२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसामुदायिक भवनमा ५ शैय्याको कोभिड अस्पताल, अक्सिजन व्यवस्थापनमा जटिलता

सामुदायिक भवनमा ५ शैय्याको कोभिड अस्पताल, अक्सिजन व्यवस्थापनमा जटिलता


पोखरा-कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिलो चरणको कोरोना कहरबीच सामुदायिक भवन उपयोगविहीन बनेका थिए । गाउँपालिकाको सहयोगमा सामुदायिक भवनलाई मर्मत गरी पानी, बत्तीयुक्त बनाइयो । सामाजिक काममा मात्रै प्रयोग हुने ती भवनहरुलाई नै पालिकाले क्वारेन्टिन बनायो । यसबाट घरमै सुरक्षित बस्न सम्भव नहुने पालिकावासीलाई कोभिड संक्रमणबाट बच्न सहयोग पुग्यो ।

गत वर्ष सामुदायिक भवनलाई क्वारेन्टिन बनाएर पालिकावासीलाई सुरक्षित बनाउन प्रयास गरेको अन्नपूर्णले यसपालि भने दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाको सामुदायिक भवनलाई कोभिड अस्पताल बनाएको छ । कोभिड अस्पतालमा ५ शैय्या छन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले गाउँपालिकामा ११ जना कोरोना सक्रिय संक्रमित भएको बताए । उनका अनुसार १ जनाबाहेक सबैको स्वास्थ्य अवस्था सामान्य छ, होम आइसोलेसनमै छन् ।

गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा बढी संक्रमण भएको उनले बताए । ‘हरेक १० दिनमा पिसिआर जाँच गर्ने गरेका छौं । शुक्रबार मात्रै करिब ३० जनाको पिसिआर जाँच गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

अन्नपूर्ण गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकी र ६ वटा स्वास्थ्य इकाई छन् । आवश्यक औषधी पर्याप्त छन् । लकडाउन सुरु भएसँगै गाउँपालिकाले स्वास्थ्य चौकीको सेवा २४ सै घण्टा दिने निर्णय गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

गाउँपालिकाको घान्द्रुकमा १ एम्बुलेन्स छ । अन्य क्षेत्र बागलुङ पोखरा हाइवेको नजिकमा पर्ने हुनाले स्थानीयले एम्बुलेन्सभन्दा जिपको प्रयोग बढी गर्ने गरेको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए । ‘म आफैं पनि गाडी चलाउन सक्छु । आवश्यक परे म आफैं बिरामी पोखरा पु¥याउँछु,’ उनले भने ।

गाउँपालिका अध्यक्ष कुँवरकाअनुसार १०÷१२ हजार पर्ने अक्सिजन सिलिन्डर ३०/३२ हजार भनेकाले ल्याउन सकिएको छैन । ‘अहिले बनाएको कोभिड अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्थापनमा कठिनाइ छ । बाहिरबाट ल्याउन नसके स्वास्थ्य चौकीका सिलिन्डर उपयोग गरेरै भएपनि कोभिड अस्पतालबाट सेवा दिन्छौं,’ उनले भने । उनका अनुसार स्थानीय स्रोत साधन व्यवस्थापन गरी कोभिड अस्पताल सञ्चालन गरिएको हो । कम्पनीले मनपरी मूल्य तोक्ने, राज्यले त्यसतर्फ चासो नदिने हुँदा जनता मर्कामा पर्ने उनको भनाइ छ ।

महालेखाले बेरुजु देखाउने भएकाले महंगोमा ल्याउन नसकिएको उनको भनाइ छ । ‘मानिसको ज्यान बच्छ भने त्यो ठूलो कुरा त होइन,’ उनी थप्छन्, ‘भोलि गाउँपालिका अध्यक्ष र स्वास्थ्यकाले बिल मिलाएर महँगो बनाएछन्, त्यसैले बेरुजु आयो भन्ने सुन्नुपर्छ कि भन्ने चिन्ता हो । यो राज्य प्रशासन कमजोर भएको हो ।’ कोभिड अस्पतालमा स्टाफ नर्स २ जना चौबिसै घन्टा खटिनेछन् । कोभिड अस्पतालमा खट्ने नर्स गाउँपालिकाकै स्वास्थ्य चौकीमै कार्यरत स्वास्थ्यकर्मी हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ