२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब

मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने


धनगढी-सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले क्याथ ल्याब सेवा सुरू गरेको छ । शुक्रबारबाट कैलाली गोदावरी नगरपालिका २ अत्तरीयामा रहेको अत्तरिया हस्पिटल प्रा.लि. ले औपचारिक रुपमा क्याथ ल्याब सेवा सुरु गरेको हो ।

वि.सं. २०७९ सालमा स्थापना भएको अत्तरिया अस्पताल हाल १०० शय्या संचालनमा रहेको छ । सुदूरपश्चिममा मुटु रोग सम्बन्धि बिरामीको उपचारका लागि क्याथ ल्याब नहुँदा काठमाडौं वा भारत रिफर जानुपर्ने बाध्यता छ ।

अस्पतालका प्रबन्धक निर्देशक डिल्लीराज पाठकले सुदुरपश्चिम प्रदेशमा करिब १५ करोडको लागतमा अत्याधुनिक उपकरण भित्र्याएको बताए । औपचारिक उद्घाटन हुनुभन्दा अगाडि २ हप्तामा २७ जना बिरामीको क्याथ ल्याबमा उपचार गरिएको अस्पतालले जनाएको छ ।

क्याथ ल्याब मुटु रोग विशेषज्ञ डा. विप्लव कार्कीको नेतृत्वमा संचालन हुने अस्पतालले जनाएको छ । यसका साथै मुटुरोग विशेषज्ञ डा. कृष्णचन्द्र अधिकारी, डा. चित्रराज शर्माले पनि सेवा दिने अस्पतालले जनाएको छ ।

सुदूरपश्चिममा कुनै पनि सरकारी अस्पतालमा समेत क्याथ ल्याब सेवा सुरु हुन सकेको छैन । अत्तरिया अस्पतालले क्याथ ल्याब सेवा सुरुसँगै मुटुका इमर्जेन्सीका बिरामीहरुलाई जीवनरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ