२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकैलालीको कैलारी गाउँपालिका आधारभूतस्तरको स्वास्थ्य सेवा व्यवस्थापन गर्न असफल

कैलालीको कैलारी गाउँपालिका आधारभूतस्तरको स्वास्थ्य सेवा व्यवस्थापन गर्न असफल


काठमाडौं—सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ४५ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भनेको छ । तर, कैलालीको कैलारी गाउँपालिकाले भने स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधी खरिद गर्न नसक्दा सरकारले तोकेअनुसारका औषधी वितरण नभएको पाइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रसहित ६ स्वास्थ्य संस्थामा गाउँपालिकाले औषधीको आपूर्ति गर्न नसकेको हो । गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा ४५ देखि ५० किसिमका र स्वास्थ्य संस्थामा ३० देखि ३५ प्रकारका औषधी आपूर्ति गरिरहेको छ । जसले गर्दा स्वास्थ्य संस्थाहरुले अहिले पनि औषधीको आपूर्तिका लागि जिल्ला जनस्वास्थ्य कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य नभएको जनाएका छन् ।

कैलारी गाउँपालिकाको हसुलिया स्वास्थ्य चौकी प्रमुख कुसुम शर्मा भट्टले अनिवार्य गरिएका सबै औषधी उपलब्ध नभएको बताइन् । उनले गाउँपालिकाले आपूर्ति गरिरहेपनि अपुग भएका औषधी जिल्ला जनस्वास्थ्य कार्यालयबाट पूर्ति गरिरहेको जानकारी दिइन् ।

गाउँपालिकाले नागरिकलाई आधारभूतस्तरको स्वास्थ्य सेवा दिन नसक्नुको अर्को कारणका रुपमा जनशक्ति व्यवस्थापन नहुनुलाई पनि लिइएको छ । पालिकाले भएकै स्वास्थ्य संस्थालाई व्यवस्थित गरी प्रभावकारी सेवा प्रवाह गर्न ध्यान नदिदा समस्या भएको देखिएको छ ।

यसअघि कार्यरत आठौं तहका डाक्टर बैशाखमा गएपछि उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र स्टाफ नर्सको भरमा छ । डाक्टरको सरुवा भएपछि अहिले यसअघि सञ्चालनमा रहेका एक्सरे, भिडियो एक्सरे, इसीजीलगायतका उपकरण बन्द भएर खिया लाग्ने अवस्थामा पुगिसकेका छन् ।

उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख एवं स्टाफ नर्स रुपा बिकले डाक्टरको अभावमा उपकरण थन्काएर राख्नुपरेको बताइन् । उनले गर्भवती महिला र गम्भीर प्रकृतिका बिरामीले पनि एक्सरे र भिडियो एक्सरेका लागि धनगढी धाउनुपर्ने बाध्यता रहेको बताइन् ।

गाउँपालिकाले भने स्वास्थ्य संस्थामा औषधीको आपूर्ती गर्न खरिद प्रक्रिया अगाडी बढाइएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले स्वास्थ्य संस्थाहरुमा कुनै किसिमको समस्या नरहेको दावी गरे । उनले औषधी आपूर्तिका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको जनाए ।

अन्य स्वास्थ्य चौकीहरुमा जनशक्ति व्यवस्थापन भएपनि उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको सेवा सुविधा व्यवस्थापन गर्न नसक्दा समस्या भएपनि चाडै पूर्ति गरिने अध्यक्ष चौधरीको दावी थियो ।

स्थानीय पालिकाहरुलाई १५ शैय्यासम्मका अस्पताल सञ्चालन गर्ने अधिकार भएपनि कैलारी गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीकै व्यवस्थापनमा असफल देखिएको हो ।

गाउँपालिकाको फितलो व्यवस्थापनकै कारण भएकै संरचना एवं उपकरणको सदुपयोग नहुँदा नागरिक समान्य सेवाका लागि पनि धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता कायमै छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ