प्रदेशसभाको सार्वजनिक लेखा समितिमा पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले खरिद गरेका ८८ वटा अल्ट्रासाउण्ड मेसिनको खरिद विवादित बनेपछि प्रदेशसभाको सार्वजनिक लेखा समितिले समेत सो खरिद प्रक्रियाका सम्पूर्ण कागज पत्रहरु अध्ययनका लागि मागेको छ ।

प्रदेशसभाको लेखा समितिले सो खरिद प्रक्रियाबारे पत्रपत्रिका, अनलाइन समाचार र रेडियोहरुमा समाचारहरु सार्वजनिक भए लगत्तै आफ्नो कार्यालयमा उजुरी समेत आएपछि छानविनका लागि कागजपत्र मगाएको जानकारी दिएको छ । निर्देशनालयको अल्ट्रासाउण्ड मेसिन खरिद प्रक्रियाका कागजपत्रहरु मगाइएको र आफ्नो कार्यालयलाई कागजपत्रहरु प्राप्त भइसकेको सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बमले बताइन् ।

आफू सबै प्रदेशका लेखा समितिका सभापतिहरुका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी हुन एक हप्ताका लागि धुलिखेल पुगेको र धनगढी फर्किने बित्तिकै समितिको बैठक डाकेर सो विषयमा अध्ययन थालिने उनले जानकारी दिइन् । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ । अख्तियारको छानविनलाई बल पुग्ने गरी आफूहरुले पनि अध्ययन गर्ने सभापति बमले बताए । उनले टेण्डर आह्वान गरिएको सूचनासहित भ्याट बाफतको रकम थप माग्नेसम्मको निर्णय मागिएको बताइन् ।

सभापति बमका अनुसार सार्वजनिक लेखा समितिले टेण्डर आह्वान गर्दा एउटै मात्र आपूर्तिकर्तालाई टेण्डर पार्ने किसिमले आपूर्तिकर्ताका कामदारलाई परामर्शदाता (बायो मेडिकल इन्जिनियर)का रुपमा नियुक्त गरेर आपूर्ति गर्नुपर्ने अल्ट्रासाउण्ड मेसिनको स्पेसिफिकेसन गर्न लगाएको विषयमा पनि अध्ययन गर्न स्पेसिफिकेसन गरिएका कागज पत्रहरु समेत मगाइएका छन् । सोझो रुपमा बुझ्दा नीतिगत रुपमा र सामान खरिदमा आर्थिक चलखेल भएको देखिने हुँदा समितिले गहन अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्ने समेत सभापति बमले बताइन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ