२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरा मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु

डडेल्धुरा मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु


धनगढी—सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डडेल्धुरा मेडिकल कलेजले विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको छ । विश्वविद्यालयले चिकित्साशास्त्रतर्फ बीएस्सी एमएलटीको पढाइ सुरु गर्न भर्ना प्रक्रिया अगाडि बढाएको हो ।

यसअघि चिकित्सा शिक्षा आयोगले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीमा विश्वविद्यालयलाई १० सिट तोकेको थियो । आयोगले डडेल्धुरा मेडिकल कलेजका लागि १० जनाको कोटा निर्धारण गरेकोमा ७ जना छात्रवृत्तिमा अध्ययनका लागि छनोट गरेको छ ।

उनीहरुको नाम नै सार्वजनिक गरेर सुदूरपश्चिम विश्वविद्यालयमा भर्ना आव्हानसमेत गरिसकेको छ । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार बाँकी तीन जना भने शुल्क तिरेर अध्ययन गर्न पाउने छन् ।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाएकोमा चिकित्सा शिक्षा आयोगले असोज दोस्रो साता कक्षा सञ्चालनका लागि अनुमति दिएको थियो । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो ।

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । भौतिक संरचना निर्माणका लागि डिपीआरको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ