२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकैलालीको गोदावरीका स्थानीय आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

कैलालीको गोदावरीका स्थानीय आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित


धनगढी—सुदूरपश्चिमको राजधानी गोदावरी नगरपालिकाका स्थानीय, आधारभूत स्वास्थ्य सेवाका लागि पनि परनिर्भर भएका छन् । स्वास्थ्यको अधिकार स्थानीय तहमा गएको दुई वर्ष भइसक्दा समेत प्रदेशको राजधानीकै बासिन्दाले आधारभूतस्तरको स्वास्थ्य सेवाका लागि समेत परनिर्भर हुनुपर्ने बाध्यता रहेको हो ।

स्थानीय तहलाई १५ शैय्यासम्मको अस्पताल सञ्चालन गर्ने अधिकारसँगै आधाभूत स्वास्थ्य सेवाको जिम्मेवारी दिइएको छ तर १२ वडा रहेको नगरपालिकामा जम्मा १० स्वास्थ्य संस्था छन् ।

साविककै १५ शैय्याको मालाखेती अस्पताल रहेको छ भने नगरभित्रै चार वटा स्वास्थ्य चौकी वेलादेवीपुर, वडेहा, गेटा र गोदावरीकै ओलानीमा रहेका छन् । पाँच वटा सहरी स्वास्थ्य क्लिनिक जमुनाभाडी, हाटखोली, फुलवस्ती, चाप्सली र खमौरामा छन् । तर वेलादेवीपुर स्वास्थ्यचौकीमा हालसम्म वर्थिङ सेन्टर स्थापना हुन नसकेको नगरपालिकाका स्वास्थ्य संयोजक वीरबहादुर कुँवरले बताए । ‘स्वास्थ्य संस्थाले निःशुल्क प्रदान गर्ने औषधीको पनि कमी छ,’ कुँवरले भने, ‘कर्मचारीको पनि उचित व्यवस्थापन हुन सकेको छैन्, कतै कम त कतै बढी कर्मचारी छन् ।’

प्रदेशकै राजधानी तोकिएको गोदावरीमा १५ शैय्याको सरकारी अस्पताल सञ्चालनमा रहेको छ । विगतमा गाउँ विकास समितिले नै सञ्चालन गरेको मालाखेती अस्पताल अहिले नगरपालिका मातहत आएको छ । तर, पनि अपेक्षाकृत रुपमा सेवा सुधार हुन सकेको छैन् । १५ शैय्याको अस्पताल भएर पनि विगतमा आकस्मिक सेवा दिन नसकेको मालाखेती अस्पतालमा २४ घण्टा आकस्मिक सेवा सञ्चालन गरेको दावी नगरपालिका मेयर हरिसिंह साउँदको छ । तर, प्रसुतीको शल्यक्रिया सेवाकै लागि डाक्टर र अत्याधुनिक उपकरणको आवश्यकता छ ।

तर, नगरपालिकाले त्यसका लागि पहल नगरेको देखिएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्धार समेत रहेको गोदावरीमा दुर्घटनाका घाइते प्राथमिक स्वास्थ्य सेवा लिन अत्तरिया पुग्ने गर्छन् । तर, मालाखेती अस्पतालमा हाडजोर्नी सेवा नहुँदा समस्या हुने गरेको छ । यता अधिकार सम्पन्न नगरपालिकाले भने सेवा सुधार गर्दै विस्तार गर्नतर्फ ध्यान दिएको छैन् । चालु आर्थिक वर्षमा औषधी खरिद गर्नको लागि २० लाख बजेट विनियोजन गरिएको छ । जसमा पाँच लाखको औषधी खरिद गरिसकेको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ