२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य सेवाबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

स्वास्थ्य सेवाबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया


काठमाडौं—सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशको स्वास्थ्य सेवाको अबस्था सम्बन्धी सोमबार धनगढीमा पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । निर्देशनालयले धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी प्रदेशका सबै ९ जिल्लाका सञ्चारकर्मीहरूलाई सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७५/०७६ का स्वास्थ्य सेवा कार्यक्रम र उपलब्धि, चुनौती र समस्या तथा आगामी दिनका कार्य र योजनाबारे जानकारी दिएको हो ।

कार्यक्रममा निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सुदूरपश्चिम सबैभन्दा बढी बालविवाह हुने, सबैभन्दा बढी मातृ तथा शिशु मृत्यु हुने प्रदेशका रुपमा रहेको चर्चा गरे ।

निर्देशक डा. अवस्थीले विगतभन्दा स्वास्थ्य क्षेत्रमा लगानी हुने बजेटको आकार बढे पनि कुल बजेटको अनुपातमा स्वास्थ्य सेवाको क्षेत्रमा राज्यको लगानी प्रतिशत घटेको बताए । उनले भने, ‘विश्वभरी प्रत्येक देशले आफ्नो कुल वार्षिक बजेटको कम्तिमा १० प्रतिशत रकम स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने हुन्छ । तर, नेपालमा पछिल्ला वर्षहरूमा सरकारको कुल बजेटको करिब चार प्रतिशतको हाराहारीमा मात्रै स्वास्थ्य सेवाको क्षेत्रमा लगानी भइरहेको अवस्था छ ।’

उनले राज्य संरचना परिवर्तनसँगै स्वास्थ्य क्षेत्रको रिपोर्टिङ र सेवा प्रवाह गर्ने च्यानल पनि तीन तहमा विभाजन हुँदा स्वास्थ्य सेवाको गुणस्तर पनि खस्केको बताए ।

नेपाल स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम नागरिहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन ल्याएको कार्यक्रम भएपनि बिमित, बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाको सहकार्यमा चल्ने भएकाले बुझाइ फरक पर्दा सेवा प्रवाहमा समस्या हुने गरेको बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले मन्त्रालयले स्वास्य सेवा सुधार गर्ने विभिन्न प्रयत्न गरिरहेको बताए । उनले काम गर्दै जाँदा भएका कमी कमजोरीहरू सच्याउँदै स्वास्थ्य सेवाको स्तर बढाउन मन्त्रालयले विभिन्न नीतिहरूको मस्यौदा बनाइरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य मनमोहन स्वाँर, पूर्वउपभापति उमीदप्रसाद वागचन्द, पूर्व उपसभापति चित्रांग थापा र सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले प्रदेशको स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ