२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकञ्चनपुरको कृष्णपुर नगरपालिका आधारभूतस्तरकै स्वास्थ्य सेवा प्रदान गर्न असफल

कञ्चनपुरको कृष्णपुर नगरपालिका आधारभूतस्तरकै स्वास्थ्य सेवा प्रदान गर्न असफल


महेन्द्रनगर—कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जनप्रतिनिधि आएको ढाइ वर्ष हुँदा पनि आधारभूत स्तरको स्वास्थ्य सेवा समेत पाउन मुस्किल भएको छ । दुई दशकदेखि जनप्रतिनिधिविहिन स्थानीय तहमा सिंहदरबार नै आएको नारा दिइएपनि कृष्णपुरका नगरवासीले आधारभूत स्वास्थ्य सेवा पाउन नसकेका हुन् ।

स्वास्थ्यतर्फको धेरै अधिकार स्थानीय तहलाई दिइएको छ तर सेवा प्रवाहमा कुनै फरक नदेखिएको स्थानीय लेखराज जोशीले बताए । ‘सामान्य उपचारको लागि पनि महेन्द्रनगरका निजी क्लिनिक तथा महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पताल धाउनुपर्ने बाध्यता छ,’ जोशीले भने, ‘गाउँमै आएको सिंहदरबारले स्थानीयका सबै समस्या समाधान गर्ने दावी गरेपनि समान्य स्वास्थ्य सेवा लिन अन्यत्र भौतारिनुपर्ने बाध्यता हट्न सकेको छैन् ।’

९ वटा वडा रहेको कृष्णपुरमा ६ वटा मात्रै स्वास्थ्य संस्था रहेका छन् । त्यसमा पनि अधिकांश सेवा सुचारु हुन सकेको छैन । विगत लामो समयदेखि घर नजिकै स्वास्थ्य सेवा पाउनबाट वञ्चित कृष्णपुरका स्थानीयमा जनप्रतिनिधि आएसँगै धेरै विषयमा सहजता तथा सुधार हुने आशा पलाएको थियो ।

तर, स्थानीय तहमा निर्वाचन भएको ढाइ वर्ष हुँदा पनि कृष्णपुरका वासिन्दालाई सिंहदरवार आएको अनुभूति हुन नसकेको हो । स्थानीय तहलाई १५ शैय्यासम्मको अस्पताल संञ्चालनको अनुमतिसँगै आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी दिइएको छ ।

नगरपालिकामा दुई वटा सहरी स्वास्थ्य केन्द्र, दुई वटा स्वास्थ्य चौकी र दुई वटा स्वास्थ्य इकाई रहेको नगरपालिकाका स्वास्थ्य संयोजक नन्दलाल वोहराले बताए । कृष्णपुरमा ६ वटा स्वास्थ्य संस्था भएपनि दुई वटा मात्रै वर्थिङ सेन्टर रहेको छ।

|प्रत्येक वर्ष स्वस्थ्यमा मात्रै लाखौँ बजेट खर्च गर्दै आएको नगरपालिकाले चालु वर्षमा स्वास्थ्य सेवा सुधारका लागि २० लाख बजेट विनियोज गरेको छ । जसमा १० लाख बराबरको औषधी पहिलो चरणमा खरिद गरिएको छ । औषधी खरिदमा लागानी गर्दै आएको नगरपालिकाले सेवा सुधारमा भने लगानी नगरेको हो ।

१५ शैय्याको अस्पताल निर्माण गर्नको लागि नगरपालिका आन्तरिक तयारीमा जुटेको प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टले बताए । ‘तर प्रक्रिया भने अगाडी बढन सकेको छैन्,’ उनले भने ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ