२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसंक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता

संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता

गण्डकीमा डायलासिस गर्नुपर्नेले प्रतीक्षा गर्नुपर्ने अवस्था छैन : स्वास्थ्य सचिव


पोखरा—गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । आइतबार स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय गण्डकी र संक्रामक तथा सरुवा रोग अस्पतालबीच सम्झौता भएको अस्पतालका निर्देशक डा. विकास गौचनले बताए ।

संक्रामक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता भएपनि प्रथम विन्दु तोकेर स्वास्थ्य बीमा गरेका बिरामी नभएका कारण सेवाका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ । निर्देशक डा. गौचनका अनुसार रेकर्डिङ र रिपोर्टिङका लागि तालिम सञ्चालन गर्नुपर्ने हुन्छ । मेडिकल रेकर्डिङमा खास समस्या नरहे पनि रिपोर्टिङमा केही समय लाग्ने उनको भनाइ छ ।

अस्पतालमा अहिले दैनिक औसतमा ६० हाराहारीमा बिरामी आउने गरेको डा. गौचनले जानकारी दिए । अस्पताललाई प्रदेशको डायलाइसिसको केन्द्र बनाएपछि बिरामी आउने क्रम बढेको हो । हाल अस्पतालमा २४ वटा डायलाइसिस मेसिन भएपनि १७ वटाबाट नियमित डायलाइसिस सेवा दिने गरिएको छ । ७ वटा मेसिन जगेडाका रुपमा राखिएको डा. गौचनले स्पष्ट पारे ।

‘१७ मेसिनबाट १३० देखि १३५ पटक डायलाइसिस सेवा दिने गरिएको छ । धेरैको हप्तामा २ पटक डायलाइसिस गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कोही कसैलाई ३ पटक पनि डायलाइसिस गर्नुपर्ने पनि हुन्छ ।’

सेवा थप गर्दै जाने योजना र तयारी भएपनि भवन निर्माणमा भने ढिलाइ भएको छ । सहरी विकासअन्तर्गत संक्रामक अस्पताल परिसरमा निर्माणाधीन अस्पताल भवन तथा प्रदेश प्रयोगशाला भवन निर्माणमा ढिलाइ भएको छ । निर्देशक डा. गौचनका अनुसार आगामी असारमा म्याद सकिन्छ तर कार्यप्रगति ५० प्रतिशत पनि पुगेको छैन । प्रदेशको रिफरल अस्पताल बनाउने गरी योजना त बनेको छ, भवन निर्माण ढिलाइले कठिनाइ पनि उत्तिकै छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा संक्रामक अस्पतालमा डायलाइसिस सेवा सञ्चालनपछि गण्डकीमा डायलाइसिस गर्न पालो कुर्नुपर्ने बाध्यता अन्त्य भएको बताउँछन् । प्रदेश मातहतको अस्पताल भएकाले अस्पतालका सेवा सुविधालाई चुस्तदुरुस्त बनाउने र सेवा विस्तार गर्ने काममा प्रदेश सरकार लागिरहेको उनको भनाइ थियो ।

‘अहिले डायलाइसिस गर्नुपर्ने प्रतीक्षारत बिरामीको संख्या शून्य छ । विपन्नमा ल्याउँदैछौं अनि आधिकारिक रुपमा डायलाइसिस निःशुल्क हुनेछ,’ उनले भने, ‘पोखराको क्षेत्रीय अस्पताल आउने बिरामीहरु अब त्यता जान्छन् । त्यो क्षेत्रका बिरामी त्यतै जान्छन् । आपूर्ति, जनशक्ति र कार्यक्रमका हिसाबले सबल बनाउनुपर्छ र बनाउँदैछौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ