२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकास्कीमा सवारी जोर–बिजोर चल्ने, बजार ११ देखि ६ बजेसम्म खुल्ने

कास्कीमा सवारी जोर–बिजोर चल्ने, बजार ११ देखि ६ बजेसम्म खुल्ने

बागलुङको बोगादोभान र म्याग्दीको कुहुँ सिल


पोखरा—कास्कीमा असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा कोभिड-१९ संक्रमणदर घट्दै गएपनि जोखिम कम गर्न लकडाउन थप गरिएको जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा भएको बैठकले सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपभोग्य सामग्री र स्टेसनरी पसल साँझ ६ बजेसम्म खुल्ने छन् भने भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि साँझ ६ बजेसम्ममात्रै खुल्नेछन् ।

तर, सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना लगायत भने सञ्चालनमा रोक लगाइएको छ ।

विद्यालय, क्याम्पसमा भौतिक उपस्थिति पठन पाठन तथा परीक्षा सञ्चालन गर्न पनि नपाइने भएको छ ।

कस्तो छ त गण्डकीको पछिल्लो अवस्था

गण्डकीमा पछिल्लो समय कोभिड–१९ संक्रमणदर घटेको देखिएको छ । कास्कीमा सोमबार ९२ जनामा संक्रमण पुष्टि भएको थियो भने आइतबार ६७ जनामा पुष्टि भएको थियो । उच्च संक्रमणदर देखिएको कास्कीमा क्रमसः संक्रमित न्यून हुँदै गएका छन् तर जोखिम भने कम भएको छैन ।

गण्डकीमा सोमबार ४३१ संक्रमित हुँदा ४०८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने ६ जनाको ज्यान गएको छ । जसमध्ये कास्कीका ३ जना छन् । त्यस्तै, आइतबार ३३७ जना संक्रमित हुँदा ३८० जना कोभिड–१९ मुक्त भएका थिए भने ११ जनाको ज्यान गएको थियो । जसमध्ये कास्कीका ८ जना छन् । पछिल्लो १ सातामा गण्डकीमा ४५ जनाको ज्यान गएको छ । मुख्य सहरी क्षेत्रमा कोभिड–१९ परीक्षण तीव्र पारेर संक्रमण न्यून हुँदै गएपनि कास्कीबाहेकका जिल्लामा तुलनात्मक रुपमा कोरोना संक्रमणदर उच्च नै देखिएको छ ।

तनहुँले माग्यो सुझाव

जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा कस्तो बनाउने भन्नेबारे सुझाव मागेको छ । १६ जेठमा सकिन लागेको कस्तो विधिबाट सहजीकरण गर्नुपर्छ भनी सुझाव मागेको हो ।

प्रशासनले भनेको छ, ‘वि.सं. २०७८ साल जेठ १६ गते राति १२ बजेबाट तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी निषेधाज्ञाको अवधि समाप्त हुँदैछ । जिल्लामा रहेको कोभिड–१९ को जोखिमलाई विचार गरी अब कस्तो विधिबाट सहजीकरण गर्नुपर्दछ होला सुझाव पाऊँ । ’

बागलुङको बोगादोभान र म्याग्दीको कुहुँ सिल

बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोगादोभान बजार १७ असारको राति १२ बजेसम्मका लागि सिल गरिएको छ । बोगादोभान बजारमा एकैपटक ४१/४१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सिल गरिएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले जानकारी दिए ।

उनका अनुसार बोगादोभान घना बस्ती भएको क्षेत्र भएकाले कोभिड–१९ संक्रमण तीव्र भएको हो । गाउँपालिकाको केन्द्र रहेकाले आउजाउ बढी हुँदा संक्रमण बढेको उनी बताउँछन् । अहिले ५ स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अन्यत्रबाट स्वास्थ्यकर्मी ल्याएर सेवा दिइरहेको उनले स्पष्ट पारे । अक्सिजन दिनुपर्ने ५ जनालाई पालिकाको आइसोलेसनमा राखेर उपचार गरिएको छ । तमान खोलामा पुल निर्माणाधीन अवस्थामा छ, जसका कारण केन्द्रदेखि ३ किमी तल तमानखोलासम्ममात्रै बाहिरबाट जाने सवारी जानसक्ने अवस्था छ । जटिल अवस्थाका बिरामी बेनी, पोखरालगायत ठाउँमा लैजानुपरे केन्द्रतर्फ नै रहेका सवारीले तमानखोलासम्म पु¥याउनुपर्छ ।

स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा बोगादोभान बजारमा मात्रै १७ संक्रमित फेला परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले जानकारी दिए ।

यस्तै, म्याग्दीको मंगला गाउँपालिका वडानम्बर १ मा पर्ने कुहुँ २३ असारसम्मका लागि सिल गरिएको छ । कोभिड–१९ लक्षणसहित कुहुँ र पूर्णगाउँमा एकै दिन ३९ जनामा संक्रमण पुष्टि भएपछि वडाबाहिर आउजाउमा रोक लगाइएको हो । वडाभित्रकै पनि एक टोलबाट अर्काे टोलमा जान निषेध गरिएको छ ।

वडाध्यक्ष डेकबहादुर राम्जाली र कर्मचारीसहित ३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ३९ जनाको नमुना परीक्षण गर्दा सबैमा कोभिड–१९ पुष्टि भएको थियो । वडाध्यक्ष राम्जालीका अनुसार गाउँ पुग्ने सिधा बाटो बिग्रिएको छ भने घुमाउरो बाटोबाट एम्बुलेन्स चलाउन सकिन्छ । कोभिड–१९ संक्रमितमध्ये १ जनाको अवस्था अलि जटिल भएकाले बाबियाचौर स्वास्थ्य चौकीमा राखेर उपचार भइरहको उनले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ