२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरा मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु

डडेल्धुरा मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु


धनगढी—सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डडेल्धुरा मेडिकल कलेजले विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको छ । विश्वविद्यालयले चिकित्साशास्त्रतर्फ बीएस्सी एमएलटीको पढाइ सुरु गर्न भर्ना प्रक्रिया अगाडि बढाएको हो ।

यसअघि चिकित्सा शिक्षा आयोगले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीमा विश्वविद्यालयलाई १० सिट तोकेको थियो । आयोगले डडेल्धुरा मेडिकल कलेजका लागि १० जनाको कोटा निर्धारण गरेकोमा ७ जना छात्रवृत्तिमा अध्ययनका लागि छनोट गरेको छ ।

उनीहरुको नाम नै सार्वजनिक गरेर सुदूरपश्चिम विश्वविद्यालयमा भर्ना आव्हानसमेत गरिसकेको छ । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार बाँकी तीन जना भने शुल्क तिरेर अध्ययन गर्न पाउने छन् ।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाएकोमा चिकित्सा शिक्षा आयोगले असोज दोस्रो साता कक्षा सञ्चालनका लागि अनुमति दिएको थियो । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो ।

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । भौतिक संरचना निर्माणका लागि डिपीआरको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ