२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशएम्बुलेन्स चालक संघको प्रश्न, ‘ट्रकलाई एम्बुलेन्स बनाएपछि कसरी ज्यान जोगाउने ?’

एम्बुलेन्स चालक संघको प्रश्न, ‘ट्रकलाई एम्बुलेन्स बनाएपछि कसरी ज्यान जोगाउने ?’


काठमाडौं-संयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिमले प्रदेश सरकारले वितरण गरेका एम्बुलेन्सलाई एम्बुलेन्स नै भन्न नमिल्ले बताएको छ। तरकारी ढुवानीमा आवश्यक मिनीट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरिएको बताउँदै संघले उक्त गाडीलाई एम्बुलेन्स भन्न नमिल्ने दावी गरेको हो।

संघका सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रिय सदस्य लक्ष्मण सिंहले ट्रकलाई एम्बुलेन्स बनाएपछि कसरी ज्यान जोगाउन भन्दै प्रश्न गरे। ‘प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्सको गति निकै कम हुने गरेको छ,’ उनले भने, ‘पहाडमा त चलाउनै सकिने अवस्था छैन्, भोलिका दिनमा अप्रिय घटना भए रु कस्ले जिम्मा लिन्छ।’

कसैको ज्यान जोगाउने क्रममा दुर्घटना भएर अप्रिय घटना भए चालकमाथि दोष आउने चिन्ता रहेको उनले आशंका व्यक्त गरे। उनका अनुसार उक्त गाडीमा ब्रेकले काम नै नगर्ने समस्या छ भने एम्बुलेन्सको पाठपुर्जामा पनि उत्पादन वर्ष फरक–फरक लेखिएको छ।

सिंहले प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्सको गति निकै कम हुने, भनेको ठाउँमा ब्रेक नलाग्नेलगायका समस्या रहेको भन्दै बिरामी बोक्नुपर्ने एम्बुलेन्स आफैं बिरामी भएकोले नचलाउने निर्णय गरेको बताए । कतिपय पाटपूर्जामा भने नयाँ स्टीकर समेत टासिएको फेला परेको छ। एम्बुलेन्सको लक र नटबोल्टमा खिया लागेको छ।

ब्रेक लाग्दैन, इन्धन तेब्बर खान्छ गति सुस्त

१२ वर्षदेखि २००६ उत्पादन वर्ष भएको पूरानो एम्बुलेन्स चलाउँदै आएका डोटी अस्पतालका एम्बुलेन्स चालक रतन धामीले दुई महिना अगाडि मात्रै प्रदेश सरकारले बाडेको नयाँ एम्बुलेन्स चलाउने जिम्मेवारी पाए। पूरानो एम्बुलेन्समा साढे चार घण्टामा डोटीबाट बिरामीलाई धनगढी पुगाउने धामीले नयाँ एम्बुलेन्स पाएपछि अझै छिटो पुगाउन सकिन्छ कि ? भन्ने सोचेका थिए।

तर, टाटा कम्पनीको ४०७/०३१–४ २१२१ मोडेलको उक्त एम्बुलेन्स मिनी ट्रक० मा डोटीबाट विरामीलाई धनगढी पुगाउन साढे ७ घण्टा लाग्न थालेको छ। ‘दुई महिनाको अवधीमा डोटीबाट– धनगढी ८ पटक सम्म विरामी पुगाएको छु। विरामीलाई छिटो पुगाउन पर्ने हुन्छ। तर ठूलो गाडी भएकाले धेरै समय लाग्न थालेको छ,’ उनले भने।

उनका अनुसार एक चक्के मिनी ट्रक हुँदा पहाडमा चिप्लिने समस्या छ भने छिट्टै ब्रेक तात्ने भएकाले ब्रेक नै नलाग्ने समस्या पनि आउने गरेको छ। यस्ले दुर्घटनाको जोखिम पनि बढाएको छ। नयाँ एम्बुलेन्स निकै खर्चिलो भएको गुनासो समेत उनको छ। ‘१४ बर्ष पूरानो एम्बुलेन्स चलाएर डोटीबाट धनगढी पुग्दा ३८ लिटर मात्रै ईन्धन खर्च हुने गरेको थियो,’ उनले भने, ‘अहिले प्रदेश सरकारको नयाँ एम्बुलेन्समा धनगढी पुग्दा ६५ लिटर ईन्धन खर्च हुने गरेको छ।’

उता डडेल्धुराको नवदुर्गा स्वास्थ्य चौकीका एम्बुलेन्स चालक राजेन्द्र कैनीले पनि एम्बुलेन्स चलाउँदा ब्रेकमा समस्या देखिएको बताए। ‘ब्रेक एकै पटक तात्ने र ढिलो गरी लाग्ने समस्या थियो,’ उनले भने, ‘सिपर्दीमा लगेर मर्मत गरेपछि अहिले फेरी चलाईरहेको छु।’

एम्बुलेन्स सम्बन्धीकै एकजना जानकारले भने, ‘ब्रेक नलाग्ने र ब्रेक फेल हुने समस्याका कारण टाटा कम्पनीको ४०७ मोडेल असफल भईसकेको हो। त्यस्तो मोडेलको गाडीलाई एम्बुलेन्स बनाएर पहाडमा पठाउँदा जोखिम बढ्छ। बिरामी बोकेकै एम्बुलेन्स दुर्घटनामा पर्न सक्छ।’ बिरामी बोक्ने एम्बुलेन्स नै सुरक्षित नभएपछि अहिले धेरै चालहरु समेत चिन्तित भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले बाँडेको एम्बुलेन्स सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएको छ। तर, स्थानीय तहहरु भने एम्बुलेन्सको खर्च व्यवस्थापनका लागि चिन्तित हुन थालेका छन्। सुदूरपश्चिममा सबैभन्दा बढी सञ्चालनमा आएका महिन्द्राका एम्बुलेन्सहरु एक लिटर इन्धनमा औसतमा १२ किलोमिटर सम्म गुड्ने गरेका छन्।

तर, प्रदेश सरकारले बाँडेको एम्बुलेन्स एक लिटर इन्धनमा ४ किलोमिटर मात्रै चल्ने गरेको छ। जस्का कारण इन्धन खर्च नै तीन गुणा बढी आउने भएपछि स्थानीय तहहरु अहिलेदेखि नै चिन्तित भएका हुन् । एक नगरपालिकाका मेयरले भने, ‘इन्धनमै तीन गुणा बढी खर्च आउँदैछ। खर्च बढी आएर सुविधा पाए त ढिकै हो तर उक्त एम्बुलेन्समा बिरामीलाई छिटो पुगाउ पनि सकिन्न।’

इन्धन खर्च मात्रै नभएर मर्मत सम्भारमा पनि प्रदेश सरकारले बाडेको एम्बुलेन्स निकै खर्चिलो छ। महिन्द्राको एम्बुलेन्सको टायरभन्दा प्रदेश सरकारले बाडेको टाटा कम्पनीको एम्बुलेन्सको टायर तीन हजार महंगो पर्ने गरेको छ। प्रदेश सरकारले मिनी ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गर्दा प्रति एम्बुलेन्स खरिदमा ३९ लाख बढि खर्च गरेको छ।

 त्यसमा झण्डै १३ लाखको उपकरण समेत जोडिएको दावी प्रदेशको सामाजिक विकास मन्त्रालयको छ। तर महिन्द्राको एसीसहितको एम्बुलेन्स १० लाख ५४ हजारमा धनगढी पुग्छ। समाचार स्रोतले भन्यो, ‘प्रदेश सरकारले एउटा एम्बुलेन्स खरिद गर्दा लगाएको खर्चमा चार वटा एम्बुलेन्स खरिद गर्न सकिने थियो। एम्बुलेन्स खरिदको नाममा राज्यको ढुकटी सक्ने काम भयो।’

यता प्रदेशको सामाजिक विकास मन्त्रालयले भने सन २०१९ नै उत्पादन बर्ष भएका १६ वटा एम्बुलेन्स खरिद गरी वितरण गरेको दावी गरेको छ। मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सञ्चालनमा केही समस्या भयो भन्दै सामान्य गुनासो आएपनि उनीहरुलाई सिपर्दीमा सम्पर्क गर्न भनिएको बताए।

सप्लायर्सको जिममा पाएको  सिप्रदी ट्रेडर्सका सेल्स म्यानेजर देव थपलियाले पनि उत्पादन वर्ष २०१९ नै भएको दावी गरे। पहाडी क्षेत्रमा सञ्चालन गर्न भने केही असहजता हुने सिप्रदीले समेत स्वीकार गरेको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ