२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशव्यासको प्रयोशालालाई पिसिआर जाँच अनुमति, तिहारसम्म निःशुल्क परीक्षण हुने

व्यासको प्रयोशालालाई पिसिआर जाँच अनुमति, तिहारसम्म निःशुल्क परीक्षण हुने


पोखरा—तनहुँको व्यास नगरपालिकाले वडा नं. १० दुम्सीबजारमा स्थापना गरेको ल्याबले पिसिआर जाँच अनुमति प्राप्त गरेको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त भएको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले बताए ।

करिब डेढ करोड लागतमा स्थापित ल्याबका लागि प्रदेश सरकारबाट ५० लाख सहयोग प्राप्त भएको मेयर अर्यालले जानकारी दिए । तनहुँ समाज हङकङ र तनहुँ समाज अस्ट्रेलिया, हेफरलगायतबाट १० लाख सहयोग प्राप्त भएको छ । जनप्रतिनिधि, कर्मचारीहरुबाट १३ लाख हाराहारीमा संकलन भएको छ ।

संघ सरकारले दिने भनेको २५ लाख रुपैयाँ भने प्राप्त भइनसकेको उनले बताए । नपुग रकम नगरपालिकाको कोषबाट खर्च गरिएको उनले स्पष्ट पारे ।

ल्याबमा दशैं तिहारसम्म निशुल्क पिसिआर जाँच हुनेछ । तर, सञ्चालन खर्चमा समस्या भए सरकारले तोकेको न्युनतम शुल्क लिनुपर्ने बाध्यता पनि हुन सक्ने मेयर न्यौपालेले बताए । शुल्क लिने वा नलिनेबारे छलफलकै चरणमा रहेको उनको भनाइ छ ।

व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले ल्याबमा ५ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगीको व्यवस्था गरिएको जानकारी दिए । उनकाअनुसार १ पटकमा ९६ स्वाबको परीक्षण गर्न सकिने अवस्था छ । स्वाब परीक्षण गरी रिपोर्ट दिन २ देखि साढे २ घन्टा लाग्ने उनले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त निर्देशक सपना सुवेदीले स्थानीय तहअन्तर्गत कोभिडसम्बन्धी जाँच (पिसिआर) मात्र गर्न अनुमति दिइएको बताइन् । उनका अनुसार पछि थप व्यवस्थापन भए सञ्चालन हुन सक्ने तर तत्कालका लागि पिसिआर जाँच गर्नमात्र अनुमति प्रदान गरिएको हो । व्यासको प्रयोगशालाको सञ्चालन र व्यवस्थापन नगरपालिकाले गर्नेछ भने गुणस्तर नियन्त्रण भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ ।

गण्डकीमा १ निजी ल्याबले पिसिआर जाँच अनुमति पाएको छ । संघ मातहतको पोखरा स्वास्थ्य प्रतिष्ठानमा पिसिआर जाँच हुन्छ । निर्देशक सुवेदीका अनुसार प्रदेशअन्तर्गत ४ वटा ल्याबमा पिसिआर जाँच हुने गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ