जब प्रकृतिले आफ्नो लय गुमाउँछ, तब मानव सभ्यता अकस्मात स्तब्ध बन्न पुग्छ । भूकम्पको कम्पन, बाढीको विनाशकारी भेल वा पहिरोको भीषण रूपले भौतिक संरचना मात्र भत्काउँदैनन्, यसले जनस्वास्थ्यको जग समेत हल्लाइदिन्छ ।
विपद्को समयमा खानेपानीको स्रोत दूषित हुने, सरसफाइको स्तर खस्कने र मानिसहरू विस्थापित भई भीडभाडयुक्त शिविरमा बस्नुपर्ने हुन्छ । यस्तो प्रतिकूल वातावरण सूक्ष्म जीवाणुहरू (ब्याक्टेरिया, भाइरस, परजीवी)का लागि सुवर्ण अवसर बनिदिन्छ । संकटको यो घडीमा कुन रोगले कुन कुनाबाट महामारीको रूप लिँदैछ भनी ठम्याउनु र त्यसको प्रतिकार गर्नु जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौती हो ।
यस्तो परिवेशमा हैजा, डेंगु, टाइफाइडजस्ता सरुवा रोगहरूले महामारीको रूप लिन सक्छन् । प्राकृतिक विपद्को समयमा र त्यसको तुरुन्त पश्चात् हुनसक्ने सम्भावित महामारीलाई समयमै रोक्न, सही औषधि उपचार सुरु गर्न र जनस्वास्थ्य रणनीति बनाउन चिकित्सीय तथा जनस्वास्थ्य प्रयोगशाला (Laboratory) को भूमिका अति महत्वपूर्ण हुन्छ । बाढी र पहिरोका बेला देखिन सक्ने सम्भावित प्रमुख महामारीजन्य रोगहरुका कारण, लक्षण तथा प्रयोगशाला निदानका उपायहरु यसप्रकार छन् :
१. पानीजन्य रोगहरू
विपद्का बेला ढल र खानेपानीको स्रोत मिसिँदा पानीजन्य रोगहरू तीव्र रूपमा फैलन्छन्:
हैजा (Cholera):
कारण: भिब्रियो कोलेरी (Vibrio cholerae) ब्याक्टेरिया ।
लक्षण: तीव्र पखाला (चामलको माडजस्तो), बान्ता र शरीरमा पानीको कमी (निर्जलीकरण) ।
प्रयोगशाला निदान: दिसाको नमूना संकलन गरी कल्चर (Stool Culture) वा र्यापिड डाइग्नोस्टिक टेस्ट (RDT) गरिन्छ ।
टाइफाइड (Typhoid Fever):
• कारण: सालमोनेला टाइफी (Salmonella typhi/paratyphi) ब्याक्टेरिया ।
• लक्षण: लामो समयसम्म ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने ।
• प्रयोगशाला निदान: विडाल टेस्ट (Widal Test), ब्लड कल्चर (Blood Culture) र एन्टीजेन परीक्षण ।
हेपाटाइटिस ‘ए’ र ‘ई’ (Hepatitis A & E):
• कारण: दूषित पानी र खानाबाट सर्ने भाइरस ।
• लक्षण: मिर्गौला वा कलेजोमा असर, पिसाब पहेंलो हुने, आँखाहरू पहेँलो हुनु (जन्डिस), वाकवाकी लाग्ने।
• प्रयोगशाला निदान: रगतको माध्यमबाट लिभर फङ्सन टेस्ट (LFT) र विशेष एन्टिबडी परीक्षण (IgM anti-HAV र IgM anti-HEV)।
आउँ र झाडापखाला (Dysentery & Diarrhea):
सिजेला, इ-कोलाई र जियर्डिया जस्ता जीवाणुहरूले सानो र ठूलो आन्द्रामा क्षतविक्षत पारी दिसामा रगत र सिंगानजस्तो पदार्थ बग्ने समस्या निम्त्याउँछन् ।प्रयोगशाला निदानका लागि दिसाको जाच (Stool R/E) गर्नुपर्ने हुन्छ ।
२. लामखुट्टे र अन्य कीराबाट सर्ने भेक्टरजन्य रोगहरू
पानी जम्ने ठाउँ र खुला आकाशमुनि बस्नु पर्दा लामखुट्टेको प्रकोप बढेर विभिन्न रोगहरू लाग्न सक्छन् ।
डेंगु (Dengue):
• कारण: एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरस।
• लक्षण: उच्च ज्वरो, टाउको र आँखा दुख्ने, शरीरमा राता दागहरू।
• प्रयोगशाला निदान: एनएसवान एन्टीजेन (NS1 Antigen) र आइजीजी/आइजीएम (IgG/IgM) एन्टिबडी परीक्षण, साथै सीबीसी (CBC) मा प्लेटलेटको कमी हेर्ने।
लेप्टोस्पाइरोसिस (Leptospirosis):
• कारण: संक्रमित जनावरको पिसाब मिसिएको हिलो वा पानीमा काम गर्दा छालाको घाउमार्फत सर्ने ब्याक्टेरिया ।
• लक्षण: मांसपेशी दुख्ने, ज्वरो आउने, आँखा रातो हुने ।
• प्रयोगशाला निदान: माइक्रोस्कोपिक एग्लुटिनेसन टेस्ट (MAT) र एलिजा (ELISA) परीक्षण ।
मलेरिया (Malaria):
एनोफिलिस लामखुट्टेको माध्यमबाट सर्ने प्लाज्मोडियम परजीवीले रगतका राता रक्तकोषहरू नष्ट गरी काम्ने ज्वरो ल्याउँछ । प्रयोगशालामा रक्त परिक्षण बाट यो रोग पत्ता लाग्छ ।
स्क्रब टाइफस (Scrub Typhus):
झाडी र ओसिलो ठाउँमा पाइने सानो किर्ना (Chigger Mite) को टोकाइबाट सर्ने यो रोगले फोक्सो र मस्तिष्कमा समेत असर पुर्याउँछ। प्रयोगशालामा रक्त परिक्षण बाट यो रोग पत्ता लाग्छ ।
३. सास र सम्पर्कबाट सर्ने सरुवा रोगहरू
श्वासप्रश्वासका संक्रमणहरू (URTI/LRTI):
इन्फ्लुएन्जा, कोभिड-१९ र एडेनोभाइरस जस्ता भाइरसहरू खोक्दा वा हाच्छिउँ गर्दा हावाको माध्यमबाट तीव्र गतिमा फैलन्छन् । प्रयोगशालामा नेजोफरिन्जियल स्वाब (Nasopharyngeal Swab)वा थ्रोअट स्वाब (Throat Swab) को नमुना लिएर आरटी–पीसीआर परीक्षण (RT-PCR Test) वा एन्टिजेन द्रुत परीक्षण (Antigen Rapid Diagnostic Test)को माध्यमबाट यिनीहरुको निदान गरिन्छ ।
दादुरा (Measles):
• भीडभाडयुक्त शिविरमा बालबालिकाहरूमा छिटो सर्ने भाइरसजन्य रोग हो ।
• निदान: रगतमा आइजीएम एन्टिबडी (IgM Antibody) र थ्रोट स्वाब (Throat Swab) बाट पीसीआर (PCR) परीक्षण ।
धनुषटंकार (Tetanus):
• भग्नावशेषमा काम गर्दा फलाम वा काँटीले काट्दा ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ ।
• निदान: यो मुख्यतया क्लिनिकल लक्षणहरूको आधारमा पहिचान गरिन्छ । बिरामीको लक्षणहरू जस्तै मांसपेशी कडा हुनु, मुख खोल्न गाह्रो हुनु (Trismus) र शरीरको कमजोरी वा आकस्मिक ऐंठनका आधारमा डाक्टरले रोग पहिचान गर्छन् ।
छालाको संक्रमण र लुतो (Scabies):
पानीको अभावमा व्यक्तिगत सरसफाइ हुन नपाउँदा लुतो र विभिन्न ब्याक्टेरियल छालाका रोगहरूले शिविरलाई आक्रान्त पार्छन् । लुतो (Scabies) को प्रयोगशाला निदानका लागि छालाको नमुना संकलन गरेर सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) बाट जाँच गरिन्छ ।
प्रयोगशाला निदानमा आउने चुनौतीहरू
• बिजुली र उपकरणको अभाव।
• नमुना (Sample) सुरक्षित रूपमा समयमै प्रयोगशालासम्म पुर्याउन गाह्रो हुनु।
• आवश्यक अभिकर्मक (Reagents) र दक्ष जनशक्ति नपुग हुनु ।
प्राकृतिक विपद् आफैंमा एउटा गम्भीर भौतिक क्षति हो तर त्यसको आडमा निम्तिन सक्ने महामारी मानवीय सभ्यता र जनस्वास्थ्यमाथिकै अझ भयानक प्रहार हो । विपद्को समयमा सलबलाउने रोगकारक सूक्ष्मजीवहरू अदृश्य र मौन हुन्छन् । तिनलाई समयमै पहिचान गर्ने, तिनीहरूको संवेदनशीलता बुझ्ने र महामारीलाई परास्त गर्ने अचूक अस्त्र भनेकै प्रयोगशाला निदान हो ।
त्यसैले, प्राकृतिक विपद्को पूर्वतयारी योजना बुन्दा नै सरुवा रोगहरूको तत्काल पहिचानका लागि मोबाइल ल्याब, सुरक्षित निदान किट र दक्ष जनशक्तिलाई तयारी अवस्थामा राख्नु अति आवश्यक देखिन्छ । समयमै रोगको सही निदान भएमा मात्र महामारीलाई नियन्त्रणमा राख्न सहज हुन्छ । अन्ततः चिकित्साकर्मी,प्रयोगशालाकर्मी , जनस्वास्थ्यविद्, इन्जिनियर , नीति निर्माताहरू र नागरिक समाजको एकीकृत तथा समन्वयात्मक एवं सामुहिक प्रयासबाट मात्र हामी विपदले निम्त्याउन सक्ने सम्भावित माहामारीजन्य रोगहरुलाई समयमा नै नियन्त्रण गर्न सक्छौं ।
(ओझा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, सुदूरपश्चिम प्रदेशमा ल्याब टेक्निसियन निरीक्षक पदमा कार्यरत छन्।)