धनगढी —सुदूरपश्चिम सरकारको मातहतमा संचालनमा हुन लागेको अछामको बयलपाटा अस्पतालले २१ जना नर्सिङसहित ८३ जना कर्मचारी माग गरेको छ । २२ असारमा एक सूचना प्रकाशित गर्दै अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मीसहितका कर्मचारी माग गरेको हो ।
अस्पतालले नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स ११ जना र अनमी ९ जनासहित २१ जना नर्सिङ कर्मचारी माग गरेको छ । यसैगरी, ६ जना मेडिकल अधिकृत, १ जना डेन्टल सर्जन, हेल्थ असिस्टेन्ट ८ जना, अहेब ६ जनालगायत गरी ८३ जना कर्मचारी माग गरेको हो ।
अस्थायी दरबन्दीअन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारले ती कर्मचारी माग गरेको हो । बयलपाटा अस्पताल १ भदौंदेखि सुदूरपश्चिम सरकारले प्रादेशिक अस्पतालका रुपमा संचालन गर्ने तयारी गरेको छ ।
यसअघि सुदूरपश्चिम नेपालको पहाडी जिल्लाको स्वास्थ्य सेवाको केन्द्रविन्दुका रुपमा रहेको उक्त अस्पताल न्याय हेल्थले सञ्चालन गरिरहेको थियो ।
